चट्याङ लागेर दुईको मृत्यु, एक घाइते



रामधन राई, खोटाङ ।

खोटाङको छुट्टाछुट्टै स्थानमा बर्षासँगै परेको चट्याङ लागेर दुई जनको ज्यान गएको छ भने एक घाईंते बनेका छन् ।

बुधबार साँझ परेको भारी बर्षासँगै झरेको चट्याङबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ का ६२ वर्षीय सम्बरबहादुर दाहाल र साकेला गाउँपालिका–२ की ५५ वर्षीया बालकुमारी खत्रीको मृत्यु भएको हो । चट्याङबाट बालकुमारीको पति प्रेमबहादुर खत्री घाइते भएको प्रहरीले जनाएका छन् ।

बर्षा भईरहेको समयमा घरबाट बाहिर निस्कन लाग्दा ढोका नजिकै चट्याङ लागेर बेहोस बनेका बृद्घ दाहाललाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको स्थानीय जनप्रतिनिधि गंगाबहादुर विश्वकर्माले बताउनुभयो । दाहाल बाहिर निस्कनका लागि छाता खोल्दै गर्दा चट्याङ लागेर गम्भिर बनेका थिए । दाहाललाई चट्याङ् लागेपछि उपचार गराउन लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो ।

यस्तै, घर परिवारलाई खाजा पकाउँदै गरेकी खत्रीको भान्छा कोठामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो ।

घाइते प्रेमबहादुरको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जनाइएको छ ।

दुवै जनाको घरैमा परेको चट्याङले अन्य क्षति भने नगरेको स्थानीयले बताएका छन् । चट्याङका दृष्टिले खोटाङ अति जोखिममा रहेको मानिएपनि अहिलेसम्म प्रतिरक्षाका लागि कुनै पहल गरिएको छैन ।

चट्याङबाट जिल्लामा बर्षेनी मानिस तथा पशुचौपायको ज्यान जाने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्