महिला ह्यान्ड बललाई ऐतिहासिक सफलता



काठमाडौं, (नेस)
नेपाली महिला ह्यान्ड बल टोलीले विदेशी भूमिमा हाल सम्मकै ऐतिहासिक सफलता प्राप्त गरेको छ। भारतमा भएको पाँचौं महिला दक्षिण एसियाली ह्यान्ड बल प्रतियोगितामा नेपालले दोस्रो स्थान हात पारेको हो। यो जित अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलोसमेत हो। भारतको लखनउमा २०१८ मार्च ३१ बाट अर्पिल ४ सम्म भएको प्रतियोगितामा नेपालले बंगलादेश, भुटान र अफगानिस्तानलाई पराजित गर्यो भने फाइनलमा भारतसंग हार बेहोरेको थियो।

राउन्ड रोबिनका आधारमा खेलाइएको प्रतियोगितामा नेपालले बंगालादेशलाई २६–१७, अफगानिस्तानलाई २३–४ र भुटानलाई २८–४ गोल अन्तरले पराजित गरेको थियो। तर फाइनलमा भने नेपाल भारतसंग २४–५ गोल अन्तरले पराजित हुँदै दोस्रो स्थानमा चित्त बुझाएको थियो। नेपालका तर्फबाट उमा राई (टिम कप्तान), बन्दना राई, जिना राई, निशा राई, कबिता राई, शान्ति कला राई, देव कुमारी बास्कोटा, संगीता चौधरी, दुर्गा बोहोरा, पार्वती चौधरी, कृष्णा चौधरी, कल्पना ओली, उमा राई, आइत लोमु शेर्पा र मञ्जु रावत रहेका थिए भने प्रशिक्षकमा अरूणलाल कर्ण र रमेश सापकोटा थिए।

यो जितले नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुदमा टिम गेममा पदकको सम्भावनालाई बलियो बनाएको नेपाल ह्यान्ड बल संघका सचिव केशब पाठकले बताएका छन्। नेपाली टोली बुधबार स्वदेश फर्कने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्