गाउँपालिकाको भवन बनाउन चन्दा संकलन



नेपाल समाचारपत्र, पर्वत ।

पर्वतको मोदी गाउँपालिकाको भवन निर्माणका लागि स्थानीयले ७० लाख रुपैयाँ मूल्य बराबरको जग्गा निःशुल्न उपलब्ध गराएका छन्।

देउपुरको कँडेनबाट पातिचौरमा सरेको केन्द्रका भवन निर्माण गर्न वडा नम्बर २ का बासिन्दाले रकम उठाएर जग्गा खरिद गरेका हुन्।

जग्गा खरिदका लागि १०० परिवारभन्दा बढीले पाँचदेखि १ लाख ७५ हजार रुपैयाँसम्म चन्दा सहयोग गरेका छन्। पातीचौर आसपासमा सार्वजानिक जग्गा र अन्य कुनै कार्यालयको भवन नभएकाले जग्गा खरिद नै गर्नु परेको हो।

अहिले गाउँपालिकाको भवन भाडाको घरमा राखिएको छ। जग्गा खरिदसँगै घडेरी सम्याउने काम भइरहेको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद शर्माले जानकारी दिए।

‘भवन बनाउन जग्गा सम्याउन थालिएको छ,’ शर्माले भने, ‘जग्गा पाएपछि भवन निर्माण गर्ने योजना पूरा हुँदैछ।’ अध्यक्ष शर्माका अनुसार चालु आर्थिक वर्षमै भवन निर्माणका लागि भूकम्प पुनर्निर्माण प्राधिकरणबाट १० करोड रुपैयाँ विनियोजन भएको छ। अहिले सोही रकमबाट काम सुरु भएको हो।

प्रतिक्रिया दिनुहोस्