दक्षिण अफ्रिकाले ४८ वर्ष कुर्नुपर्यो



लन्डन, (एजेन्सी)
दक्षिण अफ्रिकी क्रिकेट टोलीले अस्ट्रेलियाविरुद्ध आफ्नै घरेलु मैदानमा टेस्ट सिरिज जित्न करिब ४८ वर्ष कुर्नुपर्यो। सन् १९७० मा जितेयता दक्षिण अफ्रिकाले कुनै पनि टेस्ट सिरिजमा अस्ट्रेलियालाई आफ्नै मैदानमा हराउन सकेको थिएन। मंगलबार चौथो टेस्टमा अस्ट्रेलियामाथि ४ सय ९२ रनको ठूलो अन्तरले जितेपछि दक्षिण अफ्रिकाले चार टेस्टको सिरिज ३–१ ले हात पारेको थियो।

अस्ट्रेलियाका नियमित कप्तान स्टिभ स्मिथ, उपकप्तान डेबिड वार्नर र क्यामरोन बेनक्रफ्टलाई बल बिगारेको आरोपमा निलम्वन गरिएको थियो। उनीहरूविना उत्रेको भ्रमणकारी टोली पाँचौं दिन १ सय १९ रनमै समेटिएको थियो। अस्ट्रेलियालाई सस्तैमा रोक्न दक्षिण अफ्रिकाका बलर भर्नोन फिलान्डरले करियरकै उत्कृष्ट बलिङ गरे। उनले २१ रन दिएर ६ विकेट लिएका थिए।

दक्षिण अफ्रिकाले एडन मार्करामको १ सय ५२ रनको सहयोगमा पहिलो इनिङमा ४ सय ८८ रन जोडेको थियो। यसको जवाफमा अस्ट्रेलियाले २ सय २१ रन मात्रै जोड्न सकियो। दोस्रो इनिङमा घरेलु टोलीले ६ विकेटको क्षतिमा ३ सय ४४ रन जोडेर इनिङ सकिएको घोषणा गरिएको थियो। जसमा फाफ डु प्लेसिसले १ सय २० रनको योगदान दिए। दक्षिण अफ्रिकाले भ्रमणकारी टोलीलाई ६ सय १२ रनको ठूलो लक्ष्य दिएको थियो।

प्रतिक्रिया दिनुहोस्