व्यवसायिक कृषकलाई ‘कृषि अनुदान’



हिक्मत नेपाली, दैलेख ।

दैलेखको गुराँस गाउँपालिकाले कृषि तथा फलफुल व्यवसाय संचालनको लागि एक व्यवसायिक किसान बराबर ५० हजार रकम अनुदान स्वरुप प्रदान गर्ने भएको छ । गाउँपालिकाले अनुदान दिनेगरी योजना बनाएर नितिगत ढङ्गबाट अगाडी बढेको हो । अनुदानमा सहभागि किसानको लागि व्यवसायिक कृषि तथा फलफुल फर्म गाउँपालिकाले निर्धारण गरेको मापदण्ड बमोजिम हुनुपर्ने गाउँपालिकाको कार्यविधिमा उल्लेख छ ।

व्यवसाय संचालनको लागि प्रदान गरिएको व्यवसायीक अनुदान एक व्यवसायिक फर्मको लागि ५ बर्षसम्म एकपटक मात्र प्रदान गरिनेछ । तर व्यवसायीले आफ्नो व्यवसाय बढाई कम्तिमा सरकारी मापदण्डको ज्यालादर रेटमा कर्मचारी थप गरी व्यवसाय संचालन गरि एकजना व्यक्तीलाई रोजगारीको व्यवस्था गरेको खण्डमा थप एक लाख अनुदानको व्यवस्था गरिने छ ।
अनुदान लिनको लागि गाउँपालिकाले निर्धारण गरेको मामदण्ड अनुसार हुनुपर्ने गाउँपालिकाले जनाएको छ । जसको लागि व्यवसायिलाई प्रदान गरिने अनुदान मापदण्ड अनुसारको फर्म निर्माण वा प्रचलित दर रेटमा बिऊ, विजन, बिरुवा, उपकरण, खरिद गर्ने र प्रविधिक डिजाइन अनुसार घेरबार, सिंचाई, पुर्वाधार निर्माण गर्नुपर्नेछ ।

गाउँपालिका कृषि उपशाखाले छनौट प्रक्रियाका लागि सञ्चार माध्यायमबाट प्रकाशन तथा प्रशारण गरी प्राप्त भएका प्रस्तावना फर्महरुको स्थलगत अध्ययन गरी कृषि उपशाखा प्रमुख र गाउँपालिका अध्यक्ष, उपाध्यक्षको छलफल र निर्णयबाट मापदण्ड पुगेका व्यवसायिक फर्म लाई अनुदान प्रदान गरिने गाउँपालिका अध्यक्ष खेमराज ओलीले जानकारी दिए ।

कृषि, फलफुल, नर्सरी फर्म व्यवसायिक कृषकको चाहाना अनुरुप टनेल निर्माण र घेरबार निर्माण, मेसिनरी औजार, हाते ट्रयाक्टर लगायतका कृषि उपकरणहरुको आवश्यकता देखिएको खण्डमा कुल लगानी मुल्यको ५० प्रतिशत प्राविधिक स्टेमेटको आधारमा कृषकलाई गाउँपालिकाले थप अनुदानको व्यवस्था गर्ने पनि उनले बताए । अध्यक्ष ओलीका अनुसार विगतमा पनि अनुदान लिने तर व्यवसाय संचालन नगर्ने देखिएकाले व्यवसायिलाई गाउँपालिकाले विभिन्न सर्तका आधारमा मात्र अनुदान दिनेगरी निती बनाएको बताए ।

के हुन कृषि अनुदानका सर्त ?

कृषि तथा फलफुल फर्म, नर्सरी गाउँपालिकाको कृषि उपशाखामा दर्ता गरी व्यवसायिक प्रमाणपत्र लिनुपर्नेछ । व्यवसायिक फर्मले व्यवसायिक पान नम्बर लिनुपर्ने, गाउँपालिकाले दिएको डिजाइन स्टेमेट अनुसार पुर्वाधार व्यवस्थापन गर्नुपर्ने, व्यवसायिकले कम्तीमा १० बर्ष व्यवसाय संचालन गर्ने सम्झौता गर्नुपर्ने, गाउँपालिका छोडी अन्यत्र बसाइसराई गर्नुपरे सोही सम्झौतापत्र अनुरुप गाउँपालिकामा खरिदकर्ता व्यवसायिकलाई सम्झौता गराउनुपर्ने सर्त गाउँपालिकाले नितिगत रुपमै अगाडी बढाएको छ ।

त्यसैगरी, फलफुल फर्म व्यवसायिले कम्तीमा ३ सय बिरुवा लगाउनुपर्ने, खेर गएका बिरुवाहरुको सट्टामा तुरुन्तै थप बिरुवा लगाउनुपर्ने, उपलब्ध भएसम्म गाउँपालिकामा संचालित लघु उद्यमी सहकारीमा अनिवार्य शेयर लिनुपर्ने बताइएको छ । व्यवसायिक फर्मले कम्तीमा बार्षिक ३ लाख रुपैयाँ आम्दानीको लक्ष लिनुपर्ने, साथै बार्षिक प्रगती तथा आम्दानी विवरण गाउँपालिकाको कृषि उपशाखामा पेश गर्नुपर्ने सर्त गाउँपालिकाले राखेको छ ।

त्यसैगरी, व्यवसायिक फर्मको नाममा बैंक खाता संचालन गर्नुका साथै कृषि तथा फलफुल विमा अनिवार्य गर्नुपर्ने छ । अध्यक्ष ओलीले दिएको जानकारी अनुसार अनुदान प्राप्तका लागि व्यवसायिक किसानले ५० प्रतिशत गाउँपालिकाको अनुदान २५ प्रतिशत वित्तिय ऋणको र २५ प्रतिशत लक्षको आधारमा व्यवसाय संचालन गर्नुपर्नेछ ।

यस्तै, गाउँपालिकाले निजि क्षेत्रसँगको साझेदारीमा कृषि तथा फलफुल व्यवसाय संचालन गर्न सकिने गरी निति बनाएको छ । यसरी संचालन गरिने व्यवसायको आम्दानी ८० प्रतिशत निजी लगानीकर्ता र २० प्रतिशत गाउँपालिकाको आन्तरिक आम्दानीको रुपमा रहने अध्यक्ष ओलीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्