नफेरिएको सत्ताको चरित्र



नेपाली जनताले न्याय र स्वतन्त्रतापूर्वक आत्मसम्मानका साथ जीवन जिउनका लागि सततः संघर्ष गर्दै आएका छन् । न्याय र समानतासहित सम्मानपूर्वक जीवन जिउने लक्ष्य प्राप्तिका लागि नेपाली जनताले राणाशासन, पञ्चायती व्यवस्था र राजाको प्रत्यक्ष शासनका विरुद्ध भएका हरेक आन्दोलनमा बलिदान गर्दै आएका छन् । हरेक आन्दोलनबाट राज्य चलाउने शासकहरू फेरिए पनि जनताले सत्ताको चरित्र खासै बदलिएको अनुभूत गर्न पाएका छैनन् । हरेक आन्दोलनले राज्यव्यवस्थामा थोरबहुत परिर्वतन आए पनि जनताको जीवनस्तरमा गुणात्मक परिवर्तन भएको आभास जनताले गर्न सकेका छैनन् । दशबर्से लामो सशस्त्र विद्रोह, दोस्रो जनआन्दोलन, त्यसपछिको मधेस र आदिवासी जनजाति, थारुलगायतका आन्दोलनले मुलुकमा लोकतन्त्र, समानुपातिक समावेशी, संघीयता र गणतन्त्र स्थापित भएको छ । तर शासकवर्गको सोच, संस्कार र राज्यसञ्चालनको तौरतरिका हेर्दा जनताले खासै नौलो परिवर्तन नभएको सघन अनुभूति गर्न थालेका छन् ।

हिजो राजाका ठाउँमा जनताका प्रतिनिधिले निर्वाचित गरेका राष्ट्रपति छन् । हिजो राजाको सवारी हुँदा सर्वसाधारण जनताले निकै सास्ती व्यहोर्नुपथ्यो । सवारी हुनु एक–दुई घण्टादेखि सुरक्षाको नाउँमा आवागमन ठप्प पार्ने, एक–दुई पाइलापिच्छे सुरक्षाकर्मी परिचालन गर्ने कार्यले आज राष्ट्रपतिको नाउँमा निरन्तरता पाइरहेको छ । संसद्को पहिलो बैठकमा सम्बोधन गर्न राष्ट्रपति शीतल निवासबाट बानेश्वरसम्म आउँदा जनताले दुई–तीन घण्टा जाम परेर सास्ती व्यहोर्नुपर्यो । जनताद्वारा निर्वाचित व्यक्ति नै जनताका नाउँमा आफूलाई ठूलो देखाउने वा सामन्ती संस्कार देखाउने प्रवृत्ति आजको सबैभन्दा दुर्भाग्यपूर्ण रहेको छ । हिजो राजा र आजका राष्ट्रपतिको ‘सवारी’मा जनताले खासै फरक अनुभूति गर्न सकेनन् । के यसैका लागि गणतन्त्र ल्याइएको हो त ? होइन भने हिजो राजा र आज राष्ट्रपतिको ‘सवारी’मा त्यही तामझाम किन देखियो त ?
यता गैरन्यायिक सडक विस्तारको विरोधमा भएको शान्तिपूर्ण आन्दोलनमा सरकारले लाठी बर्साएको दृश्यले पनि सत्ताको चरित्र नफेरिएको स्पष्ट पारेको छ । विकासको नाउँमा पुरातात्त्विक महत्त्वका सम्पदा, धार्मिक स्थल, कृषियोग्य जमिन र पर्यावरणमा नकारात्मक असर पारेको विरोधमा धर्ना दिन गएका ज्येष्ठ नागरिकमाथि सरकार निर्मम ढंगले प्रस्तुत भई दमन गर्यो । हिजो जनतामाझ नै बसेर आन्दोलन गरेका नेताहरूले राज्य चलाइरहेका छन्, आज तिनै शासक आन्दोलनलार्य दमन गरिरहेका छन् । के नेपालमा संघीयता, गणतन्त्र र लोकतन्त्र आएको यसैका लागि हो त ? जायज माग र शान्तिपूर्ण आन्दोलनमा दमन गर्नु नै सत्ताको चरित्र हो त ?

त्यसै गरी सरकारको बोली र व्यवहारबीचको दूरी क्रमशः धेरै टाढा हुन थालेको छ । चुस्त–दुरुस्त प्रशासन बनाउने, राज्यसञ्चालनमा मितव्ययिता अपनाउनेजस्ता प्रतिबद्धता विपरीतका कार्यहरू देखा परेका छन् । राज्यको व्यवस्थाको आवरण फेरिए पनि शासन गर्ने मानसिकता र तौरतरिका खासै फेरिएको अनुभूत नहुनु अहिलेको सबैभन्दा ठूलो विडम्बनापूर्ण विषय हो । यसलाई राज्य सञ्चालकहरूले संवेदनशीलताका साथ लिन सकेनन् भने यसले ठूलो असन्तोष नजन्माउला भन्न सकिन्छ । त्यसैले सरकारले नफेरिएको आफ्नो सत्ता–चरित्रलाई गम्भीरताका साथ मनन गर्नै पर्छ ।

प्रतिक्रिया दिनुहोस्