फाइनलमा थ्रीस्टार र मनाङ मस्र्याङ्दी



नेपाल समाचारपत्र
बुटवल
तेस्रो मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप प्रतियोगिताको फाइनलमा ए डिभिजन क्लव थ्री स्टार र मनाङ मस्र्याङ्दी युवा क्वब प्रतिस्पर्धा गर्ने भएका छन्।

मदन भण्डारी स्पोर्टस एकेडेमी प्रदेश नंम्बर ५ को आयोजनामा बुटवल १२ रामनगरमा रहेको मानव ज्ञान माविको खेल मैदानमा आइतबार भएको अन्तिम सेमिफाइनल खेलमा आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीलाई १–० ले हराउँदै थ्री स्टारले फाइनलमा मनाङ मस्र्याङ्दीसंगको भेट पक्का गरेको हो।

पहिलो सेमिफाइनलमा घरेलु टिम सुनौलो संगमलाई हराउँदै मनाङ मस्र्याङ्दी फाइनलमा पवेश गरेको थियो। निकै प्रतिस्पर्धात्मक खेलमा आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीले पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा फाइनल पुग्न सकेन। दर्शकको समेत साथ पाएको मदन भण्डारी स्पोर्टस एकेडेमीको ए डिभिजन क्लब थ्री स्टारले कठिन चुनौतीको सामना गर्नुपरेको थियो।

खेलको ३५औं मिनेटमा थ्री स्टारका बुद्ध चेमजोङले गरको १ मात्र गोल निर्णायक बनेको हो। बिजेता टिम थ्री स्टारका विदेशी खेलाडी पिटर म्यान अफ द म्याच घोषित भए। उनले नगद १० हजार पुरस्कार पाए। फाइनल खेल भोलि हुने आयोजकले जनाएको छ। यद्यपि फाइनलमा पुगेको थ्री स्टारले भने एक दिन खालि राख्न भने पनि आयोजकले १९ गतेका लागि सम्पूर्ण तयारी पूरा गरेकाले जनाएको छ। थ्री स्टारले फिफाको नियमअनुसार एक दिन ग्याप नभए नखेल्न बताएको छ।
प्रतियोगिताको विजेताले नगद १५ लाख, उपविजेताले नगद ७ लाख ५० हजार रुपियाँ प्राप्त गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्