काम खोई प्रधानमन्त्रीज्यू ?



प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री भएपछि देश समृद्ध बन्ने र जनताले सुख, सुविधा पाउने नारा निर्वाचनका बेला लाएका थिए। उनी प्रधानमन्त्री भएको आज ४६ दिन भइसकेको छ, धरहराले माथिबाट के काम गर्दै छ सरकारले भनेर चियाइरहेको छ तर पनि कुनै काम भएको नदेख्दा धरहरालाई लाज लागेको छ।

दीगो विकास र प्रगति भाषणमै मात्र सीमित हुन्छ कि भनेर धरहराको चिन्ता अझैसम्म ज्युँदै छ। घोषणापत्रका कुरालाई आधार मानेर जनताले माग्नु पनि व्यर्थैजस्तो भएको छ किनभने नाम नै घोषणापत्र भएपछि घोषणा गर्ने छोडिदिनेजस्तै भएको छ, कार्यान्वयनपत्र भनेर नाम राखेको भए पनि कमसेकम चित्त बुझेन मलाई भनेर माग्ने ठाउँ हुने थियो। नेकपा एमाले र नेकपा माओवादी (केन्द्र) को एकताबाट शुरू भएको २ कम्युनिस्टको सहकार्यले कांग्रेसलाई भने पछारेकै छ। सधैं सत्तामा रमाइरहने र पार्टी कार्यकर्ताको काम नगर्ने र विपक्षीसँग ‘सेटिङ’ मिलाएर दाँयाबायाँ गर्न पल्केका कांग्रेसीलाई भने आफ्नै पार्टीकाले ‘खुच्चिङ’ भन्दै रमाइलो मानिरहेका छन्।

प्रधानमन्त्रीले नयाँ वर्षमा रारामा गएर जनतालाई सम्वोधन गर्ने हल्लीखल्ली छ तर त्योभन्दा पनि बानेश्वर वा रत्नपार्कबाट सम्वोधन गरे धेरैले सुन्थे कि भन्ने लागेको छ। काठमाडौंका जनताले पत्याउन छोडे अहिलेसम्म प्रधानमन्त्री भएर आफ्ना लागि, आफ्ना नातागोताका लागि र अरौटेभरौटेका लागि मात्र काम गरिएको छ भन्ने लागेपछि त विकल्प खोज्नु पनि नराम्रो होइन, ओलीको बोली मात्रै हो कि भन्नु नपरोस्।

प्रतिक्रिया दिनुहोस्