माओवादी केन्द्रको मौनताप्रति आशंका



नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकताको प्रयास अन्तिम चरणमा पुगेको बेला एउटा घटनाले नेकपा माओवादीको नियतमाथि प्रश्नचिन्ह खडा भएको छ । हालै सम्पन्न तीन चरणको निर्वाचनको अनुगमन गरेको युरोपियन युनियनले गतहप्ता जारी गरेको निर्वाचनसम्बन्धी प्रतिवेदनमाथि सरकारले कडा आपत्ति जनाएको छ भने प्रमुख प्रतिपक्षी दलले समेत युरोपियन युनियनको प्रतिवेदनले मुलुकको सार्वभौमसत्तामाथि धावा बोलेको भन्दै आपत्ति जनाएको छ । तर नेकपा माओवादी केन्द्रले भने अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।

माओवादी युद्ध शुरु भएदेखि नै माओवादी युद्धलाई युरोपियन युनियनको प्रत्यक्ष–अप्रत्यक्ष सहियोग रहेको आरोप लाग्ने गरेको थियो । त्यही आरोपलाई पुष्टि हुने गरी मुलुकको सार्वभौमसत्तामाथि धावा बोल्दासमेत कुनै प्रतिक्रिया नआउनु दुःखद पक्ष हो ।

कुनै निहित स्वार्थले प्रेरित इयुको प्रतिवेदनलाई आमनेपालीले घृणा गरिरहेको बेला माओवादी केन्द्रले कुनै औपचारिक प्रतिक्रिया नदिनुले उसको युरोपियन युनियनसँग अवैध साँठगाँठ थियो भन्ने आशंका उत्पन्न गराइदिएको छ । मुलुकमाथि हुने कुनै पनि अवैध गतिविधिको हामी सबैले प्रतिवाद गर्नुपर्दछ । मुलुकको आमूल परिवर्तनको नाममा उग्र राष्ट्रियताको नारा दिएको माओवादीले युरोपियन युनियनले जारी गरेको वक्तव्यमा कुनै प्रतिक्रिया नदिनुले उसको चरित्र उदांगो भएको छ ।

मुलुकमा ‘फुटाउ र शासन गर’ भन्ने नीतिमा लागेका विदेशीहरूको सबै मिलेर प्रतिवाद गर्नुपर्नेमा माओवादी केन्द्र मौन रहनुले अनेक आशंका पैदा गर्नु स्वाभाविक नै हो । एउटा राष्ट्रवादी चरित्र भएको दाबी गर्ने माओवादीले यस विषयमा आफ्ना धारणा सार्वजनिक गर्नै पर्छ । होइन भने उसको चरित्रमाथि आमनेपालीले प्रश्न उठाउनेछन् । माओवादीको बोल्ने र गर्ने व्यवहार फरक रहेको आरोप लामो समयदेखि लाग्दै आएको छ । आफुमाथि लागेको आरोपको खण्डन नगर्ने हो भने उसले इयुको वक्तव्यलाई समर्थन गरेको भन्दा अत्युक्ति नहोला ।

मुलुकको सार्वभौमसत्तामाथि धावा बोल्ने अधिकार कुनै पनि विदेशी निकायलाई छैन । नेपालमाथि इयुले धावा बोलेपछि भारतीय जनता पार्टीका वरिष्ठ नेता भरतसिंह कोसियारीले समेत नेपालको सार्वभौमसत्तामाथि कसैले पनि प्रश्न उठाउन नहुने भनी सार्वजनिक अभिव्यक्ति नै दिए । यसरी सबैतिरबाट खण्डन आउँदा पनि माओवादी केन्द्रले भने विपक्षमा एक शब्द पनि खर्च नगर्नुले उसको नियतमाथि प्रश्नचिन्ह खडा गरिदिएको छ । यसतर्फ सबैको ध्यान जान जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्