ब्रह्माण्ड संरचनामा विद्यावारिधि



बीपी कोइराला मेमोरियल प्लानेटोरियम, अब्जरभेटरी तथा विज्ञान संग्रहालय विकास समितिका सहकार्यकारी निर्देशक डा. सनतकुमार शर्माले नेपाली वैज्ञानिकले ब्रह्माण्ड संरचनाको व्याख्या र मापन गर्न नयाँ समीकरणको विषयमा विद्यावारिधि गर्नुभएको छ। उहाँले अन्तरिक्ष समयको मेट्रिक हेन्सरमा नै आइन्सटाइनको समीकरणको हल गरेर नेपालमै नयाँ विषयमा विद्यावारिधि गर्नुभएको हो।

वैज्ञानिकले ब्रह्माण्ड संरचनाको व्याख्या र मापन गर्न नयाँ समीकरणको पत्ता लगाएर विद्यावारिधि गर्नुभएका उहाँले यी मेट्रिक हेन्सरले अन्तरिक्ष कालको संरचनालाई व्याख्या गर्न सक्दछ भन्नुभयो। भौतिकशास्त्रमा ब्रह्माण्ड संरचनाको व्याख्या र मापन गर्न आइन्सटाइनले प्रतिपादन गरेको यिनै समीकरणलाई प्रयोग गर्ने गरिएको छ। आइन्सटाइनले प्रतिपादन गरेको समीकरण निकै जटिल र कठिन छ। डा. शर्माले न्युमेन र पेनरोजले प्रतिपादन गरेको सिद्धान्तको आधारमा रही नयाँ समीकरण गर्नुभएको छ।

भौतिकशास्त्रका वैज्ञानिक डा. शर्माले आफूले प्रतिपादन गरेको नयाँ समीकरणबाट ब्रह्माण्ड संरचनाको व्याख्या र मापन गर्न निकै सहज हुने दाबी गर्दै भन्नुभयो– ‘यो नेपालीका लागि गर्व गर्ने विषय पनि बनेको छ। आइन्सटाइनका समीकरण निकै गाह्रो छ। मैले पत्ता लगाएको समीकरणबाट ब्रह्माण्डको संरचना व्याख्या र मापन गर्न निकै सजिलो हुन्छ। व्याख्या र मापनमात्र नभई त्यसको हल पनि गर्न सहज हुनेछ।’

उहाँले प्रतिपादन गर्नुभएको समीकरणलाई भौतिकशास्त्रसम्बन्धी अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशन पनि गरिएको र विश्व विख्यात भौतिकशास्त्री स्टेफिन्स हकिन्सका दुई जना शिष्यले समेत आफूले गरेको खोजको निकै तारिफ गरेको बताउनुभयो। ब्रह्माण्डमा ७० प्रतिशतभन्दा बढी अदृश्य पदार्थ मानव आँखाले देख्न सकिँदैन। ब्रह्माण्डका दुवै ध्रुवमा अलग–अलग तापक्रम छ।

ब्रह्माण्डमा करोडौं प्रकाश वर्ष टाढा निकै विशाल रिक्त स्थान (प्वाल) छन्। यी सबैसँग गुरुत्व तरङ्गको सम्बन्ध छ। आइतबार आयोजित पत्रकार सम्मेलनमा डा. शर्माले आफूले पत्ता लगाएको समीकरणबाट तापक्रम, रिक्त प्वाललगायतका बारेमा व्याख्या गर्न पनि मिल्ने दाबी गर्नुभयो। उहाँले ब्रह्माण्डमा अदृश्य पदार्थहरूको उपस्थितिको प्रमाणहरू पनि फेला पार्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्