सर्वनाममा दोस्रो कलायान



सर्वनाम थिएटरले स्थापनाको ३६औं वर्षको अवसर पारेर आफ्नो थिएटरमा कलायनको दोस्रो शृंखला शुरु गरको छ। कलायानको कर्ण शाक्यले शुभारम्भ गरे।

शाक्यले आफूले जीवनमै पहिलोपटक कुनै कार्यक्रमको शुभारम्भ गरेको खुलाउँदै प्रदर्शनीमा राखिएका क्यानभासले जीवन, पीडा, संघर्ष, शान्तिलगायतका कुरा बोलेको चर्चा गरे।

यसअघि २०७३ जेठ ११ गते शुरु भएको कलायानको पहिलो शृंखला गत बिहीबारसम्म चलेको थियो। कार्यक्रममा २२ महिनासम्म सर्वनामको आर्ट ग्यालरीमा आफ्नो पेन्टिङ प्रदर्शनीमा राख्ने रमेश खनाल र नरेन्द्रबहादुर श्रेष्ठलाई आदरपत्र प्रदान गरिएको थियो। कलायानको दोस्रो श्रृंखलामा १० कलाकारका १९ चित्र प्रदर्शनीमा राखिएका छन्। प्रदर्शनीमा कलाकार प्रमिला परियार, रमेश श्रेष्ठ, ज्योति प्रकाश बीके, नरबहादुर बीके, नरेन्द्रबहादुर श्रेष्ठ, रमेश खनाल, कृष्ण मानन्धर, पुनमकुमारी दास, श्यामसुन्दर यादव र दयाराम पाल्पालीका विभिन्न चित्र छन्। यो शृंखला एक महिनासम्म चल्ने कलाकार एवं कला समीक्षक रमेश खनालले जानकारी गराएका छन्।

नेपाली कलाका सर्जक र सिर्जनालाई व्यापकरूपमा लोकप्रिय बनाउन तथा अन्तर्राष्ट्रियस्तरमा समेत फैलाउन कलायान यात्राको थालनी गरिएको सर्वनामका संस्थापक एवं संरक्षक अशेष मल्लले बताए। ‘यो केवल प्रदर्शनी मात्र होइन, सर्जकको संवेदनालाई दर्शकसम्म सञ्चालित गर्ने एउटा जीवन अभियान पनि हो।’ –मल्लले भने।

कार्यक्रममा कवि असिम सागरले सडकको आभाष र चक्र गरी दुई कविता सुनाउँदै इमानदार बन्नुपर्ने, सकारात्क सोच्नुपर्ने र त्यसको परिणाम पनि सकारात्क नै आउने सन्देश प्रस्तुत गरेका थिए। कलायानकी संयोजनकर्ता प्राडा सावित्री कक्षपतिले एउटै घरभित्र कलाका विभिन्न स्वाद चाख्न पाइने बताइन्। नाकट, पेन्टिङ र साहित्यको स्वाद लिने थलोका रूपमा सर्वनामको विकास गरिँदै आएको कक्षपतिले बताइन्।

सर्वनामले ३६औं वार्षिकोत्सवको अवसरमा सोमबारदेखि अन्तर्राष्ट्रिय एकल नाटक महोत्सव शुरु गरेको छ। ४ दिन चल्ने महोत्सवमा नेपाललगायत विश्वका ७ देशका कलाकारले १३ एकल नाटक प्रस्तुत गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्