आमाको उपचारमा हिँडेका छोरा बाटोमै लुटिए



सरोज यादव, विराटनगर
बिरामी आमाको उपचारका लागि सुनसरीबाट रकम लिएर विराटनगर आउँदै गरेका एक युवा विराटनगरमा दिनदहाडै लुटिएका छन्। लुटेराहरूले पीडितको साथबाट मोटरसाइकल र ५० हजार नगद लिएर फरार भएका छन्।
बिरामी भएर कोशी अञ्चल अस्पतालमा भर्ना गरिएकी आमाको उपचारका लागि नगद ५० हजार लिएर विराटनगर आउँदै गरेका सुनसरी देवानगन्ज २ का २४ वर्षीय वीरेन्द्र यादवलाई लुटेराहरूले कुटपिट गर्दै दिनदाहाडै लुटेका हुन्। देवानगन्जबाट आउँदै गरेका यादवलाई लुटेराहरूको समूहले विराटनगर–७ को पिचरा नहरचोकमा कुटपिट गर्दै लुटेका हुन्।

लुटेराहरूले उनी चढेको को३१प ४९९६ नम्बरको मोटरसाइकल, नगद ५० हजार, सिक्री, औंठी र ब्रासलेटसमेत लुटेर लगेका छन्। लुटेराहरूले चक्कु, ढुंगा र हेलमेटले कुटपिट गरेको पीडित यादवको भनाइ छ। कुटपिटको क्रममा यादव बेहोस भएपछि उनीसँग भएका नगद, गरगहना र मोटरसाइकल लिएर लुटेराहरू फरार भएका छन्। आफू काम गर्ने पसलबाट सित्तैमा चस्मा नल्याइदिएको निहुँमा आफूसँग लुटपाट र कुटपिट गरिएको पीडित वीरेन्द्रको भनाइ छ।

लुटपाटमा संलग्नहरू देवानगन्ज र आसपाकै गाउँका बासिन्दा रहेको पीडितले जानकारी दिएका छन्। घटनामा सुनसरी देवानगन्ज–२ का सुरेन्द्र यादव, सोही ठाउँका अनमोल यादव र विवेकानन्द मेहता र देवानगन्ज–३ का रामकृष्ण यादवलगायत संलग्न रहेका पीडितले जानकारी दिएका छन्। लुटपाट र कुटपिटबाट गम्भीर घाइतेपछि पीडितको स्थानीय एम्स हस्पिटलमा आईसीयूमा राखेर उपचार भइरहेको छ। घटनाको विषयमा प्रहरीमा उजुरी दिए पनि घटनामा संलग्न व्यक्तिहरूलाई हालसम्म प्रहरीले पक्राउ गर्न नसकेको पीडितका दाजु विजय यादवले जानकारी दिनुभयो।

यता जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी अरुणकुमार बीसीले पीडित पक्षले जिल्ला प्रहरीमा ठाडो उजुरी दिएको बताउनुभएको छ। उहाँले नाम किटानीका साथ उजुरी आएकाले सम्बन्धित व्यक्तिहरूको खोजी कार्य भइरहेको र छिट्टै पक्राउ गरिने दाबी गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्