ईपीजी बैठक चैत अन्तिममा



काठमाडौं, (नेस)
नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को आठौं बैठक आगामी २९ र ३० गते भारतको दिल्लीका लागि तय भएको छ। भारतीय पक्षले बैठकको मिति तय गर्दै आइतबार नेपाली समूहलाई अवगत गरेको हो। यो बैठक विगतमा विभिन्न चरणमा भएका बैठक र द्विपक्षीय छलफलको समीक्षा समेट्दै प्रतिवेदन लेखन निष्कर्षमा पुग्न केन्द्रित हुनेछ।

‘विगतमा हामीले पटक–पटक बैठक, छलफल र विचार आदान–प्रदान गरेका छौं, अबको बैठक हामीलाई तोकिएको जिम्मेवारीलाई अन्तिम रूप दिन केन्द्रित हुनेछ’ –ईपीजीका नेपाल संयोजक डा. भेषबहादुर थापाले नेपाल समाचारपत्रसँग भन्नुभयो।

गत महिना काठमाडौंमा समूहको सातौं बैठक सम्पन्न भएको थियो। समूहलाई तोकिएको २ वर्षे कार्यअवधि आगामी असार तेस्रो साता सम्पन्न हुने भएकाले डेढ महिनाको अन्तरमा आठौं बैठकको मिति तय गरिएको हो। समूहलाई तोकिएको कार्यअवधिभन्दा अघि नवौं बैठकले प्रतिवेदनलाई अन्तिम टुंगो लगाएर दुवै मुलुकका प्रधानमन्त्रीलाई हस्तान्तरण गरिने संयोजक थापाले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्