शारदा युनिभर्सिटीको छात्रवृत्ति योजना



भारतको ग्रेटर नोयडामा रहेको भारतको प्रसिद्ध शारदा युनिभर्सिटीले नेपाली विद्यार्थीलाई लक्षित गरेर छात्रवृत्ति योजना ल्याउने भएको छ। विश्वविद्यालयले राजधानीमा आयोजना गरेको अभिभावक तथा अल्मुनाइ भेलामा यस्तो बताएको हो। नेपाली विद्यार्थी अन्य मुलुकको विद्यार्थीको तुलनामा मेहेनती, इमानदार र पढाइमा प्रतिबद्ध रहेको उनीहरूको भनाइ छ। भारतका उत्कृष्ट निजी विश्वविद्यालयका रूपमा कहिलिएको शारदामा हालसम्म २ सयभन्दा धेरै नेपाली विद्यार्थी अध्ययन गरेर फर्किसकेका छन्। हाल ५ सय नेपाली विद्यार्थी अध्ययनरत रहेको विश्वविद्यालयले जनाएको छ। विश्वविद्यालयका अध्यक्ष तथा कुलपति पीके गुप्ताले भने– ‘नेपाली विद्यार्थी इमानदार छन्।


पढाइमा पनि प्रतिबद्ध छन्। उनीहरूका लागि विशेष छात्रवृत्ति प्याकेज ल्याएर नेपालसँगको सम्बन्धलाई अझ प्रगाढ बनाउन चाहन्छौं।’ सन् १९९६ मा स्थापना भएको यस विश्वविद्यालयमा हाल १३ वटा विभिन्न स्कुलमार्फत १ सय ८० भन्दा धेरै विषयको पढाइ भइरहेको छ।

विश्वविद्यालयले आफ्नै व्यवस्थापनमा ९ सय बेडको शिक्षण अस्पताल पनि सञ्चालनमा ल्याएको छ। अभिभावक भेलामा प्रतिनिधिसभाका सदस्य तथा सोही विश्वविद्यालयका अभिभावक कृष्ण भक्त पोखरेलले शारदाको पढाइको स्तरप्रति आफू सन्तुष्ट रहेको बताए।

सोही कार्यक्रममा प्रमुख अतिथि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले विश्वविद्यालयलाई नेपाली कला र संस्कृतिको जगेर्नामा पनि सहयोग गर्न अनुरोध गरे। शारदा विश्वविद्यालयमा पढ्न चाहने विद्यार्थीलाई परामर्श दिँदै आएको अल्फाविटा इन्स्टिच्युटका अध्यक्ष द्विराज शर्माले शारदाबाट उत्पादित विद्यार्थी रोजगारीमा पनि सहजै लाग्ने गरेको बताए।

 

प्रतिक्रिया दिनुहोस्