प्रहरीलाई नै स्थानीय डाँका ठानेपछि…..



कृष्णउदास खनाल, वीरगन्ज ।
पर्साको बहुदरमाई नगरपालिका वडा नं ५ पटनीमा भारतमा डकैती गरेर नेपालमा अभियुक्त लुकेर बसेको सूचनाको आधारमा गएको प्रहरीमाथि नै आक्रमण भएको छ र स्थानीयको आक्रमणमा परी ५ जना प्रहरी घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार प्रहरीहरु सञ्जय कुमार जयसवाल, अनिल यादव, राजेश कुमार यादव, नविन पाल र ऋतुराम सोनार घाईते भएका हुन् । उनीहरुको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भएको थियो । उनीहरुको ठेगाना र दर्जा भने गोप्य राखिएको छ ।

पर्साको कालिकामाई गाउँपालिका वडा नं १ को गाँजा मुद्दाको फरार अभियुक्त महुवनमा रहेको सूचना पाएपछि प्रहरी चौकी महुवन र जिल्ला प्रहरी कार्यालय पर्साको टोली त्यहाँ पुगेको थियो । स्थानीयको घेरामा परेको प्रहरीलाई जिल्ला प्रहरी कार्यालय पर्सा र ईलाका प्रहरी कार्यालय पोखरीयाबाट गएको थप प्रहरी टोलीले उनीहरुको उद्धार गरेको थियो ।

फरार अभियुक्त भारतमा डकैति र हत्यामा संलग्न व्यक्ति रहेको दावी प्रहरीले गरेको छ । स्थानीयले प्रहरीलाई आक्रमण गरेपछि अभियुक्त भाग्न सफल भएका छन् ।
पर्साका प्रहरी उपरीक्षक डा. गणेश रेग्मीले फरार अभियुक्त पक्राउ गर्न गएको टोलीमाथि नै आक्रमण भएको बताए ।

प्रहरी टोली माथि नै आक्रमण गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले स्थानीय जिर्योधन महतो, मुन्नीलाल प्रसाद कुशवाहा र सिताराम प्रसाद कुशवालाई नियन्त्रणमा लिएको हो ।

तर स्रोतका अनुसार भारतमा डकैति गरेर नेपालमा लुकेर बसेका भारतको बिहार पूर्वी चम्पारण घर भएका लम्बु यादव भनेर चिनिने प्रभु यादवलाई पक्रन प्रहरी टोली महुवन पुगेको थियो । उनीमाथि भारत सरकारले इनाम समेत राखेको छ । लम्बु भैंसी दुहीरहेको अवस्थामा पुगेको प्रहरी टोलीले ‘भैंसी किन्नु छ’ भनेर हिन्दी भाषामा कुराकानी गरेर उसको पहिचान गरेको थियो ।

त्यसपछि प्रहरीले तँ विरुद्ध मुद्धा छ भनेर उठाएर गाडीमा हालेको थियो । पछि गाउँलेहरुले थाहा पाएपछि प्रतिकार गरेका थिए । सिभिल ड्रेसमा रहेको प्रहरी टोलीले अपराधी समात्न भारतीय नम्बर प्लेटको गाडी चढेर गएका थिए ।

प्रहरीले आईडी कार्ड समेत नदेखाएकोले प्रहरीलाई नै डाँका सम्झेर प्रतिकार गरेको स्थानीय बताउँछन् । उल्टै प्रहरीले ‘तुम लोग क्या करोगे’ भनेर धम्क्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्