संस्कृतिविद् जोशीलाई सवारी र सुरक्षा



टीका बन्धन, काठमाडौं

शताब्दी पुरुष एवम् वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीलाई सवारी र सुरक्षा गार्डको सुविधा प्रदान गरिने भएको छ। ललितपुर महानगरपालिकाले जोशीलाई सवारी, इन्धन र नगर सुरक्षाकर्मीको सुविधा प्रदान गर्ने भएको हो।

जोशीलाई सार्वजनिक कार्यक्रममा ओहोर–दोहोर गर्न सहज होस् भन्ने उद्देश्यका साथ नगरकार्यपालिकाको बैठकले यस्तो सुविधा दिने निर्णय गरेको हो। गत बिहीबारको बैठकले यस्तो निर्णय गरेसँगै सोही दिन जानकारी दिन मेयर चिरिबाबु महर्जनसहितको टोली विहीबार नै जोशी निवास ललितपुर महानगर–१२ बखुम्बहाल पुगेको थियो।

महानगरको निर्णयको प्रशंसा गर्दै जोशीले अब सार्वजनिक कार्यक्रममा सहभागी हुन सहज हुने प्रतिक्रिया दिनुभयो। ‘धेरै ठाउँबाट कार्यक्रममा सहभागी हुन निम्तो आउँछ, कार्यक्रममा आउन जान समस्या हुन्छ, मलाई सुविधा दिएको सुन्दा खुसी लागेको छ।’ –शनिबार साँझ उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो। यो सम्मानलाई उमेर र कामको लगाबलाई मूल्यांकन गरिएको आफूले बुझेको जोशीले बताउनुभयो।

जोशी आगामी वैशाख ३० गते ९९ वर्ष पुग्दै हुनुहुन्छ। जोशीका कृति, उहाँले विभिन्न समयमा पाउनुभएका पुरस्कार र सम्मान सामग्रीलाई छुट्टै संग्रहालय बनाएर सर्वसाधारणले अवलोकन गर्न सक्ने वातावरण बनाउनेबारे पनि पहल अघि बढाइएको ललितपुर महानगर–१९का वडाध्यक्ष विनोद ताम्रकारले जानकारी दिनुभयो। ‘यसबारेमा सम्भवतः अर्को महिना निर्णय हुँदै छ, उहाँका चर्चित कृतिहरू पुनः प्रकाशन गर्नेबारे पनि छलफल भइरहेको छ।’ –उहाँले भन्नुभयो।

जोशीको ९९औं जन्मोत्सव विशेष बनाउन यसअघि विभिन्न संघ⁄संस्थाले विविध कार्यक्रम गर्ने घोषणा गरिसकेका छन्। नई प्रकाशनले उहाँको ९९औं जन्मदिनका अवसरमा विशेष सम्मान गर्दै विभिन्न स्रष्टालाई पुरस्कृत र सम्मान गर्ने भएको छ। नेवारी परम्पराअनुसार जोशीको ९९औं जन्मोत्सवमा चौथो जंको (महादेव रथारोहण) गर्ने तयारीसमेत गरिएको छ। नेवारी चलनअनुसार ७७ वर्षमा पहिलो जंको (भीम रथारोहण), ८२ वर्षमा दोस्रो जंको (सहस चन्द्र रथारोहण), ८८ वर्षमा तेस्रो जंको (देवरथारोहण) र ९९ वर्षमा चौथो महादेव रथारोहण गरिन्छ।

विसं. १९७७ वैशाखमा जन्मनुभएका जोशीलाई यसअघि सरकारले शताब्दी पुरुषका रूपमा सम्मान गरिसकेको छ। काठमाडौं विश्वविद्यालयले उहाँलाई सम्मान गर्दै मानार्थ विद्यावारिधि प्रदान गरिसकेको छ। नेपाली भाषा, कला, संस्कृतिको संरक्षण र सम्वद्र्धन तथा विकासमा निरन्तर क्रियाशील जोशीले २०१३, २०१७ र २०२८ सालमा तीनपटक मदन पुरस्कार प्राप्त गर्नुभएको छ। जोशीका नेपाली र नेपालभाषामा नाटक, कथासंग्रह र काव्य प्रकाशित छन्। उहाँ पद्य्मश्री साधना र अन्य दर्जनौँ पुरस्कारबाट पुरस्कृत हुनुभएको छ।

प्रतिक्रिया दिनुहोस्