कछुवाको गतिमा पुनर्निर्माण



ईश्वरराज ढकाल, काठमाडौं

भूकम्पले ध्वस्त भएका ७ सय ५३ सम्पदामध्ये ९७ वटा सम्पदाको पुनर्निर्माण सम्पन्न भएको छ। पुरातत्त्व विभागले करिब तीन वर्षको अवधिमा ९७ वटा सम्पदाको पुनर्निर्माण सम्पन्न भइसकेको जनाएको छ।

चालू आर्थिक वर्षमा ९१ वटा सम्पदाको पुनर्निर्माण भइसक्ने तथ्यांक सार्वजनिक गरेको छ। विभागले संस्कृति मन्त्रालयलाई पेस गरेको तथ्यांकअनुसार विसं २०७७ सालसम्ममा बहुवर्षीय ठेक्काबाट निर्माणाधीन थप ९६ वटा सम्पदाको पुनर्निर्माण सम्पन्न गर्ने जनाएको छ। विभागले यो आवमा १ सय ८८ वटा सम्पदाको पुनर्निर्माण सम्पन्न गर्ने जनाएको छ।

विभागका महानिर्देशक भेषनारायण दाहालले सरकारले समयमै बजेट उपलब्ध गराएको कारण सम्पदा पुनर्निर्माणले गति लिएको बताउनुभयो। उहाँले उपत्यकालगायत देशका विभिन्न जिल्लामा ध्वस्त भएका सम्पदाको पुनर्निर्माणको काम विभाग, काठमाडौं महानगरपालिका, भक्तपुर नगरपालिका, हनुमानढोका दरबार क्षेत्र विकास समिति, स्वयम्भू महासमिति, बौद्धनाथ विकास समिति, केभिपिटी र इन्भायरोमेन्ट कन्जरभेसन फाउन्डेसनबाट भइरहेको जानकारी दिनुभयो।

विभागले दिएको जानकारीअनुसार हालसम्म स्वयम्भूको अनन्तपुर र प्रतापपुर, बौद्धानाथ, सतुंगलको विष्णुदेवी, हाँडीगाउँको नाट्येश्वर, दोलखाको लापिलाङ, पाटन स्वठस्थित राधाकृष्ण, खोकनाको रुद्रायणी, महालक्ष्मी र महाभैरव, वज्रवाराही चापागाउँ, बुंगमतिको प्रथमपुर महाविहार, लगनखेलको वटुकभैरव मन्दिरको पुनर्निर्माण सम्पन्न भइसकेको छ। त्यस्तै रामेछापको नारायण, हनुमानढोकाको तलेजु, हलचोक आकाश भैरवलगायतका मन्दिरको पुनर्निर्माण सम्पन्न भइसकेको छ।

भक्तपुरको महामञ्जुश्री सत्तल, सूर्यविनायक गणेशको आमाको मन्दिर, गोपीनाथ, तलेजुस्थित द्यमाजु चोकको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ। ललितपुरको मणिमण्डप, सुन्दरीचोकको पूर्वी लङ, कृष्ण मन्दिर, भीमसेन र तलेजु मन्दिरको संरक्षण कार्य चालू आवमा सम्पन्न हुने भएको छ। चाँगुनारायणको बलम्बु पाटी र छिन्नमस्ताको मन्दिर, काठमाडौंको भूकम्पपछि बन्द रहेको हनुमानढोका दरबार संग्रहालयको अस्थायी संरचना, लक्ष्मीनारायण, कागेश्वर सरस्वती, प्रताप मल्लको सालिक र महादेव मन्दिरको पुनर्निर्माण यो आवभित्र सम्पन्न हुने भएको छ।

त्यस्तै उपत्यकाको विश्वसम्पदा क्षेत्रबाहिरको दहचोकस्थित इन्द्रायणी, टोखाको तलेजु, साँखुको शंकरापुर, गोदावरीस्थित धुनिघर, गोरखा, लमजुङ, नुवाकोटका दरबार, हनुमानढोकास्थित गद्दी बैठक, ललितपुरको बुंगमतिस्थित रातो मच्छिन्द्रनाथ, पाल्पाको रानीमहललगायत चार दर्जनभन्दा बढी सम्पदा निर्माणको चरणमा रहेको विभागले जनाएको छ।

विभागका महानिर्देशक दाहालले भारत सरकारबाट २८ तथा जापान सरकारबाट २ वटा सम्पदाको पुनर्निर्माण भइरहेको जानकारी दिनुभयो। विभागले आगामी आवमा बहुवर्षीयबाहेक १ सय २६ सम्पदा पुनर्निर्माण गर्न मन्त्रालयमा प्रस्ताव गर्ने जनाएको छ। त्यस्तै आव २०७७⁄७८ सम्म २ सय ७४ वटा सम्पदाको पुनर्निर्माण गर्न प्रस्ताव गरिएको छ।

प्रतिक्रिया दिनुहोस्