वाग्मती सफाइबाट २७ टन फोहर व्यवस्थापन



काठमाडौं  । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी २७ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २५५ औँ हप्तामा आज कुपण्डोल क्षेत्रको नदी किनारमा सफाइ गरी १० मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सामाजिक संस्थाको संस्थागत सहभागिता रहेको थियो ।

सहकारी दिवसका अवसरमा सफाइमा धेरै सहकारीको पनि सहभागिता थियो । कार्यक्रममा सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले शिक्षित र धनी मानिसको बसोवास भएको स्थानमा बढी फोहर देखिएको आफ्नो अनुभव सुनाए ।

अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत लगायत ७५० भन्दा बढी अभियन्ताको सक्रियता रहेको अधिकार सम्पन्न वाग्मती समितिकी सञ्चालक सदस्य माला खरेलले जानकारी दिए ।

विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएको हो । महाअभियानपछि उपत्यकाका नदी र चक्रपथका साथै देशका प्रमुख शहरका ४५ स्थानमा स्वतःस्फूर्तरुपमा सफाइ अभियान शुरु भएको छ । गुह्येश्वरीमाथिको वाग्मती सफाइको २१६औँ हप्तामा गोकर्णेश्वर नगरपालिका–ं ५ स्थित हनुमान वाटिका मुनिको नदी क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन भएको थियो ।

सफाइसँगै नदी किनारको बगैँचा पनि गोडमेल गरिएको पुडासैनीमैत्री समाजका अध्यक्ष उत्तम पुडासैनीले बताए । रुद्रमती सफाइको २१०औँ हप्तामा रातोपुल–ज्ञानेश्वर हुँदै सानो गौचरणस्थित गोरखनाथ मन्दिर परिसरमा जनचेतनामूलक सफाइ गरियो ।

यसैगरी सिफलस्थित भण्डारेश्वर मन्दिर परिसर पनि सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता रोहित गिरीले जानकारी दिए ।

सफाइमा काठमाडौँ महानगरपालिका– ३० का अध्यक्ष दलबहादुर कार्कीलगायत अभियन्ताको उपस्थिति थियो । सफाइमा रुद्रमती सरोकार समाज, वातावरण संरक्षण अभियान, प्रसिद्धि कला समूहलगायत संस्थाको सक्रियता थियो ।

वाग्मतीको तिलगंगा क्षेत्र सफाइको १६० औँ हप्तामा जनचेतनामूलक सफाइ अभियान सञ्चालन गरियो । नदीमा वाग्मती सौन्दर्यीकरणको कार्य भइरहेकाले जनचेतनामूलक अभियान सञ्चालन हो ।

मीनभवन क्षेत्रको आलोकनगर सफाइको ५१औँ हप्तामा आज त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । चक्रपथ सफाइको ५१ औँ हप्तामा आज चाबहिलचोकदेखि रुद्रमती नदी पुलसम्म सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरिएका अभियन्ता लोकबहादुर टण्डनले जानकारी दिए ।

चक्रपथको बाफल खण्डको ३३ औँ हप्ताको सफाइका क्रममा स्युचाटार पुलदेखि कलंकी चोकसम्म सफाइ गरी पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक ताराबहादुर कुँवरले सुनाए ।

प्रतिक्रिया दिनुहोस्