पुडासैनीको ‘उज्यालो खोजिरहेको घाम’ लोकार्पण



काठमाडौं। वरिष्ठ साहित्यकार दामोदर पुडासैनी ‘किशोर’को नवीन कवितासङ्ग्रह ‘उज्यालो खोजिरहेको घाम’ हालै लोकार्पण भएको छ। महालेखा परीक्षक टंकमणि शर्मा दंगालले एक समारोहका बीच सो कृतिको लोकार्पण गर्नुभएको हो। सो अवसरमा उहाँले साहित्यकारहरूले नै राष्ट्रलाई बाटो देखाउने भएकाले राष्ट्रले साहित्यकारहरूको उचित सम्मान गर्नुपर्ने बताउनुभयो।

उक्त कविता सङ्ग्रहमा कवि पुडासैनीद्वारा वि.सं. २०७० भाद्र र आश्विनमा नेपालको विकट जिल्ला मुगुमा रहेर रचिएका कविता समावेश छन्। नेपालका हिमाली तथा पहाडी क्षेत्रहरू सौन्दर्यशाली, वैभवयुक्त र ओजश्वी भएर पनि निरीह बन्नुपरेका प्रसंगहरूलाई ‘उज्यालो खोजिरहेको घाम’मा समेटिएको प्रसंग कवि पुडासैनीले बताउनुभएको छ।

४१ कविताहरू समावेश उक्त कृतिमा पुडासैनीले आफ्नो भूमिका पनि कवितामै लेख्नुभएको छ। उहाँले जसरी नै कविता र नियात्राको माध्यमबाट हिमाली संस्कृति, भूगोल, प्राकृतिक वैभव र हिमाली सम्भावनाहरूलाई उजागर गर्ने हो भने विश्व साहित्य भण्डारमा हिमाली साहित्यले प्रमुख स्थान ओगट्ने कुरामा शङ्का नरहेको विचार वरिष्ठ समालोचक डा. खेम कोइराला बन्धुले राख्नुभयो।

प्रकाशन संस्था दोभान प्रकाशनकी प्रमुख बालिका गिरीले उज्यालो खोजिरहेको घाम दामोदर पुडासैनी ‘किशोर’ले रचेको हिमाली समयको चित्र भएको बताउनुभयो। उहाँले भन्नुभयो– ‘पुडासैनीका कविताहरूमा अनुभूतिका आकर्षक रंगहरू छन्, मानवीय संवेदनाका आकृतिहरू छन्, मानव र प्रकृतिका स्पन्दनहरू सुन्दर र जीवन्त बनेर उठिरहेछन्, त्यसैले हामीले यो कृति प्रकाशमा ल्याएका हौं।’

प्रतिक्रिया दिनुहोस्