बाफियालाई संशोधन गर्न जोड



किशोर खतिवडा, काठमाडौं
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) मा देखिएका कमिकमजोरीलाई संशोधन गर्नुपर्ने आवश्यकता रहेको सम्बन्धित क्षेत्रका विज्ञहरूले औंल्याएका छन्।

काठमाडौं जिल्ला बार एशोसिएशनद्वारा बाफियाकाबारेमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा बोल्ने बक्ताहरूले सो कुरा औंल्याएका हुन्। उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाशकुमार ढुंगानाले बाफियामा भएका प्रावधानलाई सकारात्मक रुपमा लिई अगाडि बढ्नुपर्ने बताउनुभयो।

उहाँले बैंकिङ कसुरको मुद्दामा केही कमिकमजोरी भए अदालतले त्यसलाई सच्याउन तयार रहेको उल्लेख गर्नुभयो। सो अवसरमा बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले कर्जा प्रवाहको सम्बन्धमा आफूहरू अझै पनि परम्परागत शैलीमा नै अगाडि बढिरहेको उल्लेख गर्दै यस्त विषयलाई सच्याउन आफूहरू गम्भीर रहेको बताउनुभयो। अध्यक्ष ढुंगानाले बैंकिङसँग सम्बन्धित कतिपय मुद्दामा अदालतले गरेका फैसलाले गर्दा यस क्षेत्रलाई अप्ठेरो परेको जनाउँदै यस्ता विषयलाई संशोधन गर्न आफूहरू अदालत जानको लागि तयारी गरिरहेको बताउनुभयो।

वरिष्ठ अधिवक्ता सुशील पन्तले नयाँ जारी भएको वाफियाका प्रावधानले बैंकिङ क्षेत्रमा देखिएका कतिपय नयाँ विषयलाई समय सापेक्ष रुपमा समेट्न नसकेकोतर्फ सम्बन्धित सबै क्षेत्रको ध्यानाकर्षण गर्नुभयो।

अर्का वरिष्ठ अधिवक्ता तथा सर्वोच्च अदालत बार एशोसिएसनका अध्यक्ष शैलेन्द्रकुमार दाहालले बाफिया प्रावधानलाई सकारात्मक रुपमा सोची ऋणि र बैंक दुवैले यसलाई सदुपयोग गर्नुपर्ने सुझाव दिनुभयो। वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले सर्वोच्च अदालतबाट भएका कतिपय फैसला गलत भएको दाबी गर्दै बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित मुद्दा सो विषयसँग सम्बन्धित न्यायाधीशहरूको इजलासले हेर्नुपर्ने सुझाव दिनुभयो।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण पौडेलले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतको योग्यताको बारेमा केही अन्योल सिर्जना भएको बताउनुभयो। उहाँले यस विषयमा ऐन संशोधन हुँदा सहज हुनेमा विश्वास गर्नुभयो।

काठमाडौं जिल्ला बारका अध्यक्ष लक्ष्मण थपलियाले बैंकिङ क्षेत्रमा देखिएको समस्यालाई न्यायाधीश, कानुन व्यवसायी र बैंकिङ क्षेत्रका ब्यक्तिहरू मिली समाधान गर्नुपर्ने धारणा राख्नुभयो। सो कार्यक्रममा सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश ओमप्रकाश मिश्र, काठमाडौं जिल्ला बारका सचिव रामचन्द्र कार्की, कानुनविद् विजयप्रसाद मिश्रलगायतले बाफियाको बारेमा धारणा राख्नुभएको थियो।

उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाशकुमार ढुंगानाले बाफियामा भएका प्रावधानलाई सकारात्मक रुपमा लिई अगाडि बढ्नुपर्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्