इजरायली गोली प्रहारमा पाँच प्यालेस्टिनीको मृत्यु



गाजा, (एजेन्सी)
प्यालेस्टिनी अधिकारीहरूले गाजा स्ट्रिपमा प्रदर्शनका क्रममा इजरायली ट्यांकबाट गोली प्रहार हुँदा ५ जनाको मृत्यु भएको बताएका छन्। उक्त घटनामा ३ सय ५० भन्दा बढी घाइते
भएको अधिकारीहरूले जानकारी दिएका छन्।

गाजाको खान युनिस शहरलगायत प्यालेस्टाइन–इजरायल सीमामा जोडिएका पाँच इलाकामा प्यालेस्टिनीहरूले उक्त विरोध प्रदर्शनको आयोजना गरेका थिए। इजरायली सेनाले ६ स्थानमा दंगाको स्थिति रहेको बताएको छ। त्यसलाई नियन्त्रण गर्न दंगा भड्काउनेलाई निसाना बनाई गोली प्रहार गरेको सेनाले जानकारी दिएको छ। ६ हप्तासम्म हुने उक्त प्रदर्शनका लागि इजरायली सीमानजिकै प्यालेस्टिनीहरू टेन्ट लगाएर बसेका छन्। उक्त विरोध प्रदर्शनलाइ ‘ग्रेट मार्च अफ रिटर्न’ भनिएको छ।

इजरायली सुरक्षाबलले प्यालेस्टाइनसँग जोडिएको उसको सीमा क्षेत्रमा १७ हजार प्यालेस्टिनी जम्मा भएको बताए। सुरक्षाबलले आफ्नो सामाजिक सञ्जाल च्यानलमा दंगामा उत्रेको भिडलाई तितरबितर पार्न र प्रदर्शनकारी भड्काउनेलाई निसाना बनाइएको जनाएको छ। त्यसमा टायर बाल्ने र नजिकै सीमा पारी पेट्रोल बम र ढुंगामुढा गर्नेहरू परेको उल्लेख गरिएको छ।

प्यालेस्टिनी अधिकारीहरूले उत्तरी गाजाको जबालियानजिकै र दक्षिणमा रफाह नजिकै इजरायली सेनाको हमलामा कयौं प्यालेस्टिनी घाइते भएको बताए।

यसअघि प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरूले प्रदर्शन शुरू हुनुअगाडी नै इजरायलले २७ वर्षका ओमर समुरलाई मारेको बताए। ट्यांकबाट प्रहार भएको गोली लागेका मध्ये दुई जना खेतमा धनियाँ उखेलिरहेकाहरू परेको बताइएको छ।

‘ग्रेट मार्च अफ रिटर्न’ शुक्रबार मार्च ३० बाट शुरू भएको छ। प्यालेस्टिनीले यो दिनलाई ‘ल्यान्ड डे’का रूपमा मान्ने गरेका छन्। सन् १९७६ मा यही दिन जमिनमाथिको कब्जालाई लिएर भएको विरोध प्रदर्शनमा इजरायली सुरक्षा बलले ६ प्यालेस्टिनीको हत्या गरेको थियो।

इजरायली विदेश मन्त्रालयले उक्त विरोध कार्यक्रमको आलोचना गर्दै विरोध प्रदर्शनको माध्यमबाट उनीहरू जानीजानी इजरायलसँग झगडा बढाउन चाहेको बताएको छ। यदि कुनै प्रकारको झडप भएमा यसका लागि हमास र प्रदर्शनमा भाग लिने प्यालेस्टिनी संगठन जिम्मेवार हुने मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्