सगरमाथा जोडेर भैरे ल्याउँदै सूर्य



रश्मी थापा
सुर्खेतको जनमाध्यमिक विद्यालयमा पढ्दै गर्दा नेपाल समाचारपत्रको सहप्रकाशन सिने पत्रिका कामनामा छापिएको नायक राजेश हमालको फोटो हेरेर यो हिरोलाई लिएर म एक दिन फिल्म निर्देशक बन्छु भन्ने अठोट लिएका निर्देशक एभरेस्ट सूर्य बोहरा अहिले नेपाली सिने क्षेत्रको सफल निर्देशकमा गनिन्छन्।

‘स्कुलका साथीहरूको बीचमा बसेर कामनामा छापिएको राजेश हमालको फोटो हेर्दै म एक दिन यो हिरोलाई लिएर फिल्म निर्देशन गर्छु’ भन्थें साथीहरूले पत्याएनन्, अचम्म मान्दै गलल्ल हाँसे’, बोहराले सुनाए ‘एसएलसी सकाएको ७ वर्षपछि राजेश हमाललाई हिरो लिएरै आफ्नै लेखन र निर्देशनमा फिल्म अग्नी परीक्षा बनाएँ। जुन समयमा अग्नी परीक्षा सर्वाधिक चलेको फिल्ममा गनिन्छ।’

स्कुलेजीवनदेखि नै कलाका विभिन्न विधामा भाग लिने उनले स्कुलमा हुने विभिन्न कार्यक्रमको अवसरमा भीमनिधि तिवारीका एकांकीहरू, बालकृष्ण सम, मदनबहादुर मुखिया, अशेष मल्ल आदिका नाटकहरू निर्देशन गरेका थिए।

स्कुले जीवनमै एक दर्जन बढी नाटक निर्देशन गरेका बोहराले नाटक निर्देशनबापत कमाएको पारिश्रमिक विद्यालयको कोषमा जम्मा गर्थे रे। २०४४ सालमा सुर्खेतबाट पहिलो श्रेणीमा एसएलसी पास गरेपछि मेडिसिन पढ्न काठमाडौं आएका सूर्यले त्रिभुवन विश्वविद्यालयमा नाम पनि निकालेछन्, तर डाक्टर पढ्ने पैसाको अभाव थियो उनीसँग। त्यसैले कमर्स पढ्न सरस्वती क्याम्पसमा भर्ना भए। कलेजमा पनि उनी नाटक अभिनयमा सक्रिय रहेर नाटक कलाकारको रूपमा चिनिँदै गए। ‘त्यति बेला अन्य कलेजमा पनि नाटक देखाउने, प्यारोडी गाउने गरिन्थ्यो।

एउटा फेजमा नाटक गर्ने र दिउँसो चाबहिलस्थित बाबा बोर्डिङ हाइस्कुलमा पढाउने गर्थें। त्यो बेला उक्त स्कुलमा पढाउने म सबैभन्दा फुच्चे टिचर थिएँ। मैले त्यहाँका बच्चाहरूलाई नाटक पनि सिकाउँथे। त्यति नै बेला तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठानमा अभिनय प्रशिक्षण खुलेको कुरा त्यहाँको एक शिक्षिकाबाट थाहा पाएँ। सबैले तालिममा जान सुझाव दिए। प्रतिष्ठानमा अभिनय पनि सिकाउने र महिनाको ४ सय रुपियाँ पनि दिने व्यवस्था थियो’ –सूर्यले सम्झिए। ‘एक वर्षको कोर्स गरेपछि अन्य विधाका विद्यार्थी मिलेर कलाको कामलाई निरन्तरता दिनुपर्छ भनेर कला यात्रा नामक सस्था खोल्यौं र यहीमार्फत् कला जीवनलाई निरन्तरता दिँदै गएँ’ –उनले भने।

कलायात्राबाट उनले धेरै सडक नाटक र स्टेज नाटकमा अभिनय र निर्देशन गरेका थिए। उनले अशेष मल्लको तुवाँलोले ढाकेका बस्तीलगायत अनि देउराली रुन्छ, बौलाही दिदीको अधुरो तिहार, भित्तामा कुँदिएका कथाहरू, हरियो झिँगालगायतका नाटकमा अभिनय गरे। अधिकांश नाटक उनैले निर्देशन गरेका थिए। ‘मैले आफ्नो कलायात्रा नाटकबाट शुरू गरेकोले अहिले पनि नाटकप्रति उत्तिकै मोह छ। तर त्यसमा सक्रिय हुन पाएको छैन। नेपाल टेलिभिजनको स्थापनापछि धेरै रंगकर्मी टेलिभिजनतर्फ आकर्षित हुन थाले। मलाई पनि त्यो हावाले छोयो।

त्यति बेला टेक्नोलोजिकल्ली कम बजेटमा बन्ने फिल्म हुन्थे। त्यति बेला मैले अन्धयुग, संजोग, कारागार, खतरा, विरोधी, नियतीलगायतका भिडियो फिल्महरूमा मैले निर्देशन गरें। वासु शशीको कथाको भिडियो फिल्म संजोगमाचाहिँ २ नायकमध्ये एक नायकको भूमिकामा अभिनय गरेको थिएँ’, सूर्यले सुनाइरहेका थिए– ‘उहाँलाई मेरो अभिनय मन परेपछि तपाईंले त निर्देशन पनि गर्नुपर्छ भन्नुभयो र नेपाल टेलिभिजनको लागि मेरो पहिलो टेलिफिल्म वासु शशी दाइकै लेखनको आफ्नो घरमा निर्देशन र अभिनय दुवै गरें।’ निष्कर्ष, खोइ कहाँ छ मान्छे, ठट्टा, चेतावनीजस्ता टेलिफिल्म बनाएका उनले प्रायः टेलिफिल्महरू आफैं लेख्ने र अभिनय गर्ने गर्थे।

आफ्नै लेखन र निर्देशनमा अर्को फिल्म कान्छा बनाउँदै गर्दा उनलाई अमेरिकाको हवाइ प्यासिफिक युनिर्भसिटीमा पढ्ने अवसर मिल्यो। ‘हाइ स्कुलसम्म मेरो पढाइ राम्रो थियो तर बीचमा अन्य क्षेत्रमा आवद्ध भएकाले पढाइमा राम्रो गर्न नसकेका कारण अब अमेरिका गएर पढाइ पूरा गरेर फेरि नेपालमा आएर फिल्म निर्देशन गर्छु भनेर अमेरिका गएर इन्टरनेसनल रिलेसन पढ्न थालें।

तर सरकारी स्कुल पढेर गएका कारण बुभ्mन समय लागेकोले पढाइलाई निरन्तरता दिन सकिनँ, ३ वर्ष यसै बित्यो। मलाई हजुरआमाले पढ्दै छस् कि छैनस् भनेर सोधिरहनुहुन्थ्यो। वास्तवमा मैले पढिरहेको छु भनेर झुट बोल्ने गर्थें’, सूर्यले सुनाए– ‘सन् २००३ मा मेरो हजुरआमा स्वर्गीय हुनुभयो भन्ने खबर सुनेर म रूँदै कराउँदै नेपाल आइपुगें। फर्कने बेला प्लेनमा सोंचे हजुरआमाले आफ्नो जिन्दगी मलाई हुर्काउन र पढाउनको लागि अर्पिनुभयो। उहाँको सपना मैले पढाइ पूरा गरोस् भन्ने थियो।

अमेरिका फर्केको भोलिपल्ट म सीधै कलेज गएर म पढ्न चाहन्छु भनेर फेरि पढाइ शुरू गरें। प्लस टु लेभलका विद्यार्थीसँगै बसेर पढ्दा मलाई शुरूमा अप्ठेरो लाग्थ्यो। तर मभन्दा डबल उमेरका मानिसहरू पनि त्यहाँ पढिरहेका थिएँ जसले गर्दा मलाई पनि सजिलो भयो। त्यसपछि टेक्सासको माउन्टेन भ्यु कलेजका हजारौं स्टुडेन्टबाट टप टेन स्टुडेन्ट भएर एसईई सकाएँ। त्यसपछि ब्याचलर डिग्री पनि गरें। यसबाट पनि सन्तुष्टि नभएपछि ३५ वर्षको उमेरमा ह्युमन रिलेसन एन्ड इन्टरनेसनल बिजनेसमा मास्टर डिग्री शुरू गरें।’

मास्टरसम्मको पढाइ सकाएर नेपालमै सिनेमा बनाउने सोचले स्वदेश फर्केका सूर्यले मुटु नामक फिल्म बनाउँदा नेपाली सिनेमाको माहोल परिवर्तन भइसकेको थियो। ‘अमेरिकामा हुँदा मेरा सहकर्मी साथीभाइले तपाईंजस्तो मान्छे नेपाल आएर फिल्म बनाउनुपर्छ भनिरहन्थे। यो कुराले पनि मलाई नेपाल छिटो आउनुपर्छ भन्ने लाग्यो। जब म नेपाल आए” त्यो बेला नेपाली सिनेमा क्षेत्रमा अस्लिल खालमा सिनेमा बन्ने लहर चलिरहेको थियो।

यो देखरे मैले एउटा मात्र प्रण गरें परिवारमा बसेर हेर्न मिल्ने सफा र मनछुने सिनेमा बनाउँछु। बाबु र आमा दुवैबाट माया नपाएको बलात्कारबाट जन्मेको बच्चाको विषयमा मुटु बनाएँ। स्वदेश विदेशमा जतिले हेर्नुभयो, माया र तारिफ गर्नुभयो। नेपालमा यसले सरदर व्यापार गर्र्यो’, सूर्यले सुनाइरहका थिए– ‘२८ दिन चलेको थियो।

केही समय अघि नेपाल आएर फिल्म ठूली बनाएँ, जसमा समावेश म त मर्छु कि क्या हो ठूली गीतले लोकप्रियता पायो। ठूलीले सरदर व्यापार गर्र्यो। त्यही बेला नायक श्रीकृष्ण श्रेष्ठको निधनले यसको व्यापारलाई असर गर्र्यो। तर यसले पाउनुपर्ने दर्र्शकको साथ भने पायो।’

पढाइको सिलसिलामा अमेरिका पुगेका सूर्यले त्यहाँ पुगेको केही समयमा आफ्नो नामको अगाडि एभरेस्ट (सगरमाथा) थपे। ‘पढ्न जाँदा मेरो परिचय सोधिन्थ्यो। म नेपालबाट हो भन्दा नेपाल कहाँ पर्छ भनेर सोध्थे। मैले माउन्ट एभरेस्ट थाहा छ भनी सोध्दा उनीहरूको ए माउन्ट एभरस्ट त्यो त संसारको पिक हो किन थाहा नहुने भन्ने जवाफ हुन्थ्यो अनि मात्र उनीहरू नेपाललाई चिन्थे।

जहाँ जाँदा पनि नेपाल नचिन्ने समस्या भएपछि मैले आफ्नो देश चिनाउनका लागि नामको अगाडि एभरेस्ट थपेर एभरेस्ट सूर्य बोहरा लेख्न थालें’, सूर्यले रमाउँदै सुनाए– ‘मेरो नामको बीचमा बहादुर पनि थियो। त्यस्तो बहादुरी केही पनि गर्न सकिएको छैन। त्यस कारण मैले बहादुर हटाइदिएँ र अगाडि एभरेस्ट राखें।’ हाल फिल्म भैरेको पास्टप्रोडक्सनमा व्यस्त उनी जेठ १८ गते अल नेपाल फिल्म रिलिज गर्ने तयारीमा जुटेका छन्। यसको दुई गीत सान्नालीलाई भेट्न आउँदा र सनम माया लाकोले अहिले बजार पिटिरहेको छ।

‘पहिलेदेखि नै जबसम्म टोल छरछिमेक गाउ” थर्काउने गीतहरूको सिर्जना हुँदैन र जबसम्म दर्शकको मन छुने कथावस्तुले आफ्नो दिमागलाई घचघच्याउँदैन, अर्को सिनेमा बनाउँदिन बरू समय किन नलागोस् राम्रो तयारीका साथ दर्शककको माझ आउँछु भनेर बसेको थिएँ। नेपाल आएपछि दर्शकको मन छुने कथावस्तु दिमागमा चम्क्यो।

जब दिमागमा एउटा पावरफुल चिजले धक्का दिन्छ नि, तब मानिसलाई सुत्न दिँदैन, झकझक्याई राख्छु, सूर्यले भैरे निर्माणका कथा सुनाए– ‘पुराना साथीहरू नायक विक्रान्त बस्नेत, गायक एम बराल र मित्र प्रेमप्रसाद पौडेलसँग भेट भयो। यी तीन जनाले मलाई यो कथामा फिल्म बनाउनैपर्छ भनेर झकझक्याइरहे। यसको सुटिङका लागि हिउ”दको मौसमम अपर मुस्ताङ जानु भनेको निकै नै चुनौतीपूर्ण कुरा थियो। हामीले अपर मुस्ताङदेखि लिएर पोखरासम्म विभिन्न आठ जिल्लामा गएर ४४ दिनमा फिल्मको सुटिङ सम्पन्न गर्यौं।’

मुस्ताङमा फिल्म निर्देशन गरिरहँदा मानिसहरू मेरो फुटेको ओठ, जाडोले कठ्यांग्रिएको अनुहार हेर्दै भन्थे– ‘अमेरिकाबाट मास्टर गरेर आएको मान्छे किन यति दुःख गरिरहेको? किन अमेरिका नै बस्नुहुन्न?’ मेरो जवाफ हुन्थ्यो– ‘पैसा मात्र सबै चिज होइन, प्यासन सबैभन्दा ठूलो चिज हो।जबसम्म म फिल्म क्षेत्रमा हुन्छु, मलाई मुस्ताङको चिसो र काठमाडौंको धुलोले कुनै असर गर्दैन। त्यो मेहनतले काम पनि गरेको छ। यसको २ गीत बाहिर आइसकेको छ। जसले तारिफ पनि पाएको छ। अब जेठमा फिल्म आउँछ। फिल्मका बारेमा म धेरै बोल्दिनँ, जे बोल्छ काम नै बोल्छ।’

प्रतिक्रिया दिनुहोस्