सम्राट सपना



सम्राट उपाध्याय

 

कमल ढकाल
गोल्डेन रुल। अर्थात् सुनौलो नियम। यो रुलको भावना भनेको हामी अरूलाई त्यस्तो व्यवहार गरौंजस्तो हामी अरूबाट चाहन्छौं। यो रुल ईशापूर्वअगाडि नै भएको मानिन्छ। मिश्रको एक चिहानमा १६०० इशापूर्वअगाडि एक शिलालेख पाइयो।

त्यसमा लेखिएको थियो– ‘प्रार्थना गर कि जे आफ्नो लागि माग्नुहुन्छ त्यो सबैले पाउन।’ यसलाई गोल्डन रुलको नमुना मानिएको छ। आफूलाई अरू भएर हेर्ने काम नै गोल्डन रुल हो।

व्यवहारिक जीवनमा जे जति गोल्डन रुल लागू हुन्छ। साहित्यमा त्योभन्दा बढी प्रयोग हुन्छ। आफ्ना पात्रले आफूले भोगेको जीवन भोग्छन्। अरूको जीवनसँग त्यो तुलना गरिन्छ। तिनै पात्रलाई खेलाएर आफ्नो कथा र अरूका कथा मिलाएर गतिलो साहित्य बन्छ। उपन्यास र छोटा कथामार्फत् आफूलाई संसारको सफल साहित्यकारमा दर्ता गरेका सम्राट उपाध्यायसँगको भेट साहित्यिक पाठकका लागि निकै रोचक हुन सक्छ।

इन्डियाना युनिभर्सिटीमा प्रोफेसर सम्राट आफ्ना विद्यार्थी लिएर आएकाले होला बेफुर्सदमा थिए। भिजिट गराउने स्थल पाटन दरबार स्क्वायरमा उनीसँग कुरा गर्दा कृष्ण मन्दिरको घन्ट लगातार बजिरहेको थियो। लाग्थ्यो सम्राट आएको खुसीमा घन्टले स्वागत गरेको छ। एकै ढुंगाबाट बनेको कृष्ण मन्दिरको कला अनुपम थियो। त्यस्तै अनुपम साहित्य कोर्ने लालसामा सम्राट कुँदिरहेका थिए। उनी यहाँका युवा साहित्यकारसँग अमेरिकी रङ पोत्न चाहन्थे।

त्यहाँका साहित्यका विद्यार्थीलाई नेपालीपन दिलाउन चाहन्थे। जसरी उनले आफ्नो किताब ‘एरेस्टिङ गड इन काठमाडौं’ मा प्रस्तुत गरेका छन्।

उनको बारेको यो लेख पाठकले पढिरहँदा उनी अमेरिकाको कुनै कक्षामा सहित्य पढाइरहेका हुन्छन्। आफ्नो नेपाल बसाइँमा पनि उनले साहित्यिक काम बढी गरे। पारिवारिक भेटघाट कम गरे। नेपाली युवा साहित्यकारसँग अमेरिकन विद्यार्थीको अन्तरक्रिया गराउँदा उनी प्रफुल्ल थिए। नेपाली रगत न थियो उनमा।

पिता हरिभक्त उपाध्याय अधिकारी र आमा शान्ता शर्माका कोखबाट यस धर्तीमा पाइला टेकेका उनी आत्मविश्वाशी थिए। त्यसैले नै होला उनी अमेरिका जानुअगाडि नै आफ्ना साथीभाइलाई भन्थे– ‘कुनै दिन मेरो साहित्य संसारले पढ्नेछ, त्यसमा तिमीहरू पनि पर्छाै।’ हुन पनि उनको फ्रेन्च, ग्रिक, जर्मन, चेक, थाइल्यान्ड, इन्डोनेसियन भाषामा अनुवादित साहित्य संसारभर पढिने भइसकेको छ।

सबैको भागमा आफ्नो दुःख हुन्छ। उनको पनि थियो। पपुलर र सक्सेसको पछाडि अनुशासित जीवन र कडा परिश्रम हुन्छ। जो सम्राटले पनि गरे। बाबु हरिभक्त कृषिका हाकिम थिए। बाबु उच्च ठाँटबाट नभएकाले उनले डेरामा जीवन बिताउनुपर्यो। कहिले बागबजार कहिले कहाँ बसे। पछि लैनचौरमा घर त किने बाबुले। उनी त्यसको केही वर्षपछि अमेरिका गइहाले। दुःख अमेरिकामा पनि सँगै गयो। कुनै दिन उनलाई २ सय डलर पनि ठूलो लाग्थ्यो।।

ओहायोमा रेन्ट तिर्न पैसा नभएर साथीको सोफामा सुत्थे। एक हप्ता पन्ध्र दिनपछि फेरि अर्काे साथीकोमा जान्थे। सुटकेसमा लुगा नहाली गार्बेजको ब्यागमा लुगा हालेर होमलेस जसरी हिँडेको उनले बताए। उद्देश्यप्रतिको आशाले उनलाई दुःखी बन्न दिएन। त्यसैले त आज सम्राटको सुगन्ध फैलिएको छ।सेन्ट जेभियर्सबाट सन् १९८० मा निक्लेका उनले शंकरदेव क्याम्पसमा पढे। सन् १९८४ मा अमेरिका गए। ओहायोबाट अन्डरग्राजुएट गरे। साहित्यमा उनको रुचि थियो। के गर्न सकिन्छ भन्ने उनलाई थाहा थिएन। थिएटर क्लास अनि जर्नलिज्म स्कुल पनि पढे। जब उनको प्रसिद्ध टिचरले ‘यु आर अ न्याचुरल फिक्सन राइटर’ भनेर भने। दिमागले खोजिरहेको कुरा पाएझैं भयो। तरंगित मनलाई साहित्यमा बेस्सरी कुदाउने निर्णय गरे।

पढ्नेबाट पढाउनेमा उक्लिसकेका सम्राट साहित्य लेखिरहन्थे। उनको साहित्यले उचित स्थान पाएको थिएन। भगवान्ले तँ चिता म पुर्याउँछु भनेर भनेको हुन्छ भनेझैं भयो उनलाई। फलको आशा नगरी कर्म जो गरिरहेका थिए। बेस्ट अमेरिकन स्टोरिजमा उनको एउटा कथा प्रकाशित भयो। टप ट्वान्टीमा उनका कथा परेपछि उनलाई लेखनमा जोड दिन मन लाग्यो। शुरू–शुरूमा उनलाई वी लाइक इट बट भन्नेहरूले पनि अब कथा माग्न थाले। यसैक्रममा सन् २००१ मा प्रकाशित ‘एरेस्टिङ गड इन काठमाडांै’ले उनलाई चर्चित बनायो। नेपाल सेटिङ हालेर लेखिएको त्यो कृति पछि उनका अरू कथा संग्रह र नोबल पनि प्रकाशित भए।

लेखक पनि पहिले फेल हुन्छ र पछि पास हुँदै जान्छ भन्ने उनीबाट सिक्न सकिन्छ। उनका फेल नोबल नै पछि पास हुँदै गए। ‘सिटी सन्’ भन्ने नोबल अमेरिकामा केही दिनपछि जुन १७ मा आउँदैछ। लेख्ने र पढाउने उनको काम नै हो। अमेरिकामा रिसेसन लागेको समय उनी अंग्रेजी पढाउन साउदी अरेबियामा आए। एसिया नजिक आएको बखत भनेर नेपाल पनि आए। काठमाडौं युनिभर्सिटी खुलेको बखत दुई वर्ष त्यहाँ पढाए। पत्रकारिता गरे। नेपालमै ट्राभलर नेपाल म्यागाजिन पनि निकाले। काम गर्दै गर्दा अमेरिका मिस गर्न थाले। पीएचडी गर्न मन लाग्यो। हवाइ पुगे र पीएचडी गरे कन्सन्ट्रेसन क्रियटिभ राइटिङमा पीएचडी गर्दा लेख्ने क्रम पनि बढ्यो। यसरी उनी साहित्य र प्रोफेसर दुवैतिर भ्याइरहेका छन्।

नेपालमा किताब लेखेपछि तुरुन्तै प्रकाशित हुन्छ। अमेरिकामा भने सम्पादनमै बढी समय लाग्छ। यहाँ लेखक नभई किताब प्रकाशित गरिँदैन। उहाँ दुई वर्षपछि फलानो किताब निस्किँदैछ भनेर अहिल्यै भनिन्छ। किताब लेख्ने प्रकाशनको डिल गर्ने हरेक लेखकको एक एजेन्ट हुन्छ। उसैले ≈यान्डिल गर्छ। सम्पादकले लेखक बनाउँछ। त्यसपछि कपी एडिटरले डाटा, डेट ठीक छ छैन भनेर हेर्छ। त्यसपछि प्रुफ रिडरकहाँ जान्छ। उसले ल्यांग्वेज हेरिसकेपछि बल्ल किताब रेडी भएको मानिन्छ। यसो गर्दा एक किताबले बच्चा जन्मेर हिँड्ने समयभन्दा बढी लाग्छ। त्यसैले नै अमेरिकी साहित्यले संसारमै उच्च स्थान ओगट्छ।

हरेक लेखकमा आदर्श राइटर हुन्छ। सम्राटले पनि भारतीय राइटर सलमान रुस्दिको मिडनाइट चिल्ड्रेन खुब मन पराउँथे। भारतीय अन्य लेखकमा उनलाई आर के नारायन, अनिता देसाई मन पर्थे। उनले छुटाउँदै नछुटाउने किताब भनेको आइरिस सर्ट स्टोरी राइटर विलियम ट्वेल को हो। उनी पाउलो कोहल्लो, चेतन भगतका साहित्यलाई डिप साहित्य मान्दैनन्। कमर्सियल र सरफेसियल लेख्न सम्राटलाई मन पर्दैन। इतिहासमा पढिने सत्य साहित्यमा उनको मन गएको छ। जस्तो चाल्र्स डिकेन्सले लेख्थे।

साहित्य लेख्न पढ्न पर्छ। चर्चामा आएको किताब पढ्ने बानीले नै मान्छेलाई साहित्यमा लाग्ने खुराक दिन्छ। उनीहरूले कसरी पात्र बनाए भनेर पढ्ने बानीले नै साहित्यकार हुन सकिने सम्राटको भनाइ थियो। धेरै बुकिस्ट पनि साहित्यकार हुन सक्दैनन्। पढ्ने र निरन्तर लेख्ने प्यासनले नै मान्छे राम्रो साहित्यकार हुने उनले बताए। यहाँ पनि अंग्रेजीमा लेख्ने साहित्यकारसँग उनको बढी उठबस छ। यहाँ अंग्रेजीमा लेख्ने युवा राइटरको अझै पनि अंग्रेजी ग्रामरमा समस्या देख्छन् उनी। भन्छन– ‘कथा राम्रो भएर हुँदैन, जुन भाषामा लेखिन्छ त्यसको व्याकरण पनि राम्रो चाहिन्छ।’

साहित्यकारको आफ्नो लेख्ने समय हुन्छ। उनको पनि लेख्ने समय भनेको बिहान ४ देखि ५ बजेबीचको समय हो। त्यतिबेलादेखि लगातार तीन घन्टा लेख्छन्। एक पटकमा एक किताब मात्र लेख्ने धेरै हुन्छन्। उनी भने प्रायः दुई वटा शुरू गरिरहेका हुने रहेछन्। आउँदै गरेको किताब उनको पाँचौं हो भने छैठौं र सातौ पनि सँगै लेखिरहेको बताउँथे। आफूले आफैंलाई डेटलाइन हालेर लेख्न बस्नुपर्ने सम्राटको भनाइ थियो। लेखेपछि रिराइट गर्ने चलनले लेखकलाई अझै निखारमा ल्याउने सम्राट बताउँथे।

नेपाली बृहत् शब्दकोषले सम्राट भनेको राजा, महाराजाधिराज मानेको छ। हरिभक्तले छोराको त्यस्तै मान होस् भनेर नाम सम्राट राखे। सन् १९९३ मा नेपाली केटी विवाह गरेका सम्राटले पनि आफ्नी छोरीको नाम शाहजादी राखेका छन्। सायद बाबुलाई फलो गर्दै शाहजादी नामअनुसारकै राजाकी छोरी जस्तै बनून् भन्ने सम्राटको कामना होला।

साहित्यमार्फत् नामअनुसारकै काम गर्न सम्राट हिँडिरहेका छन्। हरिभक्तबाट सम्राट र सम्राटबाट शाहजादीमा आउँदा सम्राटले आफ्नो साहित्य विश्वका धेरै देशमा पढिने साहित्यमा दर्ता गरिसके। उनको सपनाको यात्रा भनेको आफ्नो साहित्य संसारभर होस् भन्ने नै हो। यसैमा उनी कुदिरहेका छन्। कहिले कुन देशमा। अनि कहिले आफ्नै मनको देश नेपालमा।

 

प्रतिक्रिया दिनुहोस्