साहित्य र संस्कृति दुई देशलाई जोड्ने एक्सप्रेसः चीनका राजदूत यु होङ



नेपाल समाचारपत्र, काठमाडौं ।
नेपालका लागि चिनियाँ राजदूत यु होङले चीन र नेपालका जनतालाई जोड्ने ‘एक्सप्रेस गाडी’ साहित्य र संस्कृति रहेको धारणा राख्नुभएको छ ।
चीनको ऊहान् यानह्वाङ् सांस्कृतिक अध्यक्ष संस्थान र नेपाली साहित्यकार, संस्कृतिकर्मीहरुबीचको अन्र्तक्र्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले सो धारणा राख्नुभएको हो । अरनिको समाजले ललितपुरको कनिबहालमा सो कार्यक्रम आयोजना गरेको थियो ।

नेपाल र चीन सरकारबीच दौत्य सम्बन्ध सन् १९५५ मा कायम भएको भएपनि दुई देशका जनताको बीच सम्बन्ध सयौं वर्ष पुरानो रहेको पनि राजदूत होङको भनाई रहेको छ ।

‘दुई देशका जनताबीचको सम्बन्धलाई जोड्ने एक्सप्रेस भनेको साहित्य र संस्कृति हो ।’ उहाँले भन्नुभयो‘ दुई देशका साहित्यकार र संस्कृतिको आदानप्रदानले आपसी सम्बन्धमा प्रगाढता ल्याउने छ । ’ नेपाल र चीनका जनतालाई संस्कृति, धर्म दर्शनले निकै सामिप्यता बढाएको र सधैं बढाइरहने पनि राजदूत होङको कथन रहेक छ ।

उहाँले नेपालको कलाकार अरनिको, चीनको मञ्जुश्रीले काठमाडौं उपत्यकामा बस्ती बसाएको सन्र्दभदेखि अहिलेको आधुनिक चीनले नेपालसंगको सम्बन्धलाई निकै प्राथमिकता राखेको बताउनुभयो ।

नेपाल भ्रमणमा आउनुभएका चिनियाँ साहित्य र संस्कृति अध्येताहरुले चीनमा कन्फयुसियस, ताओ र बुद्धधर्मको साहित्यदेखि आधुनिक श्रृंगार रसले भरिएको साहित्य समेतको चर्चा गरेका थिए । आधुनिक विकासको गति, उत्पादनले तीब्रता लिइरहँदा पनि चीनमा साहित्य र संस्कृतिलाई निकै महत्वका साथ लिने गरेको साहित्यहरुले बताए । आधुनिक विकाससंग साहित्य र संस्कृतिलाई चिनियाँ सरकार र जनताले बचाइराखेको उनीहरुले जानकारी दिए ।

सन् २०१६ मा त्यहाँको कम्युनिष्ट पार्टीले परम्परागत साहित्यको विकासको एउटा महत्वपूर्ण नीति पास गरेको पनि अन्र्तक्र्रियामा बताइयो ।

चीनको मुख्य जाति हान बाहेक ५६ वटा जातिहरु मध्ये कसैको आफ्नो भाषा र लिपि, कसैको भाषा मात्र त रहेको पनि साहित्यकारहरु बताउँछन् । साहित्यकारहरुले चीनको अल्पसंख्यक जातिका भाषा र साहित्यहरु पाठकहरु घट्दै गएको पनि बताउँछन् ।

सो अवसरमा अरनिको समाजका अध्यक्ष डा. सर्वोत्तम श्रेष्ठ चिनियाँ र नेपालीबीचको भावनात्मक सम्बन्ध बलियो बनाउन साहित्य र संस्कृतिले निकै योगदान पु¥याएको चर्चा गर्दै त्यसको प्रतिविम्बि अहिले आर्थिक विकासमा पनि देखिएको बताउनुभयो । उहाँले दुई देशका संस्कृति र साहित्यको आदानप्रदानले यसको विकासमा महत्वपूर्ण योगदान र नौलो दृष्टि प्रदान गर्ने पनि अध्यक्ष डा. श्रेष्ठको भनाई रहेको छ ।

सो अवसरमा समाजका उपाध्यक्ष डा मनोजमान श्रेष्ठ, महासचिव डा सुशील प्रजापति लगायतले दुई देशका सम्बन्धका विविध आयाम बारे चर्चा गर्नुभएको थियो । ताइसिन्मीन्को अध्यक्षतामा आउनुभएका टोलीमा चिनियाँ लेखक, साहित्यकार, अध्येताहरु गरी १६ जना रहेका छन् । कार्यक्रममा टोलीका सदस्यहरुसंग नेपाली साहित्यकार, पत्रकारहरु र संस्कृतिकर्मीहरुले विभिन्न जिज्ञासाहरु राखेका थिए ।
यस अघि सो टोली पाटनको ऐतिहासिक हिरण्यवर्ण महाविहारको भ्रमण गरी त्यहाँको परम्परा, संस्कृति बारे जिज्ञासा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्