अञ्जनको गोलमा पुलिस स्तब्ध



यमलाल भुसाल, बुटवल

भागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै मनाङमस्र्याङ्दी क्लब तेस्रो मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुटवलको रामनगरस्थित मानविज्ञान माविको खेल मैदानमा भएको खेलमा मनाङमस्र्याङ्दीले पुलिसलाई २–१ गोलअन्तरले हराएको हो । दुवै गोल अञ्जन विष्टले गरेका हुन् । मनाङले शनिबार दोस्रो सेमिफाइनल खेलमा सुनौलो संगम क्लबसँग प्रतिस्पर्धा गर्नेछ । तर खेलमा पुलिसका एज तामाङले गोल गर्दै १४औं मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा पुलिसले अग्रता जोगाउन सकेन । यो अग्रता ६०औं मिनेटसम्म मात्रै रह्यो ।

६१औं मिनेटमा भिक्टोरको पासमा अञ्जनले गोल गर्दै खेललाई बराबरीमा पुर्याए । उत्कृष्ट प्रदर्शन गरेको मनाङका लागि पुनः अञ्जनले ७५औं मिनेटमा गोल गर्दै टोलीलाई २–१ को स्थितिमा ल्याएका थिए । बाँकी समयमा पुलिसले कुनै पनि गोल गर्न सकेन र खेल मनाङले जित्न सफल भयो । दुई गोल गरेका अञ्जनले म्यान अफ दि म्याच घोषित हुँदै नगद १० हजार पुरस्कार प्राप्त गरेका छन । प्रतियोगिताअन्तर्गत पहिलो सेमिफाइनल खेलमा शुक्रबार आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी र थ्री स्टार क्बलका बीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्