“द मनी म्यान” को विलासी जीवन



कविरस शर्मा

प्रोफेसनल बक्सिङ करियरमा कुनै पनि प्रतिस्पर्धा नहारी रिटायर्ड हुने बक्सर विरलै पाइन्छ। तीमध्येको एक बक्सर हुन् फ्लोयड मेवेदर। उनी सक्रिय खेल जीवनको ५० प्रतिस्पर्धामा अपराजित रहेका छन्। मेवेदर अपराजित बक्सरका साथसाथै विश्वकै धनाढ्य खेलाडी पनि हुन्। उनले केही वर्ष विश्वप्रसिद्ध फोब्र्स म्यागजिनले प्रकाशित गर्ने सर्वाधिक धनी खेलाडी सूचीको शीर्ष स्थानमा पनि कब्जा गरिसकेका छन्।

खेल्दा होस् वा रिटायर्ड लाइफ, सर्वाधिक धनी खेलाडीमध्येका एक मेवेदर सधैं आफ्नो निजी जीवनका कारण चर्चामा रहने गरेका छन्। गत महिना मात्र आफ्नो ४२औं जन्मदिन मनाएका यिनी ‘द मनी म्यान’ को उपनामबाट समेत चर्चित छन्। वास्तवमा मेवेदरको घरमा जताततै सधैं नोटको बिट्टा छर्नेदेखि पैसासहितको भरिभराउ ब्याग साथमा राख्ने कारणले नै उनलाई यसो भनिएको हो। करिब साढे ६ हजार करोड नेट वर्थ भएका मेवेदरलाई आफ्नो बैंक ब्यालेन्स र नगदसँग धेरै नै लगाव छ।

मेवेदर अचेल आफूले खरिद गरेको नयाँ निजी जेट विमानका कारण चर्चामा छन्। अहिले उनी सोही विमानबाट विश्वको भ्रमण गर्दै छन्। हालसालै उनले सामाजिक सञ्जालमार्फत मेक्सिको र हङकङमा घुम्दै गरेको तस्वीरहरू शेयर गरेका थिए।

मेवेदरले गत महिना आफ्नो जन्मदिनको अवसर पारेर करोडौं मूल्य पर्ने एउटा निजी जेट र करिब ५ करोडको सुविधा सम्पन्न गाडी खरिद गरेका छन्। आफ्नो नयाँ जेटको फोटो शेयर गर्दै मेवेदरले त्यसमा ‘आफ्नो जन्मदिनमा मैले नयाँ जेट किनें’ भनेर लेखेका छन्। उनले उक्त विमानमा ‘३ब्ष्चःबथधभबतजभच ३त्ःत्’ भनेर लेखेका छन्।

मेवेदरको यो तेस्रो निजी जेट विमान हो। उक्त नयाँ जेटमा चालक दलका सदस्यसहित १४ जना एकैसाथ सफर गर्न मिल्छ। मेवेदरले सो जेटभित्र बसेको आफ्नो फोटो पनि शेयर गरेका छन्। जसमा उनी संगीत सुन्दै गरेको देखिएका छन्। मेवेदरको उक्त जेटको बाहिर त्ःत् लेखिएको छ। जसको अर्थ ‘द मनी टिम’ हो। योबाहेक यसपटक आफ्नो जन्मदिनमा मेवेदरले आफैंलाई ‘रोल्स रोयस’ कार पनि उपहार दिएका छन्।

बक्सिङ लेजेन्ड मेवेदरको नाममा लगातार ५० म्याचमा अजय रहने कीर्तिमान छ। त्यसपछाडि मात्र उनले संन्यासको घोषणा गरेका हुन्। गत अगस्टमा मेवेदरले बक्सिङको सबैभन्दा महँगो भिडन्तमा मिक्स्ड मार्सल आर्टस्का सुपरस्टार कोनोर मेकग्रेगोरलाई हराएर ५०औं जित दर्ता गराएका थिए। उक्त भिडन्त जितेपश्चात् मेवेदरले १ सय मिलियन डलर पाएका थिए। यो रकम भनेको नेपाली रुपियाँमा तुलना गर्दा अर्बौंमा पुग्छ।
सपिङका सौखिन मेवेदर सधैं आफ्नो साथमा भारी नगद राख्ने गर्छन्।

आफ्नो निजी विमानमा पनि उनी थुप्रैपटक नोटको बिट्टासहित देखिने गर्छन्। उनीसँग थुप्रै सुविधा सम्पन्न कार पनि छन्। जसमध्ये लस भेगासको घरमा सबै सेतो रंगको गाडी राखेका छन्। यस्तै मियामीमा रहेको अर्को घरमा भने थुप्रै कालो रंगको सुविधा सम्पन्न गाडी पार्क गर्ने गर्छन्। कार संकलनको सौखिन उनीसँग करिब ४ करोड रुपियाँ मूल्यको बेन्ट्ले कार पनि छ।

मेवेदरले एकपटक प्रयोग गरेको जुत्ता अर्कोपटक लगाउने गर्दैनन्। एकपटक लगाएपछि उनले आफ्नो जुत्ता स्टाफ सदस्यलाई दिने गर्छन्। उनी हरेक वर्ष ६ हजार ५ सय डलर आफ्नो बक्सर्स (हाफ पेन्ट) मा खर्च गर्छन्। अनि त्यो पनि एकपटक प्रयोग गरेपछि लगाउँदैनन्। उनी जी–५ निजी जेट विमानका मालिक हुन्। उनका अंगरक्षक भने अर्को जेट विमानमा सफर गर्छन्। आफू सफर गर्ने विमानमा धेरै मान्छेलाई राख्न डराउने भएकाले उनले यसो गरेका हुन्। उनी गहनाका सौखिन पनि हुन्। एक समय उनको घरबाट ७ मिलियन डलर बराबरको गहना चोरी भएको थियो।

प्रतिक्रिया दिनुहोस्