स्मिथ जेन्टलम्यान भएनन्



फिरोज राजोपाध्याय

जेन्टलम्यान मानिएका अस्ट्रेलियाका कप्तान स्टिभ स्मिथले क्रिकेट करियरमा यस्तो दाग लगाएका छन् कि त्यो मेट्न सायद कठिन नै हुनेछ। बल टेम्परिङ जस्तो काण्ड मच्चाएर स्मिथले आफ्नो शिर आफैंले झुकाउन पुगे।

उनलाई अस्ट्रेलियाका सर डन ब्राडम्यान, स्टिभ वाग, रिकी पोन्टिङ जस्ता सफल कप्तानसँग तुलना गरिएको थियो। दक्षिण अफ्रिकामा जारी चार टेस्टको सिरिजअन्तर्गत तेस्रो टेस्टमा यस्तो अकल्पनीय काम गरेका उनी अबको एक वर्षसम्म क्रिकेट खेल्नबाट पनि वञ्चित भएका छन्। यो भनेको उनको सुनौलो करियरमा पूर्णविराम पनि हुन सक्नेछ।
आफ्नो खुट्टामा आफैं बन्चरो हान्ने कस्तो बुद्धि आएको भन्दै सोसियल मिडियामा उनको आलोचना भइरहेको छ।

उनलाई साथ दिएका अस्ट्रेलियाका उपकप्तान डेविड वार्नरलाई पनि एक वर्ष खेल्न नपाउने गरी निलम्बन गरिएको छ। यो काण्डमा मुछिएका अर्का खेलाडी बेनक्रफ्टले ९ महिनाको सजाय पाएका छन्। बल टेम्परिङ गर्न उनले सेन्डपेपर (खाक्सी) प्रयोग गरेका थिए। तर, उनीहरूले पहेंलो टेप प्रयोग गरेको भनेर सबैलाई झूटो बोली अन्योलमा पारेको भन्दै उनीहरूको चर्को आलोचना भएको छ।

स्मिथले अस्ट्रेलियालाई मात्रै होइन क्रिकेटको संस्कृति नै ध्वस्त बनाएको पनि कयौं दिग्गज क्रिकेटले प्रतिक्रिया दिएका छन्। उनीहरूले नै १२ महिनाको निलम्बन कम भएको पनि गुनासो गरेका छन्। उनीहरूका अनुसार यदि यो संस्कृति विकास भयो भने भविष्यमा अझ क्रिकेटमा यस्तो काण्ड निस्कने बताएका छन्।

यसमध्ये अस्ट्रेलियाकै चर्चित पूर्वलेग स्पिनर सेन वार्नले फेसबुकमा यस्तो प्रतिक्रिया दिए– ‘मैले भएको भए यिनीहरूलाई कप्तानीबाटै बर्खास्त गरिदिन्थें। १२ महिना सजाय भनेको यस्तो अपराधका लागि मेल खाँदैन।’

आईसीसीको कानुन यस्तो छ
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को नियमअनुसार म्याच भइरहँदा बललाई बिगार्ने भनेको लेभल २ को अपराध मानिन्छ। यो लेभलमा खेलाडीमाथि खेलको १ सय प्रतिशत शुल्कको जरिवाना तिराउने र चार नेगेटिभ प्वाइन्टस् लगाइदिन्छ। यति नेगेटिभ प्वाइन्टस् एक टेस्टबाट निलम्बन गर्न पर्याप्त हुन्छ।

बल टेम्परिङ यसरी हुन्छ
बललाई धारिलो वस्तु (धातु, बालुवा, इँटाको टुक्रा र नङ) ले कोर्ने।
बलमा चुइङ्गम लगाउने।
मैदानमै बल घिसार्ने।
भ्यासलिन र सनक्रिम बलमा लगाउने।
(यसमध्ये थुकले बल चम्काउने भने आईसीसीको अनुमति छ।)
किन बल टेम्परिङ हुन्छ
केही क्रिकेटरले खेलको नतिजा आफ्नो टोलीमा ल्याउन यस्तो गैरकानुनी कार्य गर्छन्। बलमा कृत्रिम वस्तु लगाएर चम्किलो बनाउँछन्, त्यही चम्किलो भागमा हावा छिटै हुने हुँदा बलले स्विंग लिन्छ। यसले बलरलाई धेरै लाभ हुन्छ।

बलको जाँच भयो
बललाई परीक्षण गर्न पठाएको थियो। जसमा भ्यासलिन भएको पुष्टि पनि भयो। तर, इंग्ल्यान्डका फिजियोले खेलाडीको आँखामा पसिना नआओस् भनेर निधारमा पेट्रोलियन जेली लगाएको भनेर टिमको बचाउ गरेका थिए। भ्यासलिन लगाएर नै लेभरले भारतको पिचमा गजबको स्विंग गरे जसको फाइदा इंग्ल्यान्डलाई भएको क्रिकेट विज्ञहरूले मानेका थिए।

पहिलोपटक बल टेम्परिङ
क्रिकेटको इतिहासमा पहिलोपटक बल टेम्परिङको नराम्रो संस्कृति सन् १९७७ मा भएको थियो। इंग्ल्यान्ड र भारतबीचको टेस्ट क्रिकेटमा बल बिगार्न यस्तो चिज प्रयोग भयो कि त्यो कसैले विश्वासै गर्न नसक्ने खालको थियो। त्यतिबेला शरीरमा लगाउने भ्यासलिन मल्हम बलमा दलिएको थियो।

भारतले बललाई बिगारेको भनेर इंग्ल्यान्डमाथि गम्भीर आरोप लगाएको थियो। भारतमा आएको इंग्ल्यान्ड टोलीका मध्यम गतिका बलर जान लेभरको बलले स्विंग गरिरहेका थिए। चेन्नईको पिच स्विंग गर्ने खालको थिएन। लेभरले भारतविरुद्ध दिल्लीमा डेब्यु गरेको टेस्टको पहिलो इनिङ ४६ रन दिएर ७ विकेट तथा दोस्रो इनिङमा ३ विकेटको क्षतिमा २४ रन खर्चेर सानदार बलिङ देखाएका थिए।

चेन्नईमा उनको बलिङ घातक बनिरहेको थियो। भारतीय कप्तान विशन सिंह वेदीलाई शंका लाग्यो कि भारतीय ब्याटस्म्यान लेभरको बलिङमा टिक्न सकिरहेका थिएनन्। किन यसो भयो भनेर वेदीले लेभरमाथि निगरानी राखे। लेभरले बारम्बार टाउकोबाट पसिना पुछेर बल रगडिरहने गरेको वेदीले देखे। उनले तत्कालै अड्कल काटे कि लेभरले बलमा भ्यासलिन नै दलिरहेका छन् । भ्यासलिनले बल स्विंग भएको थियो।

इंग्ल्यान्डले २ सय ६२ रन बनाएकोमा भारतको इनिङ १ सय ६४ रनमा समेटियो। लेभरले ५ विकेट लिन ५९ रन खर्चेका थिए। अम्पायरलाई उनीमाथि नै शंका भयो। अम्पायरको हातमा भ्यासलिनसहितको पसिना लागेको थियो। अम्पायरले त्यतिबेला नै भारतीय कप्तान वेदी र इंग्ल्यान्डका कप्तान टोनी ग्रेगलाई यसको जानकारी गराए। पछि वेदीले मिडियालाई लेभरको पोल खोलिदिएका थिए।

प्रतिक्रिया दिनुहोस्