गाईसम्बन्धी विवाद नतन्काऊ



गाईको विषयलाई लिएर अहिले सामाजिक सञ्जालमा चर्को टिकाटिप्पणी भइरहेको छ । प्रदेश नम्बर ३ की उपसभामुख राधिका तामाङले यसै विषयलाई लिएर चर्को आलोचना खेपिरहेकी छिन् । उपसभामुख तामाङले गाई काटेर खान पाउनुपर्ने अभिव्यक्ति दिएको भनी सामाजिक सञ्जालमा आएपछि यस विषयमा आफू अनूकुलका तर्कहरू राख्ने क्रम बढिरहेको छ । यता उपसभामुख तामाङले भने आफूले भनेको कुरालाई बंग्याएर चरित्र हत्या गर्ने काम गरेको भनी केही दिनअघि खण्डन गरिसकेकी छन् ।

उनले आफूले गाई काटेर खान पाउनुपर्ने अभिव्यक्ति नदिएको स्पष्ट पारिसकेपछि यस विषयलाई अब तन्काउनु जरुरी छैन । यस विषयलाई अगाडि ल्याइरहने हो भने राज्यमाथि नै ठूलो चुनौती आइनपर्ला भन्न सकिँदैन । त्यसैले नागरिक समाजसहित राज्य नै सचेत हुनुपर्ने देखिन्छ ।

हुन त गाईसम्बन्धी विवाद आज मात्र देखा परेको होइन, यो विवाद अहिले ब्युँतिएको मात्र हो । माओवादी द्वन्द्वकालमा धार्मिक विभेद अन्त्य गर्ने भनेर ठाउँ–ठाउँमा गाई काटेर खाएका समाचार आएकै हुन् । बेला–बेलामा यस विषयलाई उचालेर सामाजिक सद्भाव खलबल्याउने रणनीति पनि भएकै हुन् । गाई काटेर मासु नखाई नहुने पनि होइन, खाँदा पनि मैले गाईको मासु खाएँ भन्दै गौरव गर्नुपर्ने पनि देखिँदैन । मुख्य कुरा यस विषयलाई उचालेर सामाजिक सद्भाव भड्काउने काम हुनु भएन । गाई काटेर यसको मासु खान हुन्छ कि हुँदैन भन्ने कुरालाई एकातिर राख्ने हो भने पनि गाई नेपालको राष्ट्रिय जनावर त हो नि । त्यसैले गाई विवादमा पर्नु भनेको हाम्रो राष्ट्रिय जनावर विवादमा पर्नु हो । राष्ट्रिय जनावर विवादमा पर्नु भनेको हाम्रो राष्ट्रिय पहिचानमा प्रश्न उठ्नु हो । त्यसैले यस विषयमा विवाद चर्काउनु कुनै हालतमा पनि उचित देखिँदैन ।

गाईको कुरा मात्र होइन, कुनै पनि स्त्री चौपाया काट्नु प्राकृतिकरुपमा प्राणी सन्तुलनका लागि उचित हुँदैन । तर यसो भन्दैमा कसैलाई परम्परादेखि खाई आएको मासु खान भने बन्देज गर्न मिल्दैन । प्राकृतिक सन्तुलन नबिग्रने र सृष्टिको निरन्तरता नखलबलिने अनि मुलुकको नियम कानुन उल्लंघन नहुने गरी मासु खान पाउनु सबैको अधिकार हो । तर हिन्दू धर्मअनुसार गौमाताको रुपमा पूजनीय हाम्रो राष्ट्रिय जनावर गाईकै विषयलाई लिएर सामाजिक सद्भाव खलबलिने गरी अभिव्यक्तिहरू आउनुचाहिँ कसैका लागि हित हुँदैन । यसबाट निम्तिन सक्ने द्वन्द्व र अस्थिरताप्रति बेलैमा राज्य सचेत बन्नै पर्छ ।

प्रतिक्रिया दिनुहोस्