वडा अध्यक्ष नै गर्छन बाढीपीडितको रकम वितरणमा भेदभाव



सरोज यादव, विराटनगर ।
मोरङको जहदा गाउँपालिकाको वडा अध्यक्षले बाढीपीडितको रकम वितरणमा भेदभाव गरेको भन्दै स्थानीय बाढीपीडित विरोधमा उत्रिएका छन् । जहदा गाउँपालिकाका १ का वडा अध्यक्ष प्रदिपचन्द्र यादवले वास्तविक बाढीपीडितलाई राहत रकम नदिएर कमिशनका लागी आफुुखुुसी रकम वितरण गरेको उनीहरुको आरोप छ ।

विराटनगरमा पत्रकार सम्मेलन गरी वडा अध्यक्ष यादवले सरकारले बाढीपीडितलाई दिएको रकम आफ्नो नाता पर्ने र कार्यकर्तालाई मात्रै वितरण गर्ने गरेको उनीहरुको आरोप छ । ‘पूर्ण रुपमा क्षति भएका बाढीपीडितले राहत रकम अहिलेसम्म पाएका छैन, स्थानीय शिवेन्द्र राजवंशीले भन्नुभयो, ‘वडा अध्यक्षले मनोमानी र कमिसनको चक्करमा पर्दा पूर्ण क्षति भएकोले पाउनुपर्नेमा आंशिक क्षति भएकोले राहत पाएका छन् ।

एकै परिवारका ५ जनासम्मको नाममा रकम आउनु, सर्बदलीय बैठकले पूर्ण र आशिंक क्षति भएको भनि सिफारीस गरेको भन्दा बाहिरका ब्यक्तिको नाम राहत पाउने सूचीमा हुनु, विवाह गरेर भारत गएकी छोरीको नाममा सिफरिस गर्नु र सय जना भन्दा बढीको नाम पूर्ण र आशिंक क्षति दुबै सुचिमा राखेर अनियमिता गरेको उनीहरुले आरोप लगाए । स्थानीयले राहत रकम २५ हजार रुपैयाँ पाउनेले पनि १० हजार रुपैयाँसम्म कमिशन वडा अध्यक्ष यादवले मागेको आरोप लगाए । गत साउनको अन्तिम साता आएको बाढीले क्षति भएकाको राहतका लागी नेपाल सरकारले राहत वितरण कार्यक्रम ल्याएको थियो ।

सरकारले पूर्ण रुपमा क्षति भएका बाढीपीडितका लागि २५ हजार रुपैयाँ दिँदै आएको छ । जहदा गाउँपालिकाको १ नम्बर वडामा ५ सय २ परिवार पूर्ण रुपमा क्षति भएको वडा कार्यालयको अभिलेखमा रहेको छ । अघिल्लो सोमबारदेखि बाढीपीडितलाई राहत रकम वितरण गर्न सुरु गरेको यस वडामा १ सय ५० बाढीपीडितलाई राहत रकम वितरण गरेको बताइएको छ । राहत रकममा अनियमितता भएको भन्दै छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीमा समेत चैत्र ९ गते निवेदन दिएको स्थानीय बावुराम राजबंशीले जानकारी दिनुभयो ।

जहदा गाउँपालिका १ का वडा अध्यक्ष प्रदिपचन्द यादवले भने निष्पक्ष रुपमा बाढीपीडितलाई राहत रकम वितरण गरेको बताउनु भएको छ । ‘१ नम्बर वडाबाट ७ सय २६ घर पूर्ण रुपमा क्षति भएको भनि तथ्यांक पठाएको हो,’ उहाँले भन्नुभयो, ‘अहिले ५ सय २ घरको लागि राहत रकम आएको छ ।’ माथिबाट आएको राहत रकम बाढीपीडितलाई बोलाएर नै वितरण गर्दै आएको उहाँले बताउनु भयो । जनप्रतिनिधिलाई फसाउने नियत राखी केही व्यक्तिले विभिन्न प्रपोगाण्डा गरेको यादवको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्