पोल र तार माग्दै प्राधिकरणमा जनप्रतिनीधि



नानीराम नेपाल, सिन्धुपाल्चोक ।

काठका पोलबाट गाउँनगरलाई मुक्त गर्ने कुरा स्थानीय तहका जनप्रतिनीधिका मुखैमा झुण्डिएको छ । गाउँ नगरका प्रमुखदेखि वडाध्यक्षहरुसम्म आइपुग्दा ‘काठे पोल मुक्त अभियान’ साझा नारा बनिरहेको छ । पछिल्लो केहि महिना यता जनप्रतिनीधिहरु विद्युत प्राधिकरण धाईरहेका छन् ।

स्थानीय सरकारका प्रमुख नै पोल र तार माग्दै विद्युत प्राधिकरणमा पुगेका छन् । वडाध्यक्षहरुसहित साताअघि नेपाल विद्युत प्राधिकरणको सुनकोसी शाखामा पुगेका बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले आवस्यक्ता पहिचान गरि पोल, तार र प्राविधिक सहयोग गरिदिन शाखा प्रमुख प्रमोदकुमार मिश्रलाई आग्रह गरेका छन् । स्थानीय तहमा जनप्रतिनीधि आइसकेको अवस्थामा स्थानीय सरकारसँग समन्वय गरेर मात्र विद्युतिकरणका काम गर्न अध्यक्ष क्षेत्रीले आग्रह गरे ।

पहुँचका आधारमा नभई आवस्यक्ताका आधारमा पोल वितरण गर्नुपर्ने भन्दै क्षत्रीले अत्यावस्यक ठाउँमा विद्युत प्राधिकरणले तत्काल पोल पठाइदिनुपर्ने बताए । ‘गाउँमा पोल पुगेको छैन, तार लत्रिएर बसेको छ’, अध्यक्ष क्षेत्रीले भने, ‘सवैतिर सम्भव नभएपनि अत्यावस्यक ठाउँमा पोल पठाइदिनुस् ।’

फुल्पिङकोटको सिमासिङमा पोल लगिइसकेको र गाढ्ने काम सुरु हुनै लागेको भन्दै सिमासिङमा बत्ति बाल्नका लागि आवस्यक तार उपलव्ध गराइदिन पनि उनले शाखा प्रमुखलाई आग्रह गरे । ‘पोल किनेर ल्याइसक्यौं, हामी आफैं गाढौंला’, उनले भने, –‘सिमासिङमा बत्ति बाल्नुप¥यो तार पठाइदिनुस् ।’ गाउँपालिका अध्यक्षका साथ प्राधिकरणमा पुगेका वडाध्यक्षहरुले वडाको सिफारीसमा मात्र गाउँमा पोल पठाउनुपर्ने भन्दै ब्यक्तिगत रुपमा कोहीकसैलाई पोल नपठाउन आग्रह गरे ।

‘आवस्यक्ता हेरेर हामी सिफारीस गरि पठाउँछौं अनि मात्र पोल पठाउनुस्, ब्यक्ति–ब्यक्तिलाई पठाएर हुँदैन’, बलेफी गाउँपालिका–४ का वडाध्यक्ष कालीप्रसाद तामाङले भने । प्राधिकरणले स्थानीयतहसँग समन्वय नगरी तार र पोल वितरण गर्दा जनप्रतिनीधिहरुप्रतिको जनविश्वास घट्ने भन्दै बलेफी–२ का वडाध्यक्ष छविलाल न्यौपानेले शाखा प्रमुख मिश्रलाई आगामी दिनमा समन्वय गरेर काम गर्न अनुरोध गरे । ‘वडाध्यक्षले गर्दैनन् भन्ने बुझाई विकास हुनसक्छ, त्यसकारण वडाका सिफारीसमा मात्र पोल पठाउनुहोला’, न्यौपानेले भने ।

गाउँपालिका अध्यक्ष नै समस्या लिएर पहिलोपटक प्राधिकरणमा आएको बताउँदै विभिन्न गाउँनगरका वडाध्यक्षहरु भने दैनिकजसो पोल र तारका लागि आउने गरेको शाखा प्रमुख मिश्रले सुनाए । ‘वडाध्यक्ष ज्युहरु त आइरहनुहुन्छ, आज गाउँपालिका प्रमुख नै आउनुभएछ’, उनले भने ।

चुहावट रोक्न आग्रह

नेपाल विद्युत प्राधिकरण सुनकोसी शाखाका प्रमुख प्रमोद कुमार मिश्रले भुकम्पपछि विद्युत चुहावट अत्याधिक रुपमा भइरहेको भन्दै त्यसलाई रोक्न स्थानीय सरकारसँग आग्रह गरेका छन् । गाउँबस्तिमा स्टील पोल र तारको माग बढिरहेकाबेला विद्युत चुहावट नियन्त्रणका लागि उनले गाउँ तथा नगरका प्रमुख र वडाध्यक्षहरुलाई आग्रह गरेका हुन् ।

स्थानीय तहले विद्युतिकरणलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहँदा चुहावट रोक्नका लागि पनि भुमिका खेल्नुपर्ने उनले बताए । ‘जताततै हुकिङ भइरहेको छ, चुहावट रोक्न अध्यक्ष ज्युहरुले सघाउनुप¥यो’, शाखा प्रमुख मिश्रले भने ।

प्रतिक्रिया दिनुहोस्