‘इन्द्रावती दोहन’मा प्रशासन रमिते



सिन्धुपाल्चोकको दादागिरी, काभ्रेमा प्रहरीले चावी खोस्यो

 

मोतीराम तिमल्सिना, काभ्रे ।

काभ्रेपलाञ्चोक जिल्लामा पर्ने ब्यक्तिको ५ सय ८० रोपनी जग्गा इन्द्रावती खोलाले बगर बनाए पछि शुरु भएको विवादले चरम रुप लिएको छ । काभ्रेपलाञ्चोकमा काम रोक्न लगाएर सिन्धुपाल्चोक जिल्लालाई दोहन गर्न प्रहरीकै संरक्षण रहेको स्थानीयले बताए ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाले अनाधिकृत रुपमा ५० वटा भन्दा धेरै स्काभेटर संचालन गर्न अनुमति दिएको छ । प्रशासनको चरम लार्पवाहि र मिलेमत्तोमा इन्द्रावती दोहन हुँदा पनि रोक्न सकिएको छैन । काभ्रेपलाञ्चोक जिल्लाको मण्डन देउपुर नगरपालिकाका ६, ७, ८ र ९ वडाका स्थानीयलाई इन्द्रावतीको लिफ्ट मार्फत खानोपानी वितरण गर्दै आएको छ ।
पटक पटक लिफ्टमा इन्द्रावतीले क्षति पु¥याए पछि मण्डनदेउपुर नगरपालिकाले त्यसको संरक्षणका लागि सिंचाई मार्फत २५ लाख र बाँकी रकम त्यहि रहेको इन्द्रावती क्रसरले ब्यहोर्ने गरी लिफ्ट संरक्षण गर्न लागेपछि सिन्धुपाल्चोक जिल्लाबाट खटिएका प्रहरीले चावी समेत खोसेर लगेपछि विवाद छताछुल्ल भएको हो । एसएसपी धिरजप्रताप सिंहको आदेशमा सिन्धुपाल्चोक जिल्लाबाट खटिएको प्रहरीले काभ्रेमा संचालन भईरहेको स्काभेटरको चावी लुटेको बताईएको छ । ‘काभ्रेको लुट्ने, सिन्धुपाल्चोकलाई २४ घण्टा चलाउन अनुमति दिने, कस्तो हो प्रहरी नियम’–प्रमुख टोकबहादुर वाईवाले भने ।

सिन्धुपाल्चोक जिल्लाको साविक भिमटार गाविस हालको इन्द्रावती गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङले वातावरणीय मुल्याकंन नगराई भटाभट काभ्रेपलाञ्चोक जिल्लाको सिमानामा स्काभेटर चलाउन अनुमति दिए पछि विवाद चर्किएको छ । इन्द्रावती दोहनमा सिन्धुपाल्चोक जिल्लाबाट ५० वटा भन्दा धेरै स्काभेटर संचालनमा छन् । ‘काभ्रेपलाञ्चोक जिल्लाको सिमानामा पर्ने जमिनमा अबैद्यानिक रुपमा क्रसर संचालन भईरहँदा पनि प्रशासन मौन छ’–नगर प्रमुख टोकबहादुर वाईवाले भने–‘लिफ्ट जोगाउन, सिमांकन गर्न र वातावरणका नाममा उठाईएको सिन्धुपाल्चोक जिल्लामा रहेको ३ करोड ९ लाख रकम बैज्ञानिक हिसावले प्राप्त गर्नु पर्छ ।’

इन्द्रावती बगरमै पुगि मण्डन देउपुर नगरपालिका प्रमुख टोकबहादुर वाईवा, उपपं्रमुख निर्मला शाही, वडाअध्यक्षहरु लक्ष्मण बस्ताकोटी, केशव तिमल्सिना, डिल्ली आचार्य, जीतबहादुर तामाङ, विष्णुमणी नेपाल, नेत्रप्रसाद ढकाल, नारायणप्रसाद लम्साल, गणेशप्रसाद नेपाल, गिता नेपाल, खड्गबहादुर पुर्काेटी लगायतका जनप्रतिनिधि र स्थानीयहरुले सिन्धुपाल्चोक जिल्लाबाट भएको अतिक्रमण तत्काल रोक्न माग गरेका छन् ।

इन्द्रावती पौड्यालबारी लम्सालथुम्का खानेपानी तथा सिंचाई समितिले मण्डन देउपुर नगरपालिकालाई लिफट् संरक्षणका लागि अनुरोध गरेपछि नगरपालिकाले संरक्षण शुरु गरेको थियो । मण्डन देउपुर नगरपािलकाले सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक जिल्लाको सिमांकन विवादलाई तत्काल टुङ्गयाउन माग गरेको छ । सिमांकन विवाद हुँदा सिन्धुपाल्चोक जिल्लाले काभ्रे जिल्लामा पर्ने ५ सय ८० रोपनी भुभाग अतिक्रमण गरिरहेको वडा अध्यक्ष विष्णुमणी नेपालले जानकारी दिए ।

‘मेरो बुबाको नाममा रहेको १३ रोपनी जमिन अहिले सिन्धुपाल्चोक जिल्लाले मेरो भनेर अतिक्रमण गरिरहेको छ’–अध्यक्ष नेपालले भने–‘सिन्धुपाल्चोक जिल्लाको दादागिरी रोक्न पनि तत्काल सिमांकन गरिनु पर्छ । सिमाकंन नहुञ्जेल उत्खनन रोकिनु पर्छ ।’ कार्यपालिका सदस्य गिता नेपालले राति ९ बजे देखि विहान ३ बजेसम्म इन्द्रावती दोहन भईरहेको बताईन् । २०६७ साल साउनमा शुरु गरिएको सिमांकन सिन्धुपाल्चोककै कारण रोकिएको वडा अध्यक्ष जितबहादुर तामाङले बताए ।

काभ्रे र सिन्धु जिल्लाको सिमांकन गर्न, क्रसर उद्योगलाई ब्यवस्थित गर्न, बैकल्पि सडकको ब्यवस्थापन गर्न, उद्योग अनुसार रोजगार उपलब्ध गराउन, सडकमा जोखिम न्युनिकरण गर्न ट्राफिक ब्यवस्थापन गर्न स्थानीयले माग गर्दै ११ दिन अवरोध पु¥याएको अध्यक्ष जितबहादुर लामाले बताए ।

काभ्रेपलाञ्चोक जिल्लामा २०३१ सालमा नापि भएको थियो भने २०३७ सालमा सिन्धुपाल्चोक जिल्लामा नापि भएको थियो । सिन्धुपाल्चोक जिल्लाले खोलाको सिमाना भन्दै मिच्दै आएको काभ्रेका स्थानीयले बताए । खोलाले धार बदलिरहँदा हरेक पटक सोहि क्षेत्रका नागरिकहरु बीच विवाद हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्