लागु औषध कारोबार आरोपमा मेडिकल सञ्चालक पक्राउ



नेपाल समाचारपत्र, बारा ।

प्रहरीले निजगढ नगरपालिकाबाट प्रतिबन्धित लागु औषधि बिक्री गर्ने एक मेडिकल सञ्चालक सहित दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय निजगढको टोलीले निजगढ नगरपालिका–८ लायन्स चोकमा हनी मेडिकल पसल सञ्चालक रामकृष्ण मिश्र र मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ पदमपोखरीका २२ वर्षिय कृष्ण विकलाई पक्राउ गरेको हो । पक्राउ परेका दुबैलाई प्रहरीले बुधबार जिल्ला अदालत बाराबाट एक साताको म्याद थप गरी अनुसन्धान शुरु गरेको छ ।

प्रतिबन्धित औषधि ओपीडोल एक सय थान क्याप्सोल र कफट्याब १० क्याप्सोल सहित विकलाई पक्राउ गरेपछि प्रहरीले हनी मेडिकलमा शिलबन्दी गरी बुधबार स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सकको रोहबरामा पसलमा खानतलासी गरेको थियो । खानतलासीको क्रममा प्रहरीले प्रतिवन्धीत औषधि नुर्फिन १० एम्पुल, ओपिडोल ४० पत्ता र फेनागर्नन ६ एम्पुल बरामद गरेको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक दिपक रायले जानकारी दिए ।

पछिल्लो समय नगरमा लागुऔषधको लतमा फसेका किशोर–किशोरीहरुको संख्या वृद्धि भएपछि प्रहरीले बिक्रेताको र प्रयोगकर्ताको खोजी शुरु गरेको हो ।

हनी मेडिकलले लामो समयदेखि लागुऔषध कारोबारको ट्रान्जिटको रुपमा काम गर्दैै आएको प्रहरीको दावी छ । बारा सहित रौतहट र मकवानपुर जिल्लामा समेत निजगढबाट लागु औषधको कारोबार हुने गरेको बताइएको छ ।

धेरै समय अघिदेखि संचालक मिश्राले पसलबाट लागु औषध कारोबार गर्ने गरेको तर आवश्यक प्रमाण अभावमा कारवाही गर्न नसकिएको भन्दै निरीक्षक रायले प्रमाण सहित पक्राउ परेका दुबैमाथि लागु औषध कारोबार अभियोगमा मुद्दा दर्ता गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्