भ्रमणमा किम शैली



‘खै केभन्दा के ठूलो’ भने झैं हुन्छ हाम्रा राष्ट्राध्यक्ष र प्रधानमन्त्रीको विदेश भ्रमणको तयारी। कहिले जाने, को–को जाने, कहाँ बस्ने, क–कसलाई भेट्ने, छिमेकीसँग के–के माग्नेजस्ता अनेकथरी तयारी गर्दा भ्रमणको उपलब्धीभन्दा भ्रमणले ठूलो चर्चा कमाउँछ। विदेश भ्रमण होस त उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनको जस्तो।

किम रेल चढेर सुटुक्क चीन पुगेपछि मात्रै खबर बाहिरी दुनियाँले थाहा पायो। त्यही भएर त अहिले संसारको ध्यान अहिले चीनतर्फ तानिएको छ। चीनले उनलाई गज्जबकै सम्मान दिएको छ, चिनियाँ राष्ट्रपति सी र किमले वाइन ‘चियर्स’ गर्या तस्वीर र भिडियो हाम्रा नेताले पनि अब त नियाले होला। किमको यो भ्रमणबाट हाम्रो पीएमले पनि पाठ सिक्नुपर्यो।

कि सिकिसक्या हो, त्यही भएर अहिले सुसुक्क भित्रभित्रै भारत भ्रमणको तयारी पो गर्या हो कि भन्ने धरहरालाई लाग्न थाल्या छ। भारतले फल्ना मितिबाट फल्ना मितिसम्म ओलीले आफ्नो मुलुकको भ्रमण गर्ने, फल्ना मितिमा ओली–मोदीबीच भेटवार्ता हुने भन्ने बताइसक्दा यता सरकार मौन छ। भ्रमणको तयारीमा चर्चा बटुल्नुभन्दा परिणाम दिने सरकारको गुपचुप तयारी पो हो कि ? सरकार भ्रमणको कार्यतालिका थाहा नदिनु किम भ्रमणकै शैली त होइन ⁄

प्रतिक्रिया दिनुहोस्