कांग्रेसले कमजोरी सच्याउला?



हालै सम्पन्न निर्वाचनमा भएको पराजयबारे विस्तृत समीक्षा गर्न बसेको कांग्रेस केन्द्रीय समिति बैठक शुक्रबारदेखि जारी छ । बैठकमा केन्द्रीय सदस्यहरूले धक फुकाएर आफ्नो धारणा राखिरहेका छन् । केही केन्द्रीय सदस्यहरूले बुँदागत तवरले लिखित धारणा राखेका छन् भने केही केन्द्रीय सदस्यहरूले मौखिक धारणा राखिरहेका छन् । निर्वाचनको समीक्षा गर्दै अधिकांश केन्द्रीय सदस्यहरूले नेतृत्वमाथि अक्षमताको आरोप लगाइरहेका छन् । आन्तरिक गुट–उपगुटमा विभाजित कांग्रेस अहिले सबैभन्दा कमजोर भएको महसुस गरिरहेको बेला केन्द्रीय सदस्यहरूले कांग्रेसको भावी कार्यदिशा तथा अख्तियार गर्नुपर्ने रणनीति तथा योजनाका बारेमा सुझाइरहेका छन् ।

निर्वाचनमा लज्जास्पद हार व्यहोरेसँगै प्रमुख प्रतिपक्षको भूमिकामा समेत कमजोर भएको कांग्रेस आगामी ५ वर्षपछि हुने निर्वाचमा बलियो राजनीतिक शक्तिको रूपमा उदाउन सक्नेमा यसै भन्न सकिने स्थिति छैन । यदि आन्तरिकरूपमा पार्टी संगठनलाई मजबुत बनाउन अहिलेदेखि नै अग्रसर नहुने हो भने कांग्रेसको पुनः उदय हुने सम्भावना झन् न्यून हुँदै जानेछ । मुलुकको ठूलो वामघटक दल नेकपा एमाले र माओवादी केन्द्रको बलियो तालमेलले दुई तिहाइको हाराहारीमा निर्वाचन जितेको मात्र हैन यी दुई पार्टी एकीकृत हुने गृहकार्यसमेत निकै अगाडि बढेको छ । यस्तो अवस्थामा कांग्रेस आन्तरिक आरोप–प्रत्यारोपमा मात्र नअल्झिएर बैठकपछि एउटा ठोस निष्कर्ष निकाली अघि बढ्नुपर्ने देखिन्छ ।

पार्टी कमजोर हुनुको कारण मुख्यरूपमा नेतृत्वकै कमजोरी भएको कुरा तर्कसंगत ढंगले उठिरहेको छ । १२औं महाधिवेशनसम्म कांग्रेस मुख्य गरी दुई गुटमा विभाजित थियो, संस्थापन पक्षमा तत्कालीन सभापति सुशील कोइराला गुट र शेरबहादुर देउवा गुट । १३औं महाधिवेशनपछि कांग्रेसभित्र संस्थापन पक्षमा देउवा पक्ष उदाएका छन् भने पहिलाको संस्थापन पक्षको नेतृत्व वरिष्ठ नेता रामचन्द्र पौडेलले गरिरहेका छन् । कांग्रेसभित्र तेस्रो गुटको रूपमा कृष्णप्रसाद सिटौला पनि उदाएका छन् ।

यो पार्टीभित्र प्रभावशाली नेताहरूको थप उपगुट पनि रहेको छ । १२औं महाधिवेशनपछि कोइराला नेतृत्वमा पुग्दा देउवाले पार्टीभित्र ६०⁄४० को भागवण्डा माग्ने गरेका थिए । विधानअनुसार केन्द्रीय पदाधिकारी तथा पार्टीको सांगठनिक संरचनालाई पूर्णता नदिएको आरोप लगाउँदै देउवा पक्षले निरन्तर संस्थापन पक्षको आलोचना गरिरहन्थे । १३औं महाधिवेशनपछि त्यो उल्टिएको छ । पौडेल पक्षले देउवा पक्षलाई यही आरोप लगाइरहेको छ, पार्टी विधिसंगत ढंगले सञ्चालन नभएको, पार्टीको सांगठनिक संरचनालाई पूर्णता नदिएको, कांग्रेसलाई इतिहासकै सबैभन्दा कमजोर पार्टी बनाएको इत्यादि ।
जारी केन्द्रीय समिति बैठकमा कांग्रेसका सबै कमी–कमजोरीको चर्चा भइरहेको छ । भावी कार्यदिशाको बारेमा पनि छलफल भइरहेको छ ।

आरोप–प्रत्यारोप लगाएर भए पनि केन्द्रीय सदस्यहरूले सबै इतिवृत्तान्त छलफलमा ल्याएका छन् । निर्वाचनमा पराजित भएको मात्र हैन, भविष्यमा बलियो कांग्रेस बन्न सक्ने रणनीतिसमेत बैठकमा छलफल भैरहेकोले यसबाट निस्कने निचोडलाई कार्यान्वयनमा लैजानुपर्छ । चुनावी समीक्षा खाली समीक्षामा मात्र सीमित गरेर कांग्रेस अघि बढ्न सक्दैन । विगतका सबै कमी–कमजोरी हटाई आन्तरिकरूपमा एकढिक्का बनेर बैठकबाट निस्कने निष्कर्षलाई कार्यान्वयनमा लगे मात्र कांग्रेस फेरि बलियो बन्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्