एनसीसी बैंकको चुक्ता पुँजी पुग्न कठिन



नेपाल समाचारपत्र
काठमाडौं
नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी)को वित्तीय अवस्था नाजुक बन्दै गएको छ। बैंकका अधिकांश वित्तीय सूचक नकारात्मक रहेको अवस्थामा डेढ अर्ब रुपियाँ घोटाला काण्ड सतहमा आएपछि बैंकको वित्तीय स्वास्थ्य झन् धरापमा परेको छ।

वित्तीय स्वास्थ्य कमजोर रहेको एनसीसी बैंकले नेपाल राष्ट्र बैंकले तोकेबमोजिम चुक्ता पुँजी ८ अर्ब रुपियाँ पुर्याउन मुस्किल पर्ने देखिएको छ। वाणिज्य बैंकका लागि नेपाल राष्ट्र बैंकले तोकेको ८ अर्ब रुपियाँ चुक्ता पुँजीको दायरा पुर्याउन नसक्ने भन्दै एनसीसी बैंकले राष्ट्र बैंकसँग गुहार मागेको राष्ट्र बैंक उच्च स्रोतले नेपाल समाचारपत्रलाई जानकारी दिएको छ।

चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एनसीसी बैंकको चुक्ता पुँजी ४ अर्ब ६७ करोड रुपियाँ रहेको छ। यस्तो अवस्थामा बैंकले पुँजी वृद्धिका लागि हकप्रद जारी गर्न खोजे पनि संस्थापकहरूले बैंकविरुद्ध दायर गरेको मुद्दाका कारण उक्त प्रक्रिया अगाडि बढ्न सकेको छैन। ८ अर्ब पुँजी पुर्याउनकै लागि चारवटा साना वित्तीय संस्थालाई मर्जरमा ल्याएको बैंकलाई मर्जर प्रक्रिया नै महँगो सावित भएको छ।

बैंकको जगेडा कोषमा २ अर्ब ९१ करोड रुपियाँ र ऋण लगानी ५१ अर्ब ४१ करोड रुपियाँ रहेको छ। हकप्रद र बोनस सेयर जारी गरेर चुक्ता पुँजी पुर्याउने बैंकको योजना पनि संस्थापक सदस्यबीचको आन्तरिक मनमुटावका कारण सफल हुन सकेको छैन।

वाणिज्य बैंकले आर्थिक वर्षको छ महिना अवधिभित्रमा वार्षिक साधारणसभा गरिसक्नुपर्ने कानुनी प्रावधान भए पनि एनसीसी बैंकले आठ महिना बितिसक्दा पनि साधारणसभा गर्न सकेको छैन। साधारणसभा गर्न नसकेपछि बैंकले लाभांश घोषणा पनि गरेको छैन। आर्थिक वर्षको ६ महिनाभित्र र विशेष अवस्थामा ६ महिना गुज्रेको ४५ दिनभित्र सूचीकृत कम्पनीले लाभांश घोषणा गरी साधारणसभा गरिसक्नुपर्ने कानुनी प्रावधान छ। तर, एनसीसी बैंकले यी दुवै मिति गुजारिसकेको छ। बैंकको पुँजी वृद्धि र हकप्रद जारी गर्ने विषयमा संस्थापक शेयर सदस्यले अदालतमा मुद्दा दायर गरेपछि साधारणसभा बस्न नसकेको हो।

बैंकले साधारणसभा नबोलाउँदा शेयर लगानीकर्ता अन्योलमा छन्।

गत वर्षको कमाइबाट बैंकले लाभांश दिनसक्ने अवस्था देखिँदैन। तोकिएको समयमा लाभांश प्रस्ताव गरी साधारणसभा नगर्ने कम्पनीलाई नियमनकारी निकायले कारबाही गर्न नसक्दा बैंक लगानीकर्ताप्रति कम उत्तरदायी हुँदै गएको देखिएको छ। बैंकले लगानीकर्ताप्रति आफ्नो उत्तरदायित्व निभाउन नसक्दा त्यसको असर शेयर मूल्यमा समेत देखिएको छ। पछिल्लो एक हप्ता अवधिमा मात्र बैंकको प्रतिकित्ता शेयर मूल्य ५० रुपियाँभन्दा बढीले घटेको छ।

बैंकले समयमा साधारणसभा नगर्दा शेयर लगानीकर्ताहरूमा अन्योलता देखिन्छ भने उनीहरू लाभांशबाट समेत वञ्चित भएका छन्। नियामक निकायका रूपमा रहेको नेपाल राष्ट्र बैंकले पनि यस विषयमा पहल गर्न सकेको देखिँदैन। राष्ट्र बैंकले साधारणसभालगायत तोकिएका निर्देशनको पालना भएको नभएको विषय, पुँजी पुगेको नपुगेको विषयमा विश्लेषण गरेर सफाइ दिने भए पनि मुद्दाका कारण उक्त प्रक्रिया अघि बढ्न सकेको छैन।

चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्ममा बैंकको वित्तीय अवस्था हेर्दा एनसीसी बैंक अन्य वाणिज्य बैंकहरूको तुलनामा निकै कमजोर देखिन्छ। बैंकको चुक्ता पुँजी, सञ्चालन मुनाफा, खुद ब्याज आम्दानी, खुद मुनाफा, प्रतिशेयर आम्दानी, निक्षेप र कर्जा जस्ता वित्तीय सूचकमा निकै कमजोर देखिएको छ। जगेडा कोष, नेटवर्थ र निश्कृय कर्जाका आधारमा पनि बैंकको अवस्था नाजुक छ। अन्य वाणिज्य बैंकको तुलनामा एनसीसी बैंकको जोखिमयुक्त सम्पत्ति निकै बढी छ।

प्रतिक्रिया दिनुहोस्