लौठ सल्लाको खेतीका लागि नर्सरी स्थापना



नेपाल समाचापत्र
लमजुङ
लेकमा लौठ सल्लाको व्यावसायिक खेती विस्तारका लागि नर्सरी स्थापना गरिएको छ। जिल्लाको क्ब्होलासोथार गाउँपालिका–४ स्थित घाम्राङ गाउँमा सो खेती थालिएको हो।

खेतीका लागि यस वर्ष थप २ हजार ५ सय बिरुवा रोप्न नर्सरी स्थापना गरियो। यसले लौठ सल्लाको खेतीको विस्तार गर्न सघाउने स्थानीय अगुवा गमप्रसाद गुरुङले बताउनुभयो। सो कार्यका लागि जिल्ला वन कार्यालय डेढ लाख रुपियाँ सहयोग गरेको कार्यालयका प्रमुख मोहनराज काफ्लेले जानकारी दिनुभयो।

गत वर्ष १० रोपनीमा सामूहिकरूपमा २ हजार ५ सय बिरुवा रोपिएको थियो। यस वर्ष करिब १० रोपनी क्षेत्रफलमा थप ३ हजार बिरुवा रोप्ने लक्ष्यले नर्सरी बनाइएको थियो। एउटा बिरुवा तयार गर्न ७० रुपियाँ लाग्ने गरेको अगुवा गुरुङको भनाइ रहेको छ। लौठ सल्लाको पात प्रतिकेजी २ सय ५० रुपियाँमा जंगलबाटै बिक्री हुने पनि उहाँले जानकारी दिनुभयो। अगुवा गुरुङका अनुसार एउटा वयश्क बोटबाट १० केजी पात उत्पादन हुने गर्दछ। सो खेतीमा भविष्य देखेर गाउँलेलाई यसबारेमा जानकारी दिँदै उनीहरूलाई सहभागी गराइएको अगुवा गुरुङले बताउनुभयो। ‘गाउँले सबैले यसको महत्त्व अझै बुझेको छैन। त्यसैले उनीहरूलाई बुझाउन पनि सामूहिक खेती गर्न आवश्यक भयो।’ –उहाँ भन्नुहुन्छ। ‘बिरुवा मलमी र बीउ दुई तरिकाले उत्पादन गरिएको छ।’ –अगुवा गुरुङले भन्नुभयो।

लौठ सल्ला क्यान्सरजन्य रोगको औषधी बनाउनका लागि प्रयोग हुने गरेको छ। सो रुखको पात, हाँगा, बोक्रादेखि जरा समेत उपयोग हुने हुँदा ठेकेदारले पाउँदा रुख नै मासिने गरी पात संकलन गर्ने गरेको छ। यसले गर्दा लमजुङमा लौठ सल्ला मासिएको हो।

आर्थिक वर्ष २०५६⁄५७ मा लौठ सल्लाबाट मात्रै २९ लाख रुपियाँ छुट पुँजीबाट मात्र राजस्व संकलन गरेको थियो। तर, त्यसै वर्ष लौठ सल्ला मासिएको हुँदा अर्को वर्षेदेखि त्यसको निकासी हुन छाडेको कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्