विपद्सँग जुध्ने तयारी



सुनील महर्जन, ललितपुर
पहिला प्रहरी र सेनाले मात्र विपद् व्यवस्थापनको तालिम लिने गर्दथ्यो। अहिले तिनीहरूसँगै सर्वसाधारण मानिसले पनि तालिम लिन थालेका छन्’ –वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि केन्द्रमा आएको यो परिवर्तनको विषयमा कुरा गर्दै सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक प्रजाभक्त श्रेष्ठले भन्नुभयो।

कुरिनटारस्थित सो केन्द्रमा तालिम लिन एक वर्षयता सर्वसाधारण मानिस आउन थालेका हुन्। ‘यो समुदायमा विपद् व्यवस्थापनबारे आएको सचेतनाको संकेत हो’ –केन्द्रका प्रमुख एवं इन्जिनियरसमेत रहनुभएका प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले भन्नुभयो।


सो केन्द्रमा वर्षेनी ४ सय जनाले तालिम लिने गरेको अभिलेख रहेको छ। दुई वर्षयता ४० देखि ६० जना सर्वसाधारण मानिसले तालिम लिएका छन्। अघिल्लो वर्षझैं यस पटक पनि ललितपुर महानगरपालिकाले विभिन्न वडाका युवावर्गलाई केन्द्रबाट तालिम लिने व्यवस्था मिलाएको थियो। यस पटक १ देखि १६ वडाका ४० जनाभन्दा बढी युवायुवतीले सो केन्द्रबाट तालिम लिएका थिए। महानगरपालिका विपद् व्यवस्थापन समितिको संयोजन, महानगरपालिका १६ नं वडाको समन्वयमा तालिम दिने व्यवस्था मिलाइएको थियो।

‘प्रकोपको पहिलो व्यवस्थापन समुदायको सहकार्यमा हुने गर्दछ। भौगोलिक परिस्थितिको अध्ययन, तयारी तथा उद्धार कार्य समुदायसँगको सहकार्यले थप चुस्त र प्रभावकारी रहने गर्दछ’ –तालिम केन्द्रका उपप्रमुख सशस्त्र प्रहरी उपरीक्षक वीरबहादुर श्रेष्ठले टोलीसँग अन्तक्र्रिया गर्दै भन्नुभयो।

‘उद्धारको प्राथमिक सिद्धान्त भनेको संकटमा रहेका व्यक्तिको स्थान पहिचान गर्नु हो। घाइतेको सुरक्षित व्यवस्थापनसँगै आफ्नो र टोलीको सुरक्षा पनि महत्त्वपूर्ण रहन्छ भन्ने कुरालाई भुल्नु हुँदैन’ –तालिमका प्रशिक्षक सशस्त्र प्रहरी निरीक्षक अजयकुमार थापाले प्रशिक्षणका क्रममा भन्नुभयो।
उहाँले प्रारम्भिक खोज, उद्धारका ज्ञान भएका स्वयंसेवक समुदायमा रहेमा भौगोलिक परिस्थितिलाई बुझेर उद्धार योजना कार्यान्वयन छरितो हुने भनाइ राख्नुभयो। तालिममा अग्नी नियन्त्रण, उपकरण र उपसाधनहरू, विपद्मा रहेका व्यक्तिको स्थान पहिचान गर्ने तरिका, डोरीको सहायताले उद्धार गर्ने तरिका सिकाइएको थियो।

उद्धार गरिएका घाइतेको जाँच पट्टी प्रयोग, स्थानान्तरण तथा पानीमा गरिने उद्धार तरिका पनि सिकाइएको थियो। ‘यति तालिमले विपद्को बेला समुदायमा धेरै काम गर्ने सक्ने आत्मविश्वास पलाएको छ’ –तालिममा सहभागी वडा नं ३ का सदस्य रञ्जु प्रणामीले भनिन्। तालिममा सिकेका ज्ञान र सीप विपद् व्यवस्थापनको लागि निकै उपयोगी लागेको पनि रञ्जुले बताइन्। ‘अहिले सिकेको ज्ञान र सीपलाई समुदायमा प्रयोग गर्न सक्छौं’ –उनले भनिन्।

महानगरपालिकासँग समन्वय गरेर गतवर्ष केही युवायुवतीलाई केन्द्रमा तालिम दिने व्यवस्था मिलाएको थियो। त्यसको महत्त्वको बोध गरेर पुनः तालिम लिने व्यवस्था मिलाइएको थियो।

‘जुनसुकै विपद् आउँदा पनि उद्धारमा सँगैको छिमेकी वा साथीको भूमिका महत्त्वपूर्ण हुने गर्दछ। यदि साथी वा छिमेकीमा विपद् व्यवस्थापनबारे केही ज्ञान वा सीप छ भने धेरै धनजनको विनाश हुनबाट रोक्न सक्दछ। यही मान्यताले तालिम आयोजना गरिएको हो’ –महानगरपालिका विपद् व्यवस्थापन शाखाका प्रमुख हरिश्चन्द्र लामिछानेले बताउनुभयो।

दोस्रो चरणअन्तर्गत १७ देखि २९ वडाका युवावर्गलाई केन्द्रमा तालिम लिन पठाउने पनि सो शाखाले जनाएको छ। महानगरपालिका १ देखि २९ वडामा गठित विपद् व्यवस्थापन समितिलाई विपद् आएमा उद्धार, खोज र प्राथमिक स्वास्थ्यउपचार गर्न दक्ष तुल्याउने हिसाबले काम थालेको पनि शाखा प्रमुख लामिछानेले बताउनुभयो।
विपद् व्यवस्थापन कार्यलाई वडाले प्राथमिकता राखेको बताउँदै सोही अनुरूप तालिम र सरसामानको भण्डारण गर्न शुरू गरेको वडा नं १६ का वडाध्यक्ष एवं कार्यक्रमका समन्वयकर्ता निर्मलरत्न शाक्यले जानकारी दिनुभयो।

‘विपद् व्यवस्थापनमा राज्यको भन्दा पनि समुदायको भूमिका प्रभावकारी रहनुपर्दछ। त्यस्तो रहेको पनि पाइएको छ’, वैशाख १२ र २९ को भूकम्पलाई सम्झिँदै प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले भन्नुभयो– ‘यसले गर्दा नागरिकहरूलाई पनि तालिम दिने कार्यलाई प्राथमिकतामा राखेको छु।’

तालिममा राखिएका उद्धार सामग्रीको अवलोकन गर्दै महानगरपालिकाकी प्रमुख गीता सत्यालले समुदायमा विपद् व्यवस्थापनका लागि आवश्यक सामग्री किन्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्