डोटीमा पानीको चरम अभाव, फोहर पानी पिउँदै स्थानीय



विमल विष्ट, डोटी ।
सुख्खायाम सुरु भएसँगै डोटीमा पानीको समस्या उत्पन्न भएको छ । पानीका मूलसुक्न थालेपछि डोटीका ग्रामिण बस्तिका स्थानीयबासीहरु खोलाको फोहर पानी पिउन बाध्य भएका छन् । सुख्खायाम लागेसँगै पानीका मुहान सुके पछि जिल्लाको शिखर नगरपालिका १ सेरीका स्थानीयबसी खोलाको फोहर पानी पिउन बाध्य छन् ।

सेरी जस्तै यहाका अन्य ग्रामीण बस्तीका स्थानीयबासीहरु पनि गाउमा पानीका मुहान सुकेपछि घण्टौ लामो दुरीबाट पानीको जोहो गर्न थालेका छन् । डोटी जिल्लाका विभिन्न बस्तीमा खानेपानीको समस्या आउन थालेपछि स्थानीयबासीहरु खोला, नाला, कुवाको फोहर पानी पिउन बाध्य बनेको दीपायलका स्थानीय भरत कामीले बताउनु भयो । उहाले भन्नु भयो ‘यसपालि हिउदमा पानी परेन खोलाका मुहान सुक्न थाली सके,पानी खान अब खोला,नाला र पुराना कुवाको भर पर्नु परेको छ ।’

जिल्लाको दीपायल,सिलगढी,सेरी,राजपुर,तिखा, कुमालीकोट लगायतका ठाउँमा खानेपानीको समस्या उत्पन्न भएको स्थानीयबासीहरु बताउछन् । गाउमा खानेपानीको समस्या आइपरेको र खोला,नालाको पानीको भरमा खानेपानीको गुजरा चलाइ रहेको शिखरनगरपालिका १ सेरीका स्थानीय धनीराम सार्किले बताउनुभयो ।

उहाँले भन्नु भयो ‘हाम्रा गाउम त दुई सय भन्दा बढी परिवार छन्, जो बिहानै उठ्नसक्यो उसैले धराको केही घैलो पानी पाउछ, जो उठ्न सकेन उस्ले खोलाको फोहर पानीले सबै काम चलाउनु पर्छ,हाम्रा दुःख को छ सुन्ने ।’ यो वडाको दलित बस्ती सेरी गाउमा सबैभन्दा बढी पानीको समस्या हुने गरेकोे स्थानीयबासी बताउछन् ।

घरको एकजनाले पानी भर्नमा नै दिन बिताउनुपर्ने भएकाले प्रायः बालबालिका पानी भर्नका लागि घरमा नै बस्ने गरेको स्थानीयवासी बताउछन् । खानेपानीका लागि बिहन ३÷४ बजे देखी लाइन बस्नुपर्ने बाध्यता रहेको स्थानीयवासी लक्ष्मी विकले बताउनुभयो । धेरैजसो बालबालिका विद्यालय नगएर पानी बोकिरहेको अवस्थामा भेटिन्छन् । पानीका लागि घण्टौं लाइनमा बस्नुपर्ने वा दुई तीन घण्टाको बाटो हिँडेर खोलाको पानी ल्याउनुपर्ने बाध्यता रहेको स्थानीयवासीको गुनसो छ ।

प्रतिक्रिया दिनुहोस्