भ्रमणको विकल्प



जेठीकोमा गयो भने कान्छी रिसाउने, कान्छीकोमा गयो भने जेठी रिसाउने यस्तै भएको छ अहिले हाम्रा पीएम ओलीलाई। दुवै छिमेकी मुलुकले ‘मेरोमा आऊ राम्रो स्वागत र सम्मान गर्छु’ भन्दै निम्तो दिएपछि उनलाई यस्तै भएको छ। यही महिनाको अन्त्यसम्ममा उनी भारत जाने कुरो चर्चामा रहेका बेला उत्तरतर्फबाट पनि निम्तो आएपछि उनी रनभुल्लमा पर्न थाल्या छन्।

चीनको बोआओमा एसियाका लागि बोआओ फोरममा अतिथिका रूपमा सहभागी हुन चीनले ओलीलाई निम्तो गर्या खबर छ। अप्रिल ८ देखि ११ सम्म सो फोरमको मिति तय भएको छ।
त्यही आसपासको समय पारेर भारतले ओलीलाई स्वागत गर्ने खबर एक पक्षीयरूपमा केही दिनअघि सार्वजनिक भएको छ। भारतले सल्लाह गरेर निम्तो पठाएको भए त ओलीलाई पनि अप्ठ्यारो पर्दैनथ्यो होला नि?

ओलीज्यूलाई यस्तो अप्ठ्यारो परेपछि समाधान कसरी निकाल्ने? अब तत्काल दुवै छिमेकी कहाँ नगएर, उपयुक्त समयमा आउँछु हैं ‘डन्टवरी’ भन्ने कि? कि दुवै छिमेकीलाई पत्तोसमेत नदिएर अस्ति पाकिस्तानी प्रधानमन्त्री नेपाल आएझैं खुसुक्क अर्कै मुलुकको भ्रमणमा पो निस्कने हो कि, पीएमज्यू? सर्प पनि मर्ने लठ्ठी पनि नभाँचिने भन्या यही हो। ओलीज्यूलाई धरहरा यही सुझाव दिन्छ। उहाँका सल्लाहकारहरूले पनि यस्तै सुझाव दिने कि?

प्रतिक्रिया दिनुहोस्