चैत १५ गते संसद्मा राष्ट्रपतिले राष्ट्रको नाममा सम्बोधन गर्ने



काठमाडौँ  ।  मन्त्रिपरिषद्को आजको बैठकले यही चैत १५ गते दिउँसो ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्मा सम्बोधन गर्ने कार्यक्रम तय गरेको छ । निर्वाचनपछि दुवै सदनलाई राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम तय भएको यो पहिलोपटक हो । आज बालुवाटारमा सम्पन्न बैठकपछि सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सो जानकारी दिएका हुन् ।   यसैगरी बैठकले प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा डा कुन्दन अर्याल र जनसम्पर्क सल्लाहकारमा अच्युत मैनालीलाई नियुक्त गरेको छ ।

 

राज्यमन्त्री बाँस्कोटाका अनुसार घर बहालमा दोहोरो कर नलगाउने रानीजमरा सिँचाइ आयोजनाको जग्गाको क्षतिपूर्ति व्यवस्थापन गर्ने, निर्वाचनका समयमा बम विष्फोटन र महिला हिंसाका घटनामा परी घाइते भएकाहरुको अस्पतालमा लागेको खर्च व्यहोर्ने निर्णय भएको छ । यसैगरी बैठकले संघीय संरचनाअनुसार प्रदेश सरकार, प्रदेशसभा र जिल्ला समन्वय समितिका संयोजकसम्मलाई कूटनीतिक राहदानी प्रयोगको व्यवस्था गर्ने, नेपाली सेनाका १३ जना महासेनानीको सेवा अवधि दुई वर्ष थप गर्नेलगायत निर्णय गरेको छ ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणका सम्बन्धमा सञ्चारकर्मीले जिज्ञासा राख्दा राज्यमन्त्री बाँस्कोटाले सो विषयले आजको मन्त्रिपरिषद् बैठकमा प्रवेश नपाएको प्रष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्