राजधानीको प्रदूषणप्रति ध्यानाकर्षण



काठमाडौं उपत्यका विश्वकै प्रदूषित शहरको रूपमा चिनिन थालेको छ । राजधानीलाई प्रदूषणमुक्त शहर बनाउने अभियानमा सरकारी निकाय र अन्य गैरसरकारी संस्था लागेको भए पनि यहाँको प्रदूषणमा कमी नभएर झन् बढी हुन थालेको छ । यसका कारण राजधानीमा बसोबास गर्नेहरूमा गम्भीर प्रकारका रोगको संक्रमणले च्याप्न थालेको छ ।

राजधानीलाई एकसय दिनमा कायापलट गर्ने नारा दिएर काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकामा विजय हासिल गरेका नेकपा एमाले र नेपाली कांग्रेसले अहिलेसम्म प्रदूष न्यून गर्न सिन्को पनि भाँच्न सकेको देखिँदैन । प्रदूषणका कुरा मात्र नभएर राजधानीका यावत् समस्या ज्यूँका त्यूँ नै छन् । जनता राहत होइन आहतको सिकार भएका छन् ।

दुवै महानगरपालिका जनतालाई प्रत्यक्षरूपमा प्रत्याभूति हुने खालका कुनै काम गर्न नसकेपछि आलोचनाको पात्र भएका छन् । काठमाडांंै महानगरपालिकाले बेला–बेलामा ल्याउने गरेको योेजनाले निरन्तरता नपाउँदा ल्याइएका कार्ययोजनासमेत अलपत्र परेका छन् । काठमाडौको सौन्दर्यलाई जीवन्त राख्ने भन्दै ल्याइएको योजना पनि बीचमा नै तुहिएको छ । काठमाडौं महानरपालिकाका मुख्य सडकमा रहेका आइल्यान्डलाई हरियाली बनाउने भन्दै करोडौं बजेट छुट्याएर काम गरेको भए पनि त्यसले निरन्तरता नपाउँदा ती आयोजना अलपत्र परेका छन् । ललितपुर महानगरपालिकाले समेत कागजमा ठूला–ठूला योजना बनाउने तर कार्यान्वयनमा नल्याउँदा ललितपुरको अवस्था पनि काठमाडौंको भन्दा फरक छैन । स्वदेशमा भन्दा पनि विदेश सयरमा रमाउने ललितपुर महानगरपालिकाका मेयरको क्रियाकलापबाट ललितपुरवासी वाक्क भएका समाचार पटक–पटक सार्वजनिक हुँदा पनि ललितपुरका मेयरले जनताको नाममा सम्बोधनसमेत नगर्नुले स्थानीय जनप्रतिनिधि पनि जनताप्रति उत्तरदायी छैनन् भन्दा अत्युक्ति नहोला ।

जनताभन्दा पार्टीका मान्छे भइरने नेपाली राजनीतिको यो विडम्बनाले मुलुकको विकासमा गम्भीर असर पारेको छ । अब पार्टीभन्दा पनि जनताको पक्षमा उभिन नसक्ने स्थानीय जनप्रतिनिधिलाई जनताले समयमा नै तह लगाउनुपर्दछ । योजना ल्याउने तर कार्यान्वयन र निरन्तरता नदिने प्रवृत्ति नेपालको विकासको बाधक बनेको यथार्थ छर्लंग नै छ । काठमाडौं महानगरपालिकाले राजधानीलाई हरियाली बनाउने भन्दै फेरि १६ हजार विभिन्न जातका बोटबिरुवा रोप्ने घोषणा गरेको छ ।

यो अभियानले निरन्तरता नपाउने हो भने यस्ता योजनाको कुनै अर्थ हुँदैन । राजधानीका सडकमा अहिलेसम्म लाखौं बिरुवा रोपियो होला तर त्यसको संरक्षण नहुँदा राजधानी कंक्रिटको शहरमा परिणत हुँदै गएको छ । यसतर्फ काठमाडौं महानरपालिको ध्यान जान जरुरी छ । बजेट विनियोजन गर्ने र कार्यान्वयनको नाममा बजेट सक्ने मेलो मात्रै गर्ने हो भने यसतर्फ जनताको पनि ध्यान जान जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्