नवविवाहित लक्षित पार्सल बमकाण्ड अझै सुल्झिएन



पुरी, (एजेन्सी)
भारतको पूर्वी राज्य ओडिसाको सानो शहर पटनागढमा उपहारजस्तै पठाइएको पार्सल बम विस्फोटको कारण झण्डै १ महिनाअघि नवविवाहित सफ्टवेयर इन्जिनियरको ज्यान गएको थियो भने उनकी पत्नी गम्भीर घाइते भएकी थिइन्। अझैसम्म प्रहरीले यो हत्याकाण्ड सुल्झाउन सकेको छैन।

२६ वर्षीय सौम्य सेखर साहु र २६ वर्षीया रिमाबीच विवाह भएको ५ दिनपछि २३ फेब्रुअरीको अपरान्ह तिनीहरू दुवै भान्छामा मिठो खान पकाउनमा व्यस्त रहेका थिए। त्यहिबेला घरको मुख्यद्वारको गेट खुलेको आवाज आयो। त्यहाँ एकजना डेलिभरी म्यान सौम्यको नाममा आएको एउटा पार्सल लिएर उभिएका थिए।

एउटा बाकसमा पोका पारी करिब २ सय ३० किमि टाढाको रायपुरबाट पठाइएको सो पार्सलमा एसके शर्मा लेखिएको थियो। रिमाले पतिले हरियो कागजमा सेतो धागो बेरिएको त्यो पार्सल खोल्दै गर्दा ८५ वर्षीय बज्यैसमेत हेर्न आएको सम्झिन्छिन्। सौम्यले ‘हेर्दा त विवाहको उपहारजस्तो देखिन्छ। तर पठाउने व्यक्ति भने चिन्दिनँ।’ भन्दै धागो तान्नासाथ झिलिक्क प्रकास फाल्दै ठूलो आवाजसहित विस्फोट भएको थियो। तिनैजना रगताम्य भएर भुइँमा ढले। फोक्सोमा धुवाँ छिरेका सौम्य बेहोस हुनुअघिसम्म आफूलाई बचाउन आग्रह गरिरहेका थिए। सो विस्फोटबाट भान्छाकोठा पनि नराम्ररी क्षतिग्रस्त भएको थियो।

रिमाको कानको जाली च्यातिन पुगेको थियो। ग्यास सिलिन्डर पड्क्यो भन्दै जम्मा भएका छिमेकीहरूले तिनीहरूलाई अस्पताल पुर्याए। नब्बे प्रतिशत शरीर जलेका सौम्यको अस्पतालमा मृत्यु भयो। रिमाको अवस्थामा सुधार भइरहेको छ। मिजासिलो र धर्मकर्ममा विश्वास राख्ने सौम्यलाई कसले मारे भन्ने पत्ता लागेको छैन। रिमाका पिता सुदाम चरण साहुले आफ्नी छोरी र ज्वाइँको कसैसंग कुनै रिसईबी नभएको दाबी गर्छन्।

सौम्यका मातापिता दुवै कलेजमा पढाउँछन्। उनले २ महिनाअघि मात्र बंैग्लोरको एउटा जापानी इलेक्ट्रोनिक्स कम्पनीमा जागिर खानुपहिले मैसुर र चण्डिगढका इन्फोटेक कम्पनीमा काम गर्ने गर्दथे। बैंग्लोरमा एकपटक सौम्यलाई रिमासंग विवाह नगर्न धम्की दिँदै एक अज्ञात व्यक्तिले फोन गरेका थिए। तर उनले त्यसलाई हल्का रूपमा लिएर भुलिसकेका थिए।

यस हत्याकाण्ड सम्बन्धमा दुई दर्जन अनुसन्धानकर्ताले सौम्य र रिमाका नातेदार साथीहरूलगायत आशंकित १ सय जनाभन्दा बढीलाई सोधपुछ गरिसकेका छन्। ती दुवै दम्पतीको मोबाइल र ल्यापटपमा समेत सुक्ष्म अनुसन्धान गरिसकेको छ। सो पार्सललाई कालाहान्दी जिल्लास्थित एउटा निजी कम्प्युटर इन्स्टिच्युटबाट अनलाइन ट्रयाकिंग भएको पत्ता लागेपछि अनुसन्धान सफल हुने लक्षण देखिएको थियो।

तर अन्त्यमा कुरियर आफैंले ट्र्याकिंग गरिरहेको पत्ता लाग्यो। प्रहरी नक्कली नाम र ठेगानाबाट ४ सय रुपियाँ तिरेर कसैले सो पार्सल पठाएको र चलाख हत्याराले सीसीटिभी नभएको कुरियर कम्पनी छानेको बताएका छन्। सो पार्सल ३ वटा बसबाट ६ सय ५० किमि यात्रा पार गर्दै ४ जना व्यक्तिको हात हुँदै २० फेबु्रअरीमा पटनागढ पुगेको थियो।

डेलिभर म्यानले सोही दिन पार्सल लिएर सौम्यको घर पुगेका थिए। तर त्यहाँ विवाह भोज चलिरहेकाले त्यसै फर्केका उनले ३ दिनपछि आएर पार्सल बुझाएका थिए। प्रहरी अझै हत्यारासम्म पुग्ने कोशिस गर्दै छ। केही दिनअघि मात्र रिमाले आफ्नो पति मरेको थाहा पाएकी छिन्। उनी पहिल्यै सौम्यको मृत्युको खबर नदिइएको भन्दै परिवारसँग रिसाइरहेकी छिन्।

प्रतिक्रिया दिनुहोस्