भर्नाको चटारो



ईश्वरराज ढकाल,
द्यालयका सञ्चालकहरू विद्यालय सिँगार्न व्यस्त छन्। कतिपय विद्यालयले नयाँ भर्ना खोलेको विज्ञापन शुरू गरिसकेका छन्। नर्सरीदेखि कक्षा ९ सम्मका विद्यालयमा भर्ना शुरू गर्ने सिजन शुरू भएसँगै विद्यालय सञ्चालकहरूलाई भ्याई नभ्याई छ। मानो छरेर मुरी फलाउने कृषकको नाराजस्तै निजी विद्यालय सञ्चालकहरू विद्यार्थीलाई आफ्नो विद्यालयमा प्रवेश गराएर मुरी फलाउने योजना बनाइरहेका छन्।

भर्ना योजना बनाइरहेका ठूला विद्यालयका सञ्चालकलाई अहिले बोल्ने फुर्सद छैन। निजी विद्यालयको छाता संगठन प्याब्सनका वरिष्ठ उपाध्यक्ष डीके ढुंगानाले भर्नाको सिजन शुरू भएको बताउँदै भर्ना योजनाको तयारी गरिरहेको जानकारी दिनुभयो।

केही ठूला विद्यालयको मनपरीका कारण साना विद्यालय मर्कामा पर्न थालेका छन्, यस विषयमा सरकारले ध्यान दिनुपर्छ। अनुगमन गर्ने निकाय मौन बस्दा पनि समस्या आएको छ।

सामुदायिक विद्यालयमा त अहिले त्यतिको चहल पहल बढेको छैन। तर सबै निजी विद्यालयमा भर्ना गराउन अभिभावकको घुइँचो लाग्न थालेको छ। नेपालका ठूला विद्यालयमा विद्यार्थीको चाप थेगिनसक्नु छ। ठूला कहलिएका सेन्ट जेभियर्स, जेम्स, लिटल एन्जल्स, युनाइटेड, प्रिमियर, पाठशाला, डीएभीलगायतका विद्यालयले सूचना प्रकाशित गरी प्रवेशिका परीक्षाको मिति तय गरिसकेका छन्। विगतको तुलनामा अहिले भर्ना प्रक्रिया भद्रगोल छ।

कुन विद्यालयले कति शुल्क असुलीरहेका छन् कसैलाई पत्तै छैन। स्थानीय तहमा माध्यमिक तहसम्मको शिक्षा हस्तान्तरण भइसकेपछि सरकारले अनुगमन गर्न छाडिसकेको छ। कति शुल्क लिने, बढाउन पाइने कि नपाइने? लगायतका विषय अनुगमनको जिम्मा स्थानीय निकायको भए पनि ती निकाय चुप लागेर बसेका छन्।

भर्नाको चटारो भन्दा पनि कक्षा १ को लागि परीक्षा लिने व्यवस्था खारेज गर्नुपर्ने तर्क राख्दै अभिभावक संघ नेपालका पूर्वअध्यक्ष शुप्रभात भण्डारीले निजीभन्दा पनि सरकारी विद्यालयमा विद्यार्थी संख्या बढाउनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो– ‘केही ठूला विद्यालयको मनपरीका कारण साना विद्यालय मर्कामा पर्न थालेका छन्, यस विषयमा सरकारले ध्यान दिनुपर्छ।’ अनुगमन गर्ने निकाय मौन बस्दा पनि समस्या आएको उहाँको धारणा छ। एकातिर स्थानीय निकाय चुप लागेका छन् भने अर्कोतिर केही ठूला विद्यालयले मनपरी गरिरहेका छन्।

भर्नामा सबैभन्दा बढी चलखेल हुने उपत्यकाका ठूला विद्यालयले मनपरी गर्दा पनि स्थानीय सरकार बोल्न सकेको छैन। काठमाडौं महानगरका शिक्षा उपसचिव प्रह्लाद अर्यालले मनपरीरूपमा भर्ना गर्नेमाथि कारबाही गरिने चेतावनी दिनुभयो। अनुगमन गर्ने भन्ने विषयमा उहाँले भन्नुभयो– ‘तोकेको समयमा हामी अनुगमन गर्नेछौं।’ भर्नाको चटारो त ठूला विद्यालयलाई मात्रै छ, ठूला विद्यालयमा भर्ना सकिएपछि मात्रै साना तथा मझौला विद्यालयमा घुइँचो लाग्ने परम्परा रहेको छ।

प्याब्सनका महासचिव राजेन्द्र बानियाले भर्नाको चटारो त सानालाई भन्दा ठूलालाई भएको बताउनुभयो। हामीलाई सानो विज्ञापन नहाल भन्ने सरकारी निकायले भारतीय र केही ठूला विद्यालयले मनपरीरूपमा विज्ञापन गरेर भर्ना गर्दा पनि सम्बन्धित निकाय मुकदर्शक भइरहेको आरोप लगाउनुभयो। उहाँले भन्नुभयो– ‘हाम्रा जस्तो साना विद्यालयमा अहिले नै भर्ना गर्ने चटारो छैन।

ठूला विद्यालयमा भर्ना सकिएपछि मात्रै हाम्रा विद्यालयमा भर्ना हुन आउँछन्।’ अहिले भर्ना गर्ने तौर तरिका फरक भइसकेको बताउँदै उहाँले विद्यालयमा अध्ययनरत विद्यार्थीको परफरमेन्सको आधारमा नयाँ विद्यार्थी भर्ना हुने बताउनुभयो। ‘हामी अभिभावकलाई बोलाउँछौ, कक्षाकोठा भिजिट गराउँछौ, विद्यार्थीले गरेका प्रगतिको कुराकानी गर्नेछौं अनिमात्रै भर्नाको विषयमा कुरा गर्नेछांै’ –उहाँले भन्नुभयो। तालिमप्राप्त शिक्षक भए विद्यालयमा सुधार हुने र विद्यार्थीको घुइँचो लाग्ने बताउँदै उहाँले भन्नुभयो– ‘त्यही भएर हामीले शिक्षकलाई तालिम दिन थालेका छांै।’

देशभर सञ्चालित करिब सयको हाराहारीमा रहेका ठूला विद्यालयमा मात्रै विद्यार्थीको घुइँचो लाग्ने गरेको छ। अधिकांश ठूला विद्यालयले सञ्चार माध्यममा विज्ञापन दिएर भर्नाको सूचना गरेका छन्। कतिपयले आफ्नै विद्यालयको सवारीसाधनमा भर्नाको सूचना गरिरहेका छन्। सरकारी विद्यालयले भने वैशाख १ गतेदेखि भर्ना अभियान सञ्चालन गर्नेछन्।

भर्ना हुन आएका विद्यार्थीलाई नयाँ किताबसँगै भर्ना गराउनेछन्। केही नाम चलेका सरकारी विद्यालयबाहेक अन्यमा विद्यार्थीको भर्ना संख्या अति न्यून रहेको पाइन्छ। सरकारीले जतिसुकै राम्रो योजना बनाए पनि निजीको तुलनामा सरकारी विद्यालयमा विद्यार्थी भर्ना संख्या अत्यन्तै न्यून हुन्छ।

सरकारी कमजोरीकै कारण सरकारीमा भन्दा निजी विद्यालयमा विद्यार्थीको संख्या बढ्दै गएको अभिभावक संघ नेपालका पूर्वअध्यक्ष भण्डारीको भनाइ छ। ‘सरकारी विद्यालय राम्रो भए निजीमा भर्ना हुने विद्यार्थीको संख्या कम हुन्छ होइन र?’ –उहाँले भन्नुभयो।

 

प्रतिक्रिया दिनुहोस्