एनसीसी बैंकको वित्तीय अवस्था धरापमा



नेपाल समाचारपत्र
काठमाडौं,
डेढ अर्ब रुपियाँभन्दा बढी ऋण घोटालामा मुछिएको नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकको वित्तीय अवस्था धरापमा परेको छ। बैंकको वित्तीय विवरण सार्वजनिक गर्दा नाफा देखाइए पनि वास्तविक स्थितिमा भने बैंक नोक्सानमा गएको तथ्यांकले देखाएको छ। पछिल्लो वित्तीय विवरणमा बैंक नाफामा गएको देखिए पनि बैंकले पुरानो खराब कर्जा ३४ करोड ६९ लाख रुपियाँ उठाएका कारण नाफामा देखिएको हो। तर, बैंकको वास्तविक अवस्था भने नोक्सानमा रहेको जानकारहरू बताएका छन्।

बैंकको नाफा गत आवको दोस्रो त्रैमासमा भन्दा ३ सय ५६ दशमलव ७४ प्रतिशतले बढेर ३५ करोड ४५ लाख रुपियाँ पुगेको छ। सामान्य अवस्थामा नाफालाई प्राथमिकतामा राखेर हेर्दा बैंकले रामो प्रगति गरेको जस्तो देखिन्छ। तर, खराब कर्जा उठाएकालाई नाफा भन्न नमिल्ने उल्लेख गर्दै यो तथ्यांकले बैंक नोक्सानमा परेको उनीहरूको दाबी छ।

त्यस्तै बैंकले दोस्रो त्रैमासमा वित्तीय संस्थाको प्रमुख स्रोत खुद ब्याज आम्दानी पनि ४३ प्रतिशतभन्दा बढीले घटेर ५ करोड ८७ लाख रुपियाँ आर्जन गरेको छ। गत आवको दोस्रो त्रैमासमा खुद ब्याज आम्दानी १० करोड रुपियाँभन्दा बढी रहेको थियो।

जोखिम व्यवस्थापन कोषमा पनि ६ महिनाको अवधिमा १४ करोड ८२ लाख रुपियाँ छुट्याएको छ। जुन गत आवको दोस्रो त्रैमासमा ६ करोड ५३ लाख रुपियाँ मात्र रहेको थियो। साथै बैंकको कोषको लागत ८ दशमलव १९ प्रतिशत र आधारदर ११ दशमलव ४५ प्रतिशत छ। सीडी रेसियो ७६ दशमलव ४८ प्रतिशत छ। जोखिम व्यवथापन कोषमा छुट्याउनुपर्ने रकम पनि दुई गुणाले बढेर अहिले निस्क्रिय कर्जा चार प्रतिशतभन्दा बढी रहेको छ।

बैंकिङ समूहमा सबैभन्दा बढी निस्क्रिय कर्जा भएको बैंकमध्ये एनसीसी बैंक अग्रस्थानमा आउँछ। उल्लेखित विवरण एनसीसी बैंकको वित्तीय स्वास्थ्य जोखिममा रहेको प्रमाणित गर्छ।चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको वित्तीय अवस्था हेर्दा एनसीसी बैंक अन्य वाणिज्य बैंकको तुलनामा निकै कमजोर देखिएको छ।

दोस्रो त्रैमासिकसम्म चुक्ता पूँजीका आधारमा एनसीसी बैंक पुछारमा छ। जोखिमयुक्त सम्पत्ति, सञ्चालन मुनाफा र खुद ब्याज आम्दानीका आधारमा बैंक २७औं स्थानमा छ। खुद मुनाफाको आधारमा बैंक २५औं स्थानमा, प्रतिशेयर आम्दानीका आधारमा २४औं स्थानमा, सम्पत्तिको आधारमा २२औं स्थानमा छ। निक्षेप र कर्जाको आधारमा बैंकको स्थिति २१औं स्थानमा छ। जगेडा कोष, नेटवर्थ र निस्क्रिय कर्जाका आधारमा पनि बैंकको अवस्था नाजुक छ।

बैंकको शेयर मूल्य पनि पछिल्लो तीन वर्षयताकै न्यून विन्दुमा आएको छ। अघिल्लो साताको अन्तिम कारोबारमा बैंकको प्रतिकित्ता शेयर मूल्य २ सय ५३ रुपियाँ रहेको छ। बैंकले हरेक वर्ष सञ्चित कोषमा ठूलो रकम जम्मा गर्न थालेपछि त्यसको असर नाफामा परेको छ।

आर्थिक वर्ष २०७२÷७३ मा १ अर्ब २८ करोड रुपियाँ रहेको जगेडा कोष चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्ममा करिब ३ अर्ब रुपियाँ पुर्याइएको छ। वित्तीयरूपमा अस्वस्थ रहेका ४ वटा विकास बैंक (इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक र इन्टरनेसनल डेभलपमेन्ट बैंक) एनसीसीसँग गाभिएपछि यस बैंकलाई थप समस्या परेको देखिन्छ।

चालू आवको दोस्रो त्रैमाससम्म बैंकले कुनै बोनस तथा हकप्रद शेयर नदिएकाले चुक्ता पूँजीमा ४ अर्ब ६७ करोड रुपियाँ छ। जसले गर्दा बैंकले केन्द्रीय बैंकले तोकेबमोजिमको ८ अर्ब रुपियाँ चुक्ता पूँजीसमेत पुर्याउन नसक्ने स्थिति देखा परेको छ।

बैंकमा बढ्दै गएको खराब कर्जा र घोटालाका कारण बैंकमा लगानीकर्ताको नाफामा गिरावट आउनुका साथै निक्षेपकर्ताका निक्षेप पनि जोखिममा पर्ने खतरामा पर्ने देखिएको छ। मर्जरपछि बैंकमा घट्दै गएको खुद नाफा, सञ्चालन नाफा, खराब कर्जा, कर्मचारी खर्च तथा निक्षेप संकलन तथा पछिल्लो समय देखिएको डेढ अर्ब रुपियाँ घोटाला काण्डले यसको वित्तीय अवस्था कमजोर बन्दै गएको छ।

कमसल धितो मूल्यांकन भएका कारण ऋण रकम असुली गर्न कठिन रहेको राष्ट्र बैंकले जनाएको छ। पाखो जमिन, खोलाछेउको बगरजस्तो जग्गा धितो राखेको तथा अधिकांश ऋणी नै नक्कली तयार पारिएका कारण प्रवाह भएको कर्जाबराबरको रकम असुल्न नसकिने देखिन्छ। एनसीसी बैंक चलाउने पदाधिकारीको बद्नियतका कारणले समस्या देखिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलको भनाइ छ। विगतमा पनि वित्तीय अवस्थामा कमजोर देखिएपछि एनसीसी बैंकलाई राष्ट्र बैंकले टेकओभर गरेको थियो। वित्तीय अवस्था सुधार भएको भनिए पनि सुधार भएको देखिँदैन, एकपछि अर्को गर्दै विभिन्न प्रकरणमा मुछिएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ घोटाला काण्डमा एनसीसी बैंकका सञ्चालकसहित डेढ दर्जन उच्च तहका कर्मचारीलाई पक्राउ गरेको दिन एनसीसी बैंकको सञ्चालक समितिले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाललाई भेटेका थिए।

सञ्चालक समितिले एनसीसीको पूँजी वृद्धिका लागि बैंककै केही संस्थानपकले मुद्दा दायर गरेका कारण कानुनी अड्चन आएको भन्दै उक्त विषयमा राष्ट्र बैंकले के गर्न सक्छ भनेर छलफल भएको थियो। एपेक्सको विषय एनसीसीका सञ्चालकहरूले उठाउन खोजे पनि अनुसन्धानको प्रक्रिया प्रभावित हुनसक्ने भन्दै राष्ट्र बैंकका पदाधिकारीहरू विषय प्रवेश हुनबाट पन्छिएको स्रोतको भनाइ छ। एनबी समूहले हकप्रद शेयरमध्येको अग्रिम रकम दाखिला गर्न नसकेपछि बैंकले पूँजी वृद्धिको योजना अलपत्र परेको छ।

चालू आर्थिक वर्षको ८ महिना बितिसक्दा पनि एनसीसी बैंकको वार्षिक साधारणसभा हुन सकेको छैन। बैंकले समयमा साधारण सभा नगर्दा शेयर लगानीकर्ताहरूमा पनि अन्योलता देखिन्छ भने लगानीकर्ता लाभांशबाट वञ्चित भएका छन्। नियमक निकायका रूपमा रहेको नेपाल राष्ट्र बैंकले पनि यस विषयमा पहल गर्न सकेको देखिँदैन।

प्रतिक्रिया दिनुहोस्