१६ हजार बिरुवाले हरियाली बनाइँदै राजधानी



ईश्वरराज ढकाल, काठमाडौं

काठमाडौं महानगरपालिकाले महानगरको सौन्दर्य कायम गर्न महानगरक्षेत्रका मुख्य सडकमार्गमा वृक्षरोपण गर्ने भएको छ।

वनस्पति विभाग, वन कार्यालय र फ्लोरिकल्चर एसोसियसनको सहयोगमा १५ वटा सडकमार्गमा १५ हजार ६ सय ७६ वटा वृक्षरोपण गर्न लागिएको हो। कामपा वातावरण विभागका प्रमुख हरि कुँवरले महानगर क्षेत्रको ४७ किलोमिटर क्षेत्रमा वृक्षरोपण गर्न लागिएको जानकारी दिनुभयो।

उहाँले पहिचान भएको रुटमा असारदेखि वृक्षरोपण गरिने जानकारी दिनुभयो। ती क्षेत्रमा गोल्डेन धूपी, चेरी, टुपडिनथस, जङ्गोबाइलोबा, पैयुँ, चाँप, कोइरालो, टाँकी, मयूरपङ्खी धूपी, राजवृक्ष, करबिर, आकाश नियान लोटिका, पारिजात, स्वामी, लेकपाङरा, कल्की, जामुनलगायत दुई दर्जन प्रजातिका वृक्षरोपण गरिनेछ। विभागका आर्किटेक्ट इन्जिनियर प्रमिला पराजुलीले राजधानीको सौन्दर्य कायम गर्न वृक्षरोपण गर्न लागेको जानकारी दिँदै भन्नुभयो– ‘सबै निकायको सहयोगमा राजधानीलाई हरियाली बनाउन वृक्षरोपण गर्न खोजिएको हो।’

पहिलो रुटअन्तर्गत कलंकी–टेकु, त्रिपुरेश्वर, थापाथली, माइतीघर, दोस्रो रुटअन्तर्गत थापाथलीदेखि माइतीघर, पुतलीसडक, कमलादी–जयनेपाल हल, तेस्रो रुटअन्तर्गत कृष्ण पाउरोटी, ज्ञानेश्वर र गौशालामा वृक्षरोपण गरिनेछ। चौथो रुटअन्तर्गत पुतलीसडक–सिनामंगल–रिङरोड, पाँचौं रुटअन्तर्गत शंखमूल पुल–नयाँ बानेश्वर–पुरानो बानेश्वर, छैंठौं रुटअन्तर्गत माइतीघर मण्डला–तीनकुने–रिङरोडमा वृक्षरोपण गरिनेछ।

सातौं रुटअन्तर्गत त्रिपुरेश्वर–जमल, लाजिम्पाट, नारायणगोपाल चोक–न्युरो अस्पताल, आठौं रुटअन्तर्गत जयनेपाल हल–नागपोखरी, टंगाल–बालुवाटार–राष्ट्रपति भवन, नवौं रुटअन्तर्गत लैनचौर–सोह्रखुट्टे–बालाजु, रिङरोड, दशौं रुटअन्तर्गत टेकुपुलको विष्णुमती लिङ्करोड–डल्लु–खसिबुँ सोह्रखुट्टे र एघारौं रुटअन्तर्गत लैनचौर हुँदै गोंगबु रिङरोडमा बिरुवा रोपिनेछ।

यस्तै बाह्रौं रुटअन्तर्गत चाबहिलचोक–जोरपाटी–बागमती पुल, तेह्रौं रुटअन्तर्गत बल्खु–कालिमाटीचोक, चौधौं रुटअन्तर्गत जडिबुटीचोक–पुरानो सिनामंगल–मनोहरा पुल र पन्ध्रौं रुटअन्तर्गत पुरानो सिनामंगलचोक–खहरेचोक–बागमती नदीसम्म वृक्षरोपण गरिने कामनपाले जनाएको छ।
वातावरण विभाग प्रमुख कुँवरले वृक्षरोपणसँगै सबै बिरुवा संरक्षण गर्न नयाँ योजना तयारी गरेको बताउनुभयो। मेलम्ची खानपानीको पाइप बिच्छ्याउने काम सकेलगत्तै सडकपेटीमा वृक्षरोपण कार्य शुरू गरिनेछ।

मेयर विद्यासुन्दर शाक्यले शहरी सौन्दर्य सबै सरोकारवाला निकायको सहयोगमा वृक्षरोपण गर्न लागिएको पुष्टि गर्नुभयो। बिरुवाको टेन्डरका लागि प्रक्रिया शुरू भएको विभागीय प्रमुख कुँवरले जानकारी दिनुभयो।

गोल्डेन धूपी, चेरी, टुपडिनथस, जङ्गोबाइलोबा, पैयुँ, चाँप, कोइरालो, टाँकी, मयूरपङ्खी धूपी, राजवृक्ष, करबिर, आकाश नियान लोटिका, पारिजात, स्वामी, लेकपाङ्रा, कल्की, जामुनलगायत दुई दर्जन प्रजातिका वृक्षरोपण गरिनेछ।

प्रतिक्रिया दिनुहोस्