प्रमको भ्रमणअघि नै एकता प्रयास



नेपाल समाचारपत्र
काठमाडौं

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणअघि नै पार्टी एकता गर्ने निर्णय गरेको छ। एकताको आधार तयार गर्न गठित कार्यदलले ७५ प्रतिशत काम सम्पन्न भइसकेको निष्कर्ष निकाल्दै तत्काल एकता गर्ने निर्णय गरेको हो।

माओवादीले पार्टी एकता समायोजन समितिको बैठक बस्नुअघि नै चैत १५ गते सचिवालयको बैठक बसेर सांगठनिक विषयमा टुंगो लगाउने निर्णय गरेको प्रदेश नम्बर ५ का इन्चार्ज मणि थापाले बताउनुभयो।

शनिबार बसेको केन्द्रीय कार्यालयको बैठकले एकता प्रक्रिया अगाडि बढाउने विषयमा कार्यदलमा सहभागी नेताहरूले अहिलेसम्मको कामको प्रगतिका बारेमा बैठकलाई जानकारी गराएका थिए।

एकता प्रक्रिया अगाडि बढाउन कार्यदलमा दुवै पार्टीका संगठित सदस्यका बारेमा तथ्यांकगत रूपमा छलफल भए पनि माओवादीले आफ्ना संगठित सदस्य कति छन् भन्नेबारे स्पष्ट जवाफ दिन नसकेको बताइएको छ। माओवादीका एक नेताले भने– ‘संगठित सदस्य कति छन्, अहिलेसम्म अन्योल नै छ, सचिवालयको बैठकले के कति हो मोटामोटी टुंगो लगाउँछ।’

इन्चार्जको हेरफेर

माओवादीको बैठकले प्रदेश इन्चार्जहरूको जिम्मेवारी हेरफेर गरेको छ। प्रदेशका इन्चार्ज सरकारमा सहभागी भएपछि उक्त प्रदेशमा नयाँ इन्चार्ज तोकिएको हो। मन्त्रीहरूलाई दोहोरो जिम्मेवारी नदिने निर्णय भएको छ। सरकारमा सहभागी नेताहरू मातृकाप्रसाद यादव, वर्षमान पुन, शक्ति बस्नेत र देव गुरुङलाई इन्चार्जबाट हटाइएको छ। यादव २, गुरुङ ४ पुन ५, बस्नेत प्रदेश ६ का इन्चार्ज हुनुहुन्थ्यो।

प्रदेश १ का इन्चार्ज गोपाल किराती कारबाहीमा पर्नुभएको छ। प्रदेश नम्बर १ मा राम कार्कीलाई इन्चार्जको जिम्मेवारी दिइएको छ। बैठकले २ मा विश्वनाथ साह, ४ मा हितराज पाण्डे, ५ मा मणि थापा र ६ मा जनार्दन शर्मालाई इन्चार्ज तोकेको छ। प्रदेश ३ मा हितमान शाक्य र प्रदेश ७ मा लेखराज भट्टकै इन्चार्जसीप रहेको नेता थापाले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्