बेनी–जोमसोम–कोरला सडकखण्डको बेलीव्रिज जीर्ण



म्याग्दी । बेनी–जोमसोम–कोरला सडकखण्ड अन्र्तरगत बेनी नगरपालिका–९ गलेश्वरमा राहुघाट नदी माथि बनेको बेलिब्रिज मर्मत सम्भारको अभावमा जीर्ण बनेको महिनौ वितिसक्दासमेत सम्बन्धित निकायले चासो देखाएका छैनन् ।

दैनिक दर्जनौ साना तथा ठुला सवारीसाधन आवतजावत गर्ने राहुघाट नदीमा बनेको पुलको अधिकांस भागमा प्वाल परेपनि मर्मतमा ध्यान पुग्न सकेको छैन् । उत्तर–दक्षिण अन्तरदेशीय ब्यापारिक महत्वको सडक आयोजनाको धमाधम स्तरोन्नति भइरहेको अवस्थामा निर्माण साम्रगी, डोजर लगाएत हेभी मेसिनसमेत आवतजावत गर्ने पुलमा कुनैपनि बेला दुर्घटना हुन सक्ने सम्भावना रहेको स्थानीयबासीको भनाइ छ ।

पुलको बीच भाग र दायाँबायाँको भागमा प्वाल परेको छ । जीर्ण पुलको मर्मतका लागि सडक विभाग, बेनी–जोमसोम–कोरला सडक आयोजनालाई जानकारी गराउँदासमेत मर्मत नभएको स्थानीयले बताएका छन् ।

‘दुर्घटनाको सम्भावना अधिक छ । पुलका पातासमेत छियाछिया हुनलागेको छ, स्थानीय भरत रकालले भन्नुभयो । पुलमा दुर्घटना भए राहुघाट नदीमा खस्ने सम्भावना रहेकाले मर्मत गर्न माग गरिएको छ ।

पुलमा परेको प्वालमा ठूला सवारी साधनका चक्काले क्षति पुगेको छ । मोटरसाइकलसहितका दुइपाङ्ग्रे सवारीसाधनलाई आवतजावतमा निकै सास्ती हुने गरेको छ ।

नेपाली सेनाले २०६४ सालमा सो पुल निर्माण गरेको थियो । बेनी –जोमसोम– कोरला सडक अन्र्तरगत १८६ किलोमिटरमा ११ मिटर फराकिलो दुई लेनको कालोपत्रे सडकमा रहेका पुराना बेलीबिज्र विस्थापित गरिने आयोजना प्रमुख नगेन्द्र सुबेदीले बताउनुभयो ।

‘जीर्ण पुललाई सामान्य मर्मत गरिन्छ । केही महिनाभित्र पक्की पुलको निर्माणकार्य सुरु हुन्छ’ उहाँले भन्नुभयो । बेनीदेखि जोमसोमसम्म तत्कालिन समयमा सेनाले बनाएका बेलीब्रिज जीर्ण अवस्थामा रहेको आयोजनालाई समेत जानकारी रहेको उहाँको भनाइ छ ।

छिमेकी देश भारत र चीनलाई जोड्ने सडकखण्डको अनुगमनका क्रममा पुलको तत्काल मर्मत आवश्यक देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्