द्वन्द्वपीडितको गाउँपालिका स्तरीय सञ्जाल गठन



धनवीर दाहाल, रुकुम । रुकुम पश्चिममा द्वन्द्वपीडितहरुको गाउँपालिका स्तरीय सञ्जाल गठन भएको छ । द्वन्द्वपीडितका पक्षमा वकालत गर्न र गाउँपालिका स्तरमा द्वन्द्वपीडितको समस्या पहिचान गरी सरोकारवाला निकायबाट सहयोग प्राप्त गरी विभिन्न गतिविधि सञ्चालन गर्ने उद्देश्यले उक्त सञ्जाल गठन गरिएको हो । सोही क्रममा जिल्लाको त्रिबेणीगाँउपालिकामा गाँउपालिका स्तरको संजाल गठन भएको हो ।

हरप्लेस रुकुमबाट सञ्चालित संक्रमणकालीन न्याय र शानित प्रवद्र्धनका लागि स्थानीय क्षमता विकास परियोजना अन्तर्गत साविक रुँघा, खारा, मुरु र पेउघा गाविसमा गठन गरिएका संक्रमणकालीन न्याय तथा शान्ति मञ्चमा सदस्यहरु मध्येबाट छनोट गरिएका १३ जना द्वन्द्वपीडितहरुको सहभागितामा उक्त सञ्जाल गठन गरिएको छ । रुँघाका ओमप्रकाश बोहराको अध्यक्षतामा गठन गरिएको सञ्जालको उपाध्यक्षमा पेउघाका निर्मलकुमार चन्द, सचिवमा पेउघाकै शेरमान खड्का, सहसचिवमा खाराका सुरशा खत्री र कोषाध्यक्ष मुरुका पूर्णबहादुर खड्का रहनुभएको छ ।

यद्यपि साविक गाविस अनुसारका मञ्च पनि हरप्लेसको परियोजना अवधिसम्म कायमै रहने र बैठक पनि नियमित हुने बताईएको छ । सञ्जालको नियमित बैठक बसेर गाउँपालिका लगायत अन्य सहयोगी निकायसँग सहकार्य गरेर पीडितका पक्षमा विभिन्न गतिविधि सञ्चालन गरिने सञ्जालका अध्यक्ष ओमप्रकाश बोहराले बताए । सबै काम नयाँ संरचना अनुसार भईरहेको अवस्थामा द्वन्द्वपीडितका सवालमा भने साविक गाविस भन्दा असहज हुने भएकोले साविकका सबै गाविसबाट प्रतिनिधित्व हुने गरी गाउँपालिका स्तरीय सञ्जाल बनाईएको उनको भनाई छ ।

यस्तै दीगो विकास र सुशासनका लागि सरोकारवालाहरुको भूमिकाका विषयमा शुक्रबार त्रिवेणी गाउँपालिका रुकुम पश्चिममा अन्तक्र्रिया कार्यक्रम सञ्चालन गरिएको छ । विकासका हरेक गतिविधिमा सुशासन कायम गर्दै दीगो पना कायम गर्नका लागि मानवअधिकार संरक्षण तथा कानूनी सेवा केन्द्र हरप्लेस रुकुमले उक्त अन्तक्र्रिया आयोजना गरेको हो । अन्तक्र्रियापछि त्रिवेणी गाउँपालिकाको नियमित सार्वजनिक सुनुवाई गर्ने, गाउँपालिका सुशासन समिति निर्माण गरी तेस्रो पक्षीय अनुगमन प्रणालीको विकास लगायतका सुशासन सम्बन्धी गतिविधि सञ्चालन गर्ने, विनियोजित बजेट सहित बार्षिक कार्यक्रम गाउँपालिका सबै वडाहरुबाट सार्वजनिक गर्ने लगायतका निर्णय गरिएको छ ।

स्थानीय तहको पुनर्संरचनासँगै गाउँपालिकामा सबै अधिकार प्राप्त भएकोले गाउँपालिकाका हरेक गतिविधिमा सुशासन कायम गर्दै दीगो विकास मार्फत समृद्धितर्फ अग्रसर हुने अवसर प्राप्त भएको सहभागीले बताएका छन् । गाउँपालिकाले सञ्चालन गर्ने कार्यक्रमहरुमा पारदर्शिता, जवाफदेहिता र गुणस्तरीयता कायम हुनुपर्नेमा समेत सहभागीहरुले जोड दिएका छन् । सुशासन भएमा मात्र विकासले गति लिने भन्दै त्यसका लागि योजना बनाएर लाग्नुपर्ने उनीहरुको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्