फिफालाई एन्फाको पत्र



काठमाडौं, (नेस)
अखिल नेपाल फुटबल संघ (एन्फा) को आसन्न चुनाव चैत १४ गते नै गर्न विश्व फुटबलको सर्वोच्च निकाय फिफाले एन्फालाई आग्रह गरेको छ। सो मितिमा चुनाव आयोजना गर्न अवरोध भएको भन्दै एन्फाले फिफालाई पत्र हिजै पठाएको नेपाल समाचारपत्रलाई जानकारी गरायो। एन्फाका सञ्जीव मिश्रले बताए– ‘फिफाले सोही मितिमा गरे राम्रो हुने भनेको हो। तर हामीले फिफालाई चुनाव गर्न समस्या रहेको भन्दै पत्र पठाएका छौं।’

भक्तपुर र मकवानपुर जिल्ला फुटबल संघले बिहीबार ललितपुर उच्च अदालतमा एन्फालाई मुद्दा राखेपछि एन्फा चुनावमा असर परेको हो। अदालतले दुबै पक्षलाई उपस्थित हुन १५ दिनको समय दिएपछि चुनाव स्थगित हुने अवस्थामा पुगेको छ।मिश्रले चुनाव हुने सम्भावना रहेको भन्दै बताए– ‘मुख्य कुरो मकवानपुर र भक्तपुर जिल्ला फुटबल संघले मुद्दा फिर्ता लिएमा भनेको मितिमा चुनाव गराउन सकिन्छ। अर्को विकल्प भनेको यी २ जिल्लामा चुनाव गराइदिने हो।

मकवानपुरमा चुनाव गराउन त्यति गाह्रो पनि छैन। आइतबारसम्म त्यहाँ चुनाव गराउन सकिन्छ।’ उनले थपे– ‘भक्तपुरको सन्दर्भमा पहिले त्यही जिल्लाको अदालतमा रहेको मुद्दा असन्तुष्ट पक्षले फिर्ता लिनुपर्यो। यसका लागि एन्फाले पहल गरिरहेको छ। यदि मिलेमा त्यहाँ सोमबार चुनाव गराएर बुधबार एन्फाको चुनाव पनि सम्पन्न गर्न सकिन्छ।’

प्रतिक्रिया दिनुहोस्