रसियामाथि तालिवानलाई हतियार दिएको आरोप



कावुल, (एजेन्सी)
अफगानिस्तानस्थित अमेरिकी सशस्त्र फौज प्रमुखले शुक्रबार रसियाले कट्टरपन्थी इस्लामिक लडाकू समूह तालिवानलाई हतियार आपूर्ति गर्दै सहयोग पुर्याइरहेको बीबीसीलाई बताएका छन्।

बीबीसीलाई अन्तर्वार्ता दिने क्रममा जनरल जोहन निकोल्सनले भनेका छन्– ‘मैले रुसीहरूको अवैध गतिविधि देखेको छु। रुसी हतियारहरू ताजिकिस्तानको सिमा हुँदै तालिवानहरूलाई तस्करी हुने गरेको छ। तर ती हतियारको यकिन परिमाण भने थाहा हुन सकेको छैन।’

विगतमा रसियाले अमेरिकाका यस्ता आरोपहरू अस्वीकार गर्ने गरेको थियो। रसियाले यस्ता आरोपलाई प्रमाण र आधारहीनको संज्ञा दिने गरेको छ। तर अहिले रसियाको उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) सँग संवेदनशील अवस्थामा रहेकोबला पुनः अमेरिकी पक्षबाट यस्तो आरोप लगाइन थालेको हो।

बेलायतमा रुसी पूर्वगुप्तचर स्क्रिपल र उनकी पुत्री युलियामाथि भएको नर्भ एजेन्ट आक्रमणमा रसियाको हात रहेको भनी बेलायतले आरोप लगाएपछि तिनीहरूबीचको सम्बन्ध अहिले चिसिन थालेको छ। रसियाले सो आरोप अस्वीकार गरेको छ।

यसै गरी अमेरिकाको कंग्रेसको गुप्तचर समितिले हालै सार्वजनिक गरेको एक प्रतिवेदनमा सन् २०१६ मा भएको राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको उल्लेख गरिएको थियो। निकोल्सनले तालिवानहरू स्वयम्ले विभिन्न सञ्चार माध्यममा आफूहरूलाई रसियामार्फत हातहतियार प्राप्त भएको तथ्य स्वीकार्ने गरेको पनि उल्लेख गरेका छन्। अमेरिकाले सन् २००१ मा अलकायदाले आफूकहाँ अतंककारी आक्रमण गरेपछि अफगानिस्तानमा सुरक्षा कारबाही शुरू गरेको थियो।

प्रतिक्रिया दिनुहोस्